साढे ३३ केजी सुन र समन हत्याकाण्ड प्रकरणः माेरङबाट नेकपाको कार्यकर्ता पक्राउ

साढे ३३ केजी सुन र समन हत्याकाण्ड प्रकरणः माेरङबाट नेकपाको कार्यकर्ता पक्राउ

विराटनगर, जेठ ११ । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट रेवन्तकुमार आचार्य नाम गरेको तत्कालिन नेकपा (एमाले) हाल नेकपाको कार्यकर्ता पक्राउ परेको छन् ।

उनलाई प्रहरीले बिहीबार साँझ करिब साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले मोरङ जिल्ला अदालतमा जारी बयानका क्रममा आचार्य पनि सहयोगी भएको भन्दै नाम उल्लेख गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आचार्यको उर्लाबारीमा सुनचाँदीको पसल समेत रहेको छ ।

गोरेको जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा तीन दिनदेखि बयान जारी छ । बयानका क्रममा आफूहरुको काममा अरु केहीले समेत सहयोग गरेको उनले बताए पनि नाम भने सार्वजनिक गरिएको छैन ।

बयान शुक्रबार पनि जारी रहने छ । बयानका क्रममा गोरेले सनम शाक्यको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । हराएको भनिएको सुन खोज्ने क्रममा भरिया भनिएका सहकर्मीहरुलाई कुटपिट भने भएको उनले स्वीकारेका छन् ।

बयान शुक्रबार सकिने नसकिने टुंगो छैन । बयानका क्रममा सरकारी वकिलहरुले प्रस्तुत गरेको अभियोगपत्रका बुँदा सुनाएर गोरेबाट जवाफ माग्ने काम भइरहेको छ । यसअघि अदालत समक्ष प्रमाणका रुपमा पेस गरिएका श्रव्यदृश्य देखाएर त्यसबारे पनि बयान लिइने भएको छ ।

उनको बयान सकिएपछि सरकारी वकिलहरुले न्यायाधीशसमक्ष आरोप पुष्टि गर्न बहस गर्नेछन् । त्यसपछि गोरेका तर्फबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुको बहस सकिएर आवश्यक भए सरकारी वकिलहरुले प्रत्युत्तर बहस गर्ने अदालत स्रोतले जनाएको छ । यसपछि न्यायाधीशले थुनछेकको आदेश जारी गर्नेछन् ।

यसअघि अदालतले पूर्व डिआइजी गोविन्दप्रसाद निरौलालगायत २८ जनालाई थुनामा राख्न आदेश दिइसकेको छ । मोरङ जिल्ला कारागार साँघुरो भएकाले उनीहरुलाई अदालतको अनुमतिमा सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा लगेर राखिएको छ । आरोपीमध्ये एकजना साधारण तारेखमा छाडिएका थिए भने अर्का एकजनालाई धरौटीमा रिहा गरिएको थियो ।