काठमाडौं, जेठ २२ । अहिले पुँजीवादको नमूना देश अमेरिका घरेलु अर्थतन्त्रको संरक्षणमा जुटेको छ भने राज्य नियन्त्रित अर्थतन्त्र भएको भनिएको चीन भने आफ्नो अर्थतन्त्रलाई विश्वभर फैलाउन लागि परिरहेको छ । अमेरिकी पुँजीवादी साम्राज्यवादी अर्थतन्त्र रक्षामा पुगेको र चिनियाँ कम्युनिष्ट अर्थतन्त्र उदारवादी, नवउदारवादी र विश्वव्यापीकरणहुँदै फैलिइरहेको अचम्मको अवस्था अहिले छ ।
विचार र विचारधाराअनुरुप अङ्गालिने अर्थतन्त्र अहिलेको विश्वमा असङ्गतिपूर्ण देखा पर्न थालेका छन् । साम्यवादी भन्नेहरुले खुला र प्रजातन्त्रवादी भन्नेहरुले बन्द अर्थनीति अङ्गाल्न थालेको आभाष हुन गएको छ ।
चीन ‘एक क्षेत्र, एक बाटो’ को पहलकदमी लिएर विश्व बजार बिस्तारको रफ्तारमा देखिन्छ । यसले विश्व व्यापार विस्तारका लागि ‘सिल्क रोड’ निर्माणको नीति लिएर आफ्नो अर्थतन्त्रलाई विश्वव्यापी स्वरुप प्रदान गर्दै छ ।
तर अमेरिका जसले पुँजीवादी साम्राज्यवादी धारको नेतृत्व गर्छ, ले आफ्ना साझेदारहरुलाई पनि आफ्नो साथ लिन सकिरहेको देखिदैन । प्रतिस्पर्धी चीनको उत्साहजनक प्रगति भइरहेको बेला अमेरिकाले एक्कासी व्यापारिक कर लगाउने घोषणा सम्म गर्न पुगेको छ । जसले उसैलाई घाटा पु¥याउने देखिन्छ । चीन पनि वर्तमान अमेरिकी राष्ट्रपतिको यो व्यवहारबाट निकै आक्रोशित हुन पुगेको छ तर ऊ रणनीतिक दाउँमा देखिन्छ ।
अमेरिकी अर्थतन्त्र फेरि निराशाको विन्दुमा झर्न थालेको छ । यो कुरा साँचो हो । राष्ट्रपति ट्रम्पले केही उद्योगहरुलाई राज्यको सहयोग तथा ऋण पनि उपलब्ध गराउने बचन दिन थालेका देखिन्छन् । यो भनेको उनले चीनबाट सिकेको कुरा हुसक्छ ।
उता अमेरिका भन्दा धेरैपछि सन् २००१ मा अमेरिकाकै साथ र सहयोगमा विश्व व्यापार संगठनमा पसेको चीन र चिनियाँ अर्थतन्त्र भने विश्वव्यापी बनेर गइरहेको छ । ‘पश्चगामी’ र ‘विश्व अर्थबजारमा पस्न नचाहने’ देशका रुपमा पश्चिमा देशहरुले सधैं आलोचना गर्दै आएको चीन राज्य नियन्त्रित अर्थतन्त्रलाई विश्वमा मोडल अर्थतन्त्रका रुपमा विस्तार गर्दै छ ।
अहिलेको स्टिल र आल्मुनियम लगायत चीन र अन्यत्रबाट अमेरिका भित्रिने सामानहरुमा व्यापार कर लगाउने ट्रम्पको घोषणा चीनको विश्व बजारमा फैलँदै गएको पहुँच सीमित गर्ने आन्तरिक रणनीतिसँग जोडिएको त छ नै । तर ट्रम्पको यो निर्णयले चीन वा चिनियाँ अर्थतन्त्रलाई भन्दा पनि पहिले त अमेरिकाकै व्यापार साझेदारहरु, जो जी–७ मा छन्, लाई नराम्रो गरी असर पर्न थालेको छ । अहिले चीन र अमेरिका भन्दा पनि उनीहरुबीच चर्को अन्तरविरोध पैदा हुन गएको छ । यहाँ हेक्का राख्नुपर्ने कुरा के हो भने चीनका लागि अमेरिकाको यो कदम नौलो भने होइन । अमेरिकाले जहिले पनि चीनविरुद्ध यो कदम चाल्न सक्थ्यो ।
अमेरिकाको संरक्षणवादी अर्थनीति र चीनको राज्यनियन्त्रित खुला अर्थनीति बीचको लडाइँ आज तहमा देखा परेको छ । सन् १९८० को दशकमा जापानको तीब्र आर्थिक वृद्धिदर रोक्न अमेरिकाले यही संरक्षणवादी अर्थनीति अबलम्बन गर्न पुगेको इतिहास हामी सामु छ । तर त्यति बेला अमेरिका संरक्षणवादी अर्थतन्त्र निर्माणमा जानु र जापान त्यसका विरुद्ध उत्तेजित भएर जानुका कारणले जापान असफल भयो र अमेरिका आफ्नो अर्थतन्त्र जोगाउन सफल भयो ।
तर सन् असीको दशकको जापान–अमेरिकाको व्यापारिक लडाइँ र आज चीन–अमेरिकी व्यापारिक लडाइँ भिन्न मोडमा देखिन्छन् । चीन उत्तेजित छैन र चर्को व्यापारिक कर लगाइरहँदा पनि अमेरिकासँग व्यापारिक सम्बन्ध कायमै राख्न उद्दत देखिन्छ । यसले चीनको विश्व व्यापारको गतिविधिमा कुनै पनि कमी आउने देखिदैन । आजको चीन हिजोको जापान जस्तो फस्ने र जी–७ जस्ता विश्व व्यापार साझेदारहरुबाट व्यापार नाकान्दीको सामना गर्न पुग्ने पनि देखिदैन । बरु चीन त अमेरिकी व्यापारिक कर बढोत्तरीको युद्धलाई लम्ब्याएर रणनीतिक बनाउने दाउँमा देखिन्छ ।
अहिलेसम्मको आँकडालाई हेर्दा चीनसँगको अमेरिकी व्यापार घाटामा छ भने अमेरिकासँगको चीन व्यापार नाफा वा सञ्चितिमा रहेको छ । व्यापार घाटा हुँदै गएपछि अमेरिका यस्तो चर्को व्यापारिक कर लिने कदम चाल्न पुगेको पनि देखिन्छ । अमेरिकासँग अप्ठेराहरु के छन् भने चीनबाट आयात गरिने स्टिल, आल्मुनियम र अन्य सामानहरुमा व्यापारिक कर लाग्ने तर जी–७ का देशहरुसँग नलाग्ने भन्ने घरेलु व्यापारिक नीति त हुँदैन र बन्न पनि सक्दैन ।
चीनले अमेरिकालाई दुई देशबीच व्यापारको सम्बन्धमा के पनि प्रष्ट पारेको छ भने अमेरिकाको व्यापार घाटा चीनले अमेरिकी सामानहरुमा व्यापारिक कर लिएर हुन गएको होइन । चीनले त अमेरिका र चीनबीच दुई देशीय व्यापार सम्झौता जे भएको थियो सोको उल्लङ्घन गरेकै छैन । साङघाईस्थित फुदान विश्व विद्यालयका स्कूल अफ इकोनोमिक्सका डिन झाङ जुन भन्छन्– ‘अमेरिकी व्यापार घाटामा आएको तथ्याङ्कमा … अमेरिकाले व्यापार सन्तुलन कायम गर्न नसक्नुमा चीन दोषी भएको सङ्केत पनि गरेको छैन । आन्तरिक बचत दर कम र सरकारी कर्जाको दर उच्च भएकाले यसको दोष पनि अमेरिकाकै हो ।’
यी तथ्यहरु उजागर गरेर चीन यो व्यापार युद्धलाई रणनीतिक रुपमा अघि बढाउन चाहन्छ । हुन पनि के हो भने खुल्ला बजारको अर्थनीति अन्तर्गत उत्पादित वस्तुहरु प्रतिस्पर्धात्मक बजारमा पु¥याएर मुनाफा लिने न हो । चीनले गर्दा घाटा भयो भन्न त मिलेन पनि । अर्को कुरा अमेरिकाले चिनियाँ सामानमा व्यापारिक कर लगाउँदा चीनले पनि अमेरिकी सामानहरुमा कर लगाउने कुरा सार्वजनिक गरिसकेको छ ।