एप्पलले ल्यायाे आइओएस १२, पुरानो आइफोनलाई फाइदा

प्रकाशित मिति : २०७५ जेष्ठ २२

एजेन्सी । आइफोनको निर्माता कम्पनी एप्पलले सोमबार एक विशेष समारोहकाबीच आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । कम्पनीले नयाँ अपरेटिङ सिस्टम आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् ।

सान जोसमा आयोजित भएको एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका क्रममा कम्पनीले आइओएस १२ सार्वजनिक गरेको हो । एप्पलका अनुसार आइओएस ११ को तुलनामा आइओएस १२ ले कुनैपनि एपलाई दोब्बर छिटो खुलाउनेछ । कम्पनीले बताए अनुसार आइओएस १२ ले सन् २०१३ यताका ह्याण्डसेटहरुमा काम गर्नेछ ।

स्मार्टफोन उद्योग परिपक्व बन्दै जाँदा प्रयोगकर्ताले पटक पटक नयाँ डिभाइस किन्नुको साटो सकेसम्म पूरानै डिभाइस चलुन्जेल चलाउने प्रवृत्ति बढिरहेको छ । यस्तोमा कमजोर ब्याट्री भएका कतिपय पूरानो मोडेलका आइफोनलाई नियतबस धिमा गतिमा झारेपछि गत वर्ष एप्पल विवादित बनेको थियो ।

एप्पलले सोमबार सार्वजनिक गरेको आइओएस १२ मा प्यारेन्टल कन्ट्रोल फिचर पनि छ । यसबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीले आइफोन तथा आइप्याडमा कुनैपनि एप चलाउन पाउने समयमा पावन्दी लगाउन सक्नेछन् भने कुन एप चलाउन दिने वा नदिने भन्ने पनि छनोट गर्न सक्नेछन् ।