कुन प्रदेशको बजेट कति ? : आआफ्ना वार्षिक बजेट प्रस्तुत गर्दै प्रादेशिक सरकारहरु

कुन प्रदेशको बजेट कति ? : आआफ्ना वार्षिक बजेट प्रस्तुत गर्दै प्रादेशिक सरकारहरु

काठमाडौं, असार १ । देश सङ्घीय ढाँचामा गएपछि पहिलो पटक सातवटै प्रदेशले आज शुक्रबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गर्दैछन् । सबै प्रदेशका राजधानीहरुमा आजै प्रदेशका मन्त्रीमण्डलको वैठक बसी प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र ७ नम्बर प्रदेशको धनगढीमा बजेट सार्वजनिक गरिइँदै छ ।

बजेट सार्वजनिक गरिइनु पूर्व बस्ने सबै प्रदेशसभामा प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले आयव्ययको हिसाबकिताब सार्वजनिक गर्ने तयारी गरेका छन् । वर्तमान सङ्घीय संविधानअनुसार असार १ भित्रै प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानलाई टेकेर प्रदेश सरकारहरुले आजै बजेट भाषण गर्ने तयारी गरेका हुन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु सबैले आफ्ना बजेटमा कृषि, पर्यटन तथा भौतिक पूर्वाधार लगायतका विकासलाई प्राथमिकतामा राखेको जनाएका छन् । बजेटमा सङ्घीय सरकारले दिने अनुदान, प्रदेशमा उठाइने राजस्व, ऋण परिचालन तथा सहयोगलाई बजेट निर्माणको आधार बनाएका छन् ।

पूर्व जानकारीअनुसार प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले लगभग ३५ अर्बको बजेट प्रस्तुत गर्दै छन् । त्यसै गरी प्रदेश नम्बरमा २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कूल २८ अर्ब बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् भने प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ठूलो रासीको ४० अर्ब हाहारीमा बजेट अघि सारेका छन् ।

त्यसै गरी प्रदेश नम्बर ४ ले कूल २६ अर्ब बराबरको बजेट आर्थिक वर्ष ०७५÷०७६ का लागि जुटाउन सकिने बताएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनुमानित २६ अर्बमा सङघीय सरकारले उपलब्ध गराउने रकमसहित आन्तरिक राजस्व सङ्कलन र ऋण परिचालन सबै आउने बताएका छन् । प्रदेश नम्बर ५ का आर्थिक मामिला तथा योजना मन्त्री तथा मुख्य मन्त्री शङ्कर पोखरेलले करिब २७ अर्बको बजेट सार्वजनिक गर्ने बताएका छन् ।

प्रदेश नम्बर ६ अर्थात् कर्णाली प्रदेशले २३ अर्बको बजेटको जोहो गरेको छ । आर्थिक मामला मन्त्री प्रकाश ज्वालाले उक्त राशीको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रदेश नम्बर ७ मा २५ अर्बको बजेट निर्माण गरिने बताइएको छ । आर्थिक मामला मन्त्री झपटबहादुर बोहोराले उक्त रकमको बजेट भाषण गर्ने भएका छन् ।