काठमाडौं, असार १ । काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण गर्ने जिम्मा स्थानीयलाई दिइएको छ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपछि सङ्घीय सरकार आफैले यसको निर्माण गर्ने तयारीमा जुटेको थियो ।
तर काष्ठमण्डपको पुनर्निर्माणका क्रममा सिमेन्ट, छड् र गिट्टी आदि कङ्क्रिटजन्य सामग्रीको प्रयोग हुन थालेपछि स्थानीय जनताले ठूलो विरोध जनाए । व्यापक विरोधपछि सरकारले स्थानीय जनतालाई उक्त काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी सुम्पेको छ ।
विश्व सम्पदाको सूचीमा परेको काष्ठमण्डपको पुनर्निर्माण यसको मौलिक तरिकाले नै गर्नुपर्छ भन्ने स्थानीयको मत रहेको छ । तर सरकारले काष्ठमण्डपको पुननिर्माणको काम ठेक्कापट्टामा दिने भएपछि सो काम स्थानीयद्वारा अबरोध खडा गरी रोकिएको थियो ।
हाल स्थानीय जनताले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा पाएपछि मौलिक तरिकाले नै निर्माण हुने भनी स्थानीय जनता खुशी भएका छन् ।