युवाशक्तिलाई पुनः संगठित गरी क्रान्तिको नेतृत्व गर्न तयार छौं : महासचिव किरण

युवाशक्तिलाई पुनः संगठित गरी क्रान्तिको नेतृत्व गर्न तयार छौं : महासचिव किरण

ओखलढुंगा । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले युवाशक्तिलाई पुनः संगठित गरी क्रान्तिको नेतृत्व गर्न आफूहरु तयार रहेको बताउनु भएको छ । क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग १ नम्बर प्रदेशको पाँचदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शनिबार महासचिव किरणले यस्तो बताउनु भएको हो । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको प्राप्चामा सुरु युवाहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव किरणले भन्नुभयो– “युवाहरु कमरेड माओले भन्नुभए झैं विहानीपखका घाम हुन् । उदाउँदो भविष्य र देशका कर्णधारका रुपमा रहेका युवाहरुमा असीम त्याग, तपस्या र बलिदानी भाव हुन्छ, जसले देश र दुनियाँलाई मुक्ति र स्वाभिमानको बाटोमा अघि बढ्न प्रेरित गर्दै महत्वपूर्ण सहयोग गर्दछ ।”

उहाँले अगाडि भन्नुभयो– “नेपालका विभिन्न आन्दोलनका श्रृङ्खलाहरुलाई हे¥यौं भने पनि युवाहरुको भूमिका अग्रपङ्क्तिमा रहेको छ । युवालगायत सबैको उत्साह, आशा र सफताले उचाइ चुम्न पुग्दै गर्दा तात्कालीन पार्टी नेतृत्वले धोखा दियो । हामी त संसदीय व्यवस्था ढाल्न र जनताको जनवादी व्यवस्था स्थापना गर्न जनयुद्ध लडेका थियौं । त्यसैले देशमा राजनीतिक रुपान्तरण ल्याउन अझैं थप पसिना बगाउनु जरुरी छ ।”

अहिले दैनिक दुई हजार युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भएको अवस्थालाई इंगित गर्दै महासचिव किरणले प्रश्न गर्नुभयो– “युवाहरुलाई स्वदेशमेै रोजगारी सिर्जना गरेर युवा शक्तिलाई रोक्न र रोजगारी दिन कुनै कार्यक्रम दिन नसक्ने वर्तमान ‘वाम’ भनिने सरकारले कुन खालको विकास र समृद्धिको कुरा गरेको हो ? के देशका नदीनाला, वनजंगल, जनशक्ति विदेशीलाई दिएर देश समृद्धिको बाटोमा जान्छ ? असमान सन्धिसम्झौताहरु पूरै अनुमोदन गर्ने, नाकाबन्दी लगाउनेलाई नागरिक अभिनन्दन गर्ने, भारतीय सेना देशभित्र आउन दिने, आफ्ना सेना र कर्मचारीहरुलाई लज्जाले शीर निहुराउन पठाउने ? हामी यी सबैका विरुद्ध राष्ट्रियताको पक्षमा उभिएका छौं । हामी क्रान्तिका लागि युवाशक्ति पुनः संगठित गरी त्यसको नेतृत्व गर्न तयार छौं । ”

युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी. पी. गजुरेलले भन्नुभयो– “नेपालमा वाम सरकारका नाममा सामाजिक फासिवादी शासन लाद्न खोज्दैछन् । राष्ट्रिय स्वाधीनता अहिले सबैभन्दा बढी खतरामा परेको छ । रेल चलाउने र पानी जहाज ल्याउने भन्दै भारत गएका प्रधानमन्त्री ओली पानी, खेतीपाती गर्ने भूमि र बचेखुचेको देशको स्वाभिमान बेचेर आएका छन् ।”

उहाँले अगाडि भन्नुभयो, “देशमा भारतीय सेनाको परेड चल्दा, अरुण तेस्रो जस्तो सस्तो आयोजना भारतलाई बुझाउँदा, नाकाबन्दी लगाउने विस्तारवादी नाइकेलाई नागरिक अभिनन्दन गर्दा, सीमा अतिक्रमण तथा भारतीय सीमा सुरक्षा बलले सीमाका नेपालीमाथि ज्यादती गर्दा हाम्रो पार्टी, देजमो बाहेक अरु सडकमा निस्किएर विरोध गरेको देखिएन । अब राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरुको वास्तविक समाधान नयाँ जनवादी क्रान्तिबाहेक अरुले दिन सक्दैन । त्यो क्रान्तिको नेतृत्व अब क्रान्तिकारी युवाहरुले गर्नुपर्छ ।”

कार्यक्रममा पार्टी पिविएमहरु इन्द्रमोहन सिग्देल, राम आचार्य, नगेन्द्र राई, केसहरु मिनकुमार राउत, केदार गुरागाई, वालकृष्ण राई, मनोज श्रेष्ठ, सीताराम बुढाथोकी, डिल्लीराम बोहरा,  हरिकृष्ण गजुरेललगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता लिगका १ नं. संयोजक रविन लिम्बूले गर्नुभएको थियो भने सञ्चालन ज्ञानु खतिवडाले गर्नुभएको थियो । क्रान्तिकारी माओवादी ओखलढुंगाको व्यवस्थापनमा जारी युवाहरुको प्रशिक्षण जेठ ९ गतेसम्म चल्नेछ ।