झर्रोटर्रो : सुपरहीट समाचार

प्रकाशित मिति : २०७५ जेष्ठ ११

- कैलुब्राह

यतिखेर नेपाली बजारमा दुईवटा सुपरहीट अर्थात् एक्सक्लुसिभ समाचारले हङ्गामा फैलाएको छ । एउटा हो मन्तरीहरूको सम्पत्ती सार्वजनिकको घोषणा र त्यसको तुजुक । अर्को हो नेकपा अण्डरलाइनमा चलेको भाँडभैलो । यी दुई विषयमा चर्चा गर्नु मुनासिव होला भनेर यसपटकको झर्रो समाचारको पोको यिनै विषयमा खोल्नु परो भन्ने लागो । अहिलेको समाचारीय बजारमा यिनै माल विकाउमा छन् । जे बिक्छ त्यही बेच्नु त पुँजीवाद हो । पुँजीको विकास त गर्नै परो । समाजवादमा जाने कुरो छ । त्यसैले मैले पनि त्यही जिनिस यहाँ पस्किएको छु ।

पहिलो हो, सम्पत्ती घोषणा :

भरखरै नेपाल सरकारले केही मन्तरीहरूको सम्पत्ती सार्वजनिक ग¥यो । सम्पत्ती नै नभएका विचरा मन्तरीहरूको केको सम्पत्ती सार्वजनिक गर्नु । त्यो पनि कम्निस पाटीका मन्तरी । सम्पत्ती हुने त कुरै भएन । पञ्चप्रेतदेखि काङ्ग्रेस र जनयुद्धमा ‘प्रतिक्रियावादी’ सत्तासँग पङ्गा खेल्दा खेल्दै विचराहर्को सम्पत्ती उडिगयो । उनीहरू सर्वहारा भए । त्यसैले यसलाई कागजको चिर्कटो सार्वजनिक ग¥यो भन्नु पो मनासिव होला । सरकार बनाएपछि पर्धानमन्तरी र मन्तरीहरू सबैले सम्पत्ती सार्वजनिक नामको एकोतिष्ट श्राद्धे गर्नुपर्ने वाध्यकारी नियम छ । त्यो पनि यिने’रु आफैले बनाएका हुन् । त्यसैले सम्पत्ती नभए पनि कागजको चिर्कटै भएपनि देखाएर श्राद्धेको रित पु¥याउनै पर्ने हुन्छ । त्यही रित पु¥याउने काम भएको छ । सरकारले यो श्राद्धे गर्न मात्रै के भ्याएको थ्यो’ मिडियाहरूले स्याउँस्याउँ गरेर ठुँग्न थालिहाले । बाफरे बाफरे बाफ ! कति धेरै ठुँगेका हुन् । जताततै फलानो मन्तरीको यस्तो ढिस्कानाको उस्तो भनेर पत्रिका, अनलाईन, टिभी, रेडियो, फेसबुक, टुइटर केके जाति हुन् सबै रङ्गीएका छन् ।

कम्निसको सिद्धान्त भनेको नीजि सम्पत्ती नराख्ने भन्ने हो । नीजि सम्पत्ती त पुँजीपति वर्गले मात्रै राख्छन् । त्यसैले पनि अहिलेको सरकार अर्थात् नेकपा अण्डरलाइनका मन्तरीहरूले आपूmसँग सम्पत्ती नराखेर अब्बल सर्वहाराको परिचय दिए । स्यावास मन्तरीहरू ! आफ्ना नाउँमा आनासुको क्यै पनि नराखेर सबै आफआफ्ना स्वास्नीहर्का नाउँमा राखेर बडा गजबको काम गरेछन् । स्यावास मन्तरीहरू । अब चाहीँ समाजवादी क्रान्तिको लक्षण देखायौ है । तिमेरुलाई धेरै धेरै धन्यावाद छ ।

एक त कम्निस पाटीका मन्तरी, नीजि सम्पत्ती राख्ने कुरै भएन । दोस्रो यो मन्तरी पदमा पनि सिण्डिकेट लागेर कम्ता गाह«ो भा’छ बिचराहर्लाई । सिण्डिकेटले गर्दा पटक पटक दोहोरिँदै तेहरिँदै मन्तरी हुनु पर्ने बाध्यता छ । यिन’रुले व्यक्तिगत कमाइधमाइमा लाग्नै पा’छैनन् । पुलिसमन्तरीले भने शान्ती सुरक्षा गर्ने प्रमुख जिम्मेवारी भएकाले दुइथान कुकुरसम्म कमाउन पा’रैचन् । धन्न त्यती कमाइ गर्न पा’का रैचन र पो उनलाई पुलिसमन्तरी बनाइद्या रैचन ढेँडुहर्ले । दुइथान कुकुर नकमाएको भे त रोल्पाली चेलाले त्यो पद उडाइदिने रैचन् ।
मन्तरीहर्लाई सरकारी काम गर्ने, फाइल सदर बदर गर्ने, दातामाताहर्को स्वागत सत्कार गर्ने, देशाटन गर्ने, परदेशहरूमा गएर रिवन काट्ने, भाषणभिषण गर्ने, अनुगमन गर्ने आदि इत्यादि गर्नमै हैरानी छ । एकदिन एउटा मन्तरीलाई भेटन् यो लेखन्दास पनि गा’थ्यो’ सिँहदरबार । ठ्याक्कै चार घण्टा बाहिर लाइनमा बसेर बल्लबल्ल पालो आयो र पौने चार मिनेट कुरा गरेर आएको साक्षात साँछी आफै छ । यस्तो बिजिमा हुँदा रैचन मन्तरीहरू । अनि तिन्ले काँ’को सम्पत्ती कमाउनु र यति छ उती छ भनेर सार्वजनिक गरुन् । बिचराहर्ले आपूmले ढिकुटीबाट थापेको आनापैसो तलब त क्वाटरमा लगेर खुरुक्कन स्वास्नीलाई बुझाउनु पर्च, अनि उनीहरूसँग केको पैसो हुनु । हाम्रो देशाँ धनीमानी, हुनेखाने, जागिरे, सरकारी ओहोदा आदिइत्यादिमा बस्नेहर्ले आफ्नो कमाइ सबै स्वास्नीलाई बुझाउने चलन छ । यो त अचेल नारी अधिकारका कुरा पनि हो क्यारे ।

मन्तरीका स्वास्नीहर्ले पनि त्यस्तो विधि कमाका त काँ छन् र ! उनीहर्लाई पनि उद्योगी, व्यापारी, ठेकेदार, कर्मचारी सर्मचारीहर्ले मन्तरीले उनीहर्का कामसाम मिलाइद्या हुनाले त्यसैको खुसियालीमा स्वास्नीहर्का खातामा आनापैसो उपहार हालिदिएर जम्मा भएको हो । यसमा कसैले डाहा रिस गर्ने कुरै भएन । मन्तरीहरू त चोखै त छन् । यत्रो विधि हल्ला बखेडा गर्नु जरुरी छैन ।

दोस्रो हो, नेकपा अण्डरलाइन :

नेपाल मण्डलका दुइवटा डाइनोसर कम्निस पाटी मिलेर एउटै पाटी भए, नेकपा अण्डरलाइन । अहिलेको नेपाली बजारमा यसैको भाऊ छ । यो अहिलेको चल्तिको जिनिस हो । विशेष गरेर ठूलो पाटीलाई हात्ती पाटी भन्ने चलन छ, तर मैले त्यो चलनलाई तोडेर डाइनोसर भन्नु मुनासिव ठोनको छु । किनकि डाइनोसर लोप भएको जनावर हो । हात्ती त अहिलेसम्म जिवितै छ । यी दुई ठूला कम्निस पनि पुराना लोप भएर नयाँ बनेको हुनाले लोप भएकालाई डाइनोसर भन्नु सोह«ै आना मुनासिव ठानेको हुँ । आर्को कुरा जसरी फेरी नर्फकने गरी यो पृथ्वी मण्डलबाट डाइनोसर सदाका लागि लोप भयो त्यसैगरी यी दुई डाइनोसर पाटीले पनि पुराना विचार, सिद्धान्त, रिसराग सबै फलेर नयाँ बनेको हुनाले ती त लोप भएर गए । माक्र्सवाद लेनिनवाद भन्ने कुरा पनि नाम मात्रै हो । डाइनोसर नभएपनि हामीले डाइनोसरको नाम त लिएकै छौँ त्यसैगरी सिद्धान्त, विचार, लक्ष्य, उद्धेश्य सबै छोडे पनि नाम त कम्निस राखेकै छन् ।

अहिले यो बनेको नेकपा अण्डरलाइनभित्र बडा अचम्मको भाँडभैलो मच्चिएको छ । माउ डाइनोसरहरू सिण्डिकेटका कारण आआफ्नै पदमा पदासिन भए, तर तिनका भुराभुरी चल्ला, कोही नकोरलिएका अण्डाजति विचल्लीमा परे । त्यसैले आहाराको खोजी गर्न नसकेर मुख क्याप क्याप पार्दै चिल्लाइरहेका छन् । ढेँडु डाइनोसरले आफैसित सति जान डो¥याएका ४४१ जना भुरा डाइनोसरहरू खुसियाली साटासाट गदै आफआफ्ना गुँडतिरका माऊको स्वस्तीगान गाइरहेका छन् भने असरल्ल पारेर माउबिना भएका जति सत्तोसरापमा लागेका छन् । सबै भन्दा विजोग त हजारीलाल वालाहरूको भएको छ । एक त बल्लतल्ल विभिन्न गुटका मालिकहर्काे सेवा चाकडी गरेर थोकमा सिसिएम पड्का’का थे’ त्यही पनि एक पटक पनि सिसिको बैठकको अनुभूती नै गर्न नपाएर विघटन हुनु । घटुवा भएर पनि कहाँको भागविलो पाइने हो भन्ने कुराको कुनै टुङ्गो नलाग्नुले बेचैन बनाएको छ । उता बल्लतल्ल मालिकहर्को निगाहा भएर बक्सिस पाएको सिसिएमको पगरी पनि कसैको खुस्किसक्यो भने परेकाहरू पनि माथिल्लो दर्जाका लागि लुछाचुँडी र हानथाप पर्नाले कन्तबिजोग हुने भएको छ । अब उनीहरू सबैको भविश्य कस्तो हुने भन्ने कुरा दुइथान ढेँडुहरूकै हातमा छ । उनीहर्ले जजस्लाई टीको लाएर आशिर्वाद दिन्छन् तिनैको भविश्य बन्ने अवस्था छ । अहिलेको नेपाली बजारमा निकै चल्लतीमा आएका जिनिस यिनै हुन् ।
१० जेठ २०७५