जुम्ला र रुकुम (पूर्व) जेठ ६ । बहुमूल्य जडीबुटी यार्सा टिप्ने सिजन सुरु भएसँगै जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर छिरेका छन् । यार्सा टिप्नको लागि अभिभावकसँगै बालबालिका पनि लेकतिर जाने हुनाले विद्यायलयहरुमा पठनपाठन समेत ठप्प भएको छ । पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन् । विद्यालयमा अध्ययनरत प्राय विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान बनेको छ ।
सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक वासुदेव शाहले भने, ‘यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन ।’ एक दशकदेखि यो क्रम जारी रहेको उल्लेख गर्दै उनले यसले पठनपाठनमा असर परेको जानकारी दिए । ‘विद्यार्थीहरु जीविकोपार्जनका लागि यार्सा टिप्न लेक (पाटन) तिर गएपछि विद्यालय सुनसानजस्तै भएको छ मावि र निमाविस्तरमा पढ्ने विद्यार्थी लेकतिर लागे पछि त झन् हामी काम विहिननै भएका छौं,’ उनले भने । अभिभावकसँगै बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क्षेत्रतिर गएका छन् अहिले ।
शिक्षक जयसिंह सार्कीका अनुसार अहिले कक्षा सातका १७ विद्यार्थीमध्ये दुई जना, कक्षा आठका २० मध्ये एक, कक्षा ९ का ४१ मध्ये एक विद्यार्थीमात्रै स्कुल आएको जानकारी दिए । उनले भने, ‘कक्षा १० का पनि सबै विद्यार्थी यार्सा टिप्न लेकतिर गए । अहिले सानासाना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् ।’
विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि प्रत्यक्ष असर पठनपाठनमा परेको छ । ‘यार्साको मौसममा दुई महिना त निमावि र माविको पढाइ नै बन्द हुन्छ । पढाउने बेलामा विद्यार्थी नआएपछि पाठयक्रम सकाउनै मुस्किल हुन्छ,’ प्रधानाध्यापक शाहले भने, ‘यस क्षेत्रको जीविकोपार्जनको मुख्य स्रोत भनेको यार्सा भएकाले हामीले विद्यार्थीलाई नजान भनेर कडाइ पनि गर्न सकेका छैनौं ।’
सरस्वती माविका मात्र होइन गाविसस्थित सबैजसो विद्यालयका विद्यार्थी यार्सा टिप्न लेकतिर लागेका छन् । पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराले पनि विद्यार्थी पढाइ छाडेर यार्सा टिप्न लेकतिर गएको बताए । उनले भने, ‘यसले पठनपाठनमा बाधा परेको हामीले बुझेका छौं । अर्को वर्ष विद्यार्थीलाई यार्सा टिप्न लेकतिर नजाने व्यवस्था गर्ने छौं ।’
जनप्रतिनिधि पनि लेकतिर
यसैगरी रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–३ का वडाध्यक्ष धोकरा बुढा वडा कार्यालयका कामकाज थाती राखेर यार्सा टिप्न पाटनतिर गएका छन् । गाउँपालिका कार्यालयलाई जानकारी नगराईकन वडाध्यक्ष बुढा यार्सा टिप्न गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । वडाध्यक्ष बुढा वैशाख ३० गते पाटनतिर गएकाले गाउँ कार्यपालिका बैठकमा समेत उपस्थित नभएको घर्तीले बताए ।
सो वडामा अहिले वडा सदस्य चिन्या बुढालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । वडाध्यक्ष नै काम छाडेर यार्सा टिप्न गएपछि कामकाज प्रभावित भएको छ । जानकारी नगराईकन यार्सा टिप्न गएका वडाध्यक्षलाई फर्केपछि स्पष्टीकरण सोधिने गाउँपालिका अध्यक्ष घर्तीले बताए । रुकुम (पूर्व) का वडा सदस्यहरु पनि यार्सा टिप्न गएको हुनसक्ने तर कसैले पनि जानकारी नगराएको उनले बताए ।
यार्सा टिप्न यहाँका धेरैजसो स्थानीय पाटनतिर जान्छन् । विद्यार्थी र शिक्षक यार्सा टिप्न गएकाले दर्जनौं विद्यालय बन्द भएका छन् । समुद्री सतहदेखि चार हजारभन्दा माथिको उचाइमा यार्सा पाइन्छ । पुथा उत्तरगंगा गाउँपालिका अरबिजा, पूर्वाङ, पुपाल, फूलबारीलगायत क्षेत्रमा यार्सा पाइन्छ ।