काठमाडौं, असार १ ।
भारत–पाक विवादास्पद क्षेत्र जम्मुकश्मीरमा लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादक सुजात बुखारीको गोली हानी हत्या गरिएको छ । जम्मुकश्मिरको सुरक्षित भनिने क्षेत्र राजधानी श्रीनगरमै बिहीबार उनको हत्या भएको हो ।
जम्मुकश्मिरका प्रहरी अधिकारीको भनाइअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट पार्टी भोजमा जाँदै थिए । यसरी जाँदै गर्दा अज्ञात समूहद्वारा गोली प्रहार गरी उनको हत्या गरिएको थियो । हत्या गरिंदाका बखत उनी उनका निजी अङ्गरक्षका साथमा थिए । उनको निजी अङ्गरक्षकको पनि गोली लागी मृत्यु भएको छ ।
बुखारी बाटामा जाँदै गर्दा मोटरसाइकलमा आएका आक्रमणकारीले अन्धाधुन्द गोली प्रहार गरेका थिए । यस अघि पनि गरिएको एक आक्रमणमा बुुखारी बाँच्न सफल भएका थिए ।
सम्पादक बुखारीको अहिलेसम्म कसैले पनि हत्याको जिम्मा लिएको छैन । तर सरकारले यो जघन्य अपराधको ततकाल खोजी गरिने बताएको छ ।