काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई ओझेल पार्ने गरी चर्चामा आएको रवि लामिछानेको आईटी ज्ञान जब्बर नै साबित भएको छ । सिङ्गो सरकार र सरकारी मान्छेहरुले रातारात कानुनै निर्माण गरेर उनलाई तीन वर्ष जेलमा सडाउन भनी निर्माण गर्न लागेको फलामे अङ्कुश उनको सञ्चार प्रविधिको रापले लल्याकलुलुक गल्न पुगेको छ । उनले अमेरिकाको नागरिकता ल्याएको र प्रेसका मान्यताहरु उल्लङ्घन गरेको भनी उनीमाथि तीन वर्षको सजाय सुनाइएको थियो ।
सञ्चारकर्मी रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गर्न नेपालस्थित अमेरिकी दुतावासमा २ लाख ५८ हजार पाँच शय रुपैया बुझाएको रसिद सरकारी सञ्चार अड्डा प्रेस कान्सिल नेपालमा पुगेपछि सरकार पछि हटेको हो । यस घटना पछि नेपाली सञ्चार जगतमा एक हप्ताभित्र एउटा व्यक्ति रवि लामिछाने र सिङ्गो राज्यसत्ता बीच इगोको लडाइँका रुपमा चलिरहेको गोपनियतासँग सम्बन्धित लडाइँको पहिलो चरण टुङ्गिएको छ ।
न्युज ट्वेन्टी फोरमा कार्यरत पत्रकार रवि लामिछाने सरकारी व्युहमा पारिदै गरेका एक नेपाली नागरिक हुन् । उनले भ्रष्टाचार, तस्करी, कालो बजारी, घुसखोरी, माफियागिरी जस्ता अनियमिताका साथै कतिपय जनचासो र जनसरोकारका विषयहरु उजागर गर्ने काममा सञ्चार माध्यमलाई उपयुक्त साधन बनाउँदै आएका छन् । उनको कार्यक्रम यस मानेमा प्रभावकारी पनि छ ।
तर उनको खोजमूलक प्रवृत्ति र प्रविधि अब संरचनागत र संस्थागत रुपमा राज्य र सरकारले गर्ने भ्रष्टाचारी, दलाली, घुसखोरी, कमिसनखोरी, माफियागिरीतर्फ क्रमशः सोझिदै छ । यसले गर्दा वर्तमान ‘वाम’ भनिने सरकारलाई सञ्चार माध्यममाथि फलामे अङ्कुश लगाउनु जरुरी पर्दै गयो । उसले एकजना रवि लामिछानेलाई देखाएर सिंगो सञ्चार जगतमाथि फलामे नङ्ग्रा गाड्न रातारात कानुन निर्माणमा लाग्यो पनि ।
यो पत्रकारहरु र पत्रकारिता जगतका लागि सैह्य थिएन । एउटा निहुँ बनाएर सिंगो सञ्चार जगतमाथि बोलिदै गरेको धावा रवि लामिछानेको ट्याक्टफुल उपायले केही समयका लागि रोकेको छ । देखाउँदा रवि लामिछानेलाई मात्र गरिने जस्तो, तर पत्रकारिता जगतलाई स्तब्ध पार्ने यो हर्कत निन्दा गरेर पनि नपुग्ने खालको छ ।
अनेक कसरत गर्दा पनि पत्रकारको मुखमा ताला लगाउने प्रपञ्च सिद्धिए पछि प्रेस काउन्सिलका नाममा जारी विज्ञप्तिमा ‘यही असार ६ गते निज आमिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न पे्रस काउन्सिल नेपालमा प्राप्त हुन आएको छ … निज लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।– दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको छ’ भन्दै काइते तर्क गर्दै थपिएको छ– ‘नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन निर्देशित गर्दछ ।’
सिंगो सञ्चार जगतलाई तर्साउन थप भनिएको छ– ‘पवित्र ध्येय साथ यस संस्थाबाट भए गरिएका कुनैपनि काम–कारबाहीउपर बदनियतपूर्ण र अवाञ्छित टिका–टिप्पणी कसैकसैबाट भइरहेको पाइएकोले सोप्रति दुःख व्यक्त गर्दै तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टिका–टिप्पणी नगर्न÷नगराउन सम्बद्ध पक्षमा आग्रह गरिन्छ ।‘





























