मुम्बईको विरुद्ध दिल्लीबाट आज सन्दीप खेल्ने पक्का

प्रकाशित मिति : २०७५ जेष्ठ ६

काठमाडौं, जेठ ६ । जारी आइपीएल सीजन–११मा डिल्लीको लागि यो अन्तिम खेल हो र उक्त अन्तिम खेलमा नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने आज दिल्लीको शुरुवाती–११ मा पर्ने पक्का भएको छ । उनी आबद्ध क्लब दिल्ली डेयर डेभिल्सले ट्वीट गर्दै उनी आज पनि खेल्ने पक्का गरेको हो ।

पछिल्लो दुई खेल खेल्दा निकै उत्कृष्ट प्रदर्शन गरेका सन्दीप आइपीएलका सबैभन्दा इकोनोमिक बलर रहेका छन् । उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै मात्र ४६ रन खर्चेका छन् । उनको इकोनोमी ५.७५ रहेको छ । जुन टी–२० मा निकै राम्रो मानिन्छ । उनको स्ट्राइक रेट २४ रहेको छ । लामिछानेले चेन्नाई विरुद्धको खेलमा सुरेश रैनाको विकेट लिँदै गेम चेन्जर बनेका थिए । 

दिल्ली प्रतियोगिताबाट बाहिरिसकेपनि मुम्बईको लागि भने आजको खेल गर या मरको स्थितिमा रहेको छ । खेल नेपाली समय अनुसार ४ः१५ मा शुरु हुनेछ ।

आजको खेलमा मुम्बईका सर्वाधिक रन बनाउने सूर्य कुमार यादव तथा कप्तान रोहित शर्माविरुद्ध सन्दीपको बलिङ हेर्न लायक हुनेछ ।