काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषित कार्यक्रम अनुसार निर्वाचन बहिस्कारको पर्चा बाँडिरहेको अवस्थामा गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई गैरकानुनी रुपमा थुनामा राखी झुठा मुद्दा लगाउने षड्यन्त्र गर्न थालेपछि बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्ने तयारी गरिएको छ । आइतबार १० बजेसम्म बिनाशर्त ससम्मान रिहा नगरिए बन्दीप्रत्यक्षीकरण रिट दायर गर्ने तयारी रहेको अधिवक्ता फडिन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले पुर्ण बहादुर खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेकोले तुरून्त अदालत समक्ष सशरिर उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश माग गर्दै रिट दायर गर्ने तयारी गर्नुभएको हो ।
दुधौली नगरपालीका वडा नं ९ खोरभनुज्याङको एक चिया पसलमा स्थानीय जनतासँग कुराकानी गरेर बसीराखेकै अबस्थामा बिनाकारण प्रहरीले पक्राउ गरेको थियो । हाल नेता खड्कालाई ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीको हिरासतमा राखिएको छ । आगामी फाल्गुन २१ गते हुने संसदिय निर्वाचन बहिष्कार गर्नुपर्छ भनि बहिष्कारको पर्चा वितरण गरेकाले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशन र जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको आदेशमा पक्राउ गरिएको हो भन्ने मौखिक जवाफ मात्र दिने गरेको नेता खड्काको छोरा भगवान खड्काले दावी गर्नुभयो ।






























