चितवनमा माइक्रो दुर्घटना, मृत्यु हुने संख्या ४ पुग्यो

चितवनमा माइक्रो दुर्घटना, मृत्यु हुने संख्या ४ पुग्यो

चितवन, असार १ । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रक र माइक्रोबस ठोक्किदा ४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकको उपचारको लागि भरतपुरतर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान करिब ७ः२० बजे एकापसमा जुधेका हो । घटनामा परी मृत्यु भएका ४ जना मध्ये तीनजनाको सनाखत हुन सकेको छैन भने उपचारको लागि ल्याइँदै गर्दा बाटोमै मृत्यु भएका चाहिँ माइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुर र एकजनालाई पोखरा पठाइएको छ ।
चितवन मेडिकल कलेजमा रहेका दुईजना र पुरानो मेडिकल कलेजमा रहेका दुईजना गरी चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको र अन्यको अवस्था मध्यम रहेको छ ।