सावर्जनिक यातायातलाई कडाई सिट संख्याभन्दा बढी यात्रु राखे एक हजार जरिवाना

सावर्जनिक यातायातलाई कडाई सिट संख्याभन्दा बढी यात्रु राखे एक हजार जरिवाना

काठमाडौं, जेठ १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातलाई कडाई गरेको छ । महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायातले सिट संख्याभन्दा बढी यात्रु राखे सवारी साधनलाई कडा भन्दा कडा कारबाही गर्ने जनाएको हो ।

महाशाखाका अनुसार सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार र्पुयाएको हो ।

यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार र्पुयाइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।

त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको समेत उनको भनाइ छ ।

महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ ।