रसियाको लुझ्निकी रङ्गशालातिर विश्वको आँखा

रसियाको लुझ्निकी रङ्गशालातिर विश्वको आँखा

काठमाडौं, जेठ ३१ । बहुप्रचारित विश्वकप फुटबल रसियाको राष्ट्रिय रङ्गशाला लुझ्निकीमा आजबाट सुरु हुदैँछ । सहभागी राष्ट्रहरुका टिमहरुका साथै हजारौं दर्शकहरुको उपस्थिति र सहभागितामा उद्घाटन हुने उक्त खेलमा पहिलो खेल खेल्ने सौभाग्य आयोजक देश रसिया र साउदी अरेबियाले पाएका छन् ।

निकै आकर्षक र आधुनिक राष्ट्रिय रङगशाला राजधानी मस्कोमा अवस्थित छ । विश्व फुटबलको प्रशासकीय संस्था फिफा वरियताअनुसार रसिया कमजोर खेलाडी देशहरुको सूचीमा पर्दछ । आफ्नै देशमा खेल हुन लागेकाले रसियाको फुटबल टिमका लागि यसपाला फिल्ड तथा दर्शकहरुको समर्थन उसको पक्षमा हुने छ ।

फिफाद्वारा सार्वजनिक गरिएको खेल प्रतिस्पर्धीहरुको सूचीअनुसार यस पटकको विश्वकप फुटबलमा केवल ३२ राष्ट्रहरुले सहभागिता जनाउँदै छन् । कूल ६४ खेल हुने यो विश्व कप समयका हिसाबले लगातार एक महिनासम्म चल्ने छ ।

आयोजक राष्ट्र रसियाले आफ्ना ११ वटा आधुनिक सहरमा रहेका १२ वटा खेल मैदानलाई विश्वकप फुटबलका लागि एकपछि अर्को विकल्पका रुपमा तयार गरिसकेको जनाइएको छ । प्रतियोगी राष्ट्रहरुका खेलाडी टिमहरु सहभागिताका लागि रसिया पुगिसकेका छन् ।