४ अर्बमा बिकेको त्यो एउटा कचौरा

प्रकाशित मिति : २०७५ जेष्ठ २२

एजेन्सी । भट्ट सुन्दा साच्चैनै अचम्म लाग्न सक्छ कसैले ४ अर्ब तिरेर पनि एउटा कचौरा किन्छ भनेर तर यो सत्य हो । लगभग एक हजार वर्ष पहिले चिनियाँ माटोबाट बनेको एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा बिकेको छ ।

उक्त कचौरा ३ करोड ७७ लाख डलर बराबरको रकममा लिलाम भएको हो । योसँगै यस कचौराले सबैभन्दा महंगो सेरामिक भाँडोको विश्वकिर्तिमान पनि राखेको छ ।

स्मरण रहोस् यति महंगोमा बिकेको यो कचौरा १ हजार वर्षअघि ब्रस सफा गर्न बनाइएको थियो । शोंग वंशका राजाहरुले दरबारमा यो कचौरा प्रयोग गर्दथे ।

चीनको चर्चित सोदबी अक्सन हाउसले उक्त कचौरा लिलाम बिक्रि गरेको हो । लिलाम बढाबढका क्रममा यसको सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो । अन्ततः यसको अधिकतम बोली ३ करोड ७७ लाख डलर लाग्यो र सोही बोली लगाउने मानिसले यो खरीद गरे । यो कचौरा यति महंगोमा खरीद गर्ने व्यक्तिले आफ्नो पहिचान खुलाउन भने चाहेनन् । ती व्यक्ति चीनका नागरिक हुन् वा होइनन् भन्ने पनि खुलाइएको छैन ।

विश्वमा अहिले यस्तो खालका कचौरा केवल ४ वटा मात्रै अस्तित्वमा रहेको बताइएको छ । निलो÷हरियो रंगको यस कचौराको आकार १२ सेमी छ ।

चीन बहुमुल्य वस्तुहरुका लागि निकैनै चर्चित ठाउँ मानिन्छ । यहीँ वर्ष चीनमा सबैभन्दा महंगो मूल्यमा एउटा हिरा बिकेको थियो भने सन् २०१४ मा मिंग वंशका पालाको एउटा रक्सीको प्याला ३ करोड ६० लाख डलरमा बिक्रि भएको थियो ।