क्यानको निर्वाचनपछि आइसीसीको निलम्बन फुकुवा

क्यानको निर्वाचनपछि आइसीसीको निलम्बन फुकुवा

काठमाडौं, वैशाख १४ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार नयाँ विधानअनुसार नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन नै निलम्बन फुकुवा गर्ने अर्को कदम हुने जनाएको छ ।

एक सातासम्म भारतको कोलकातामा चलेको आइसीसी बैठकले नयाँ विधानअनुसार हुने क्यानको निर्वाचनसँगै निलम्बन फुकुवा गर्ने संकेत गरेको छ । लगातारको विवाद, अपारदर्शिता, सुशासनको अभावका कारण क्यान प्रशासनप्रति आजित आइसीसीले दुई वर्षअघि क्यानको सदस्यता निलम्बनमा राखेको थियो ।

‘आइसीसी बोर्डले नेपालको वर्तमान परिस्थितिबारे जानकारी लिएको छ । क्रिकेटका सरोकारवालाहरूसँगको परामर्शमा सल्लाहाकार समितिले बनाएको नयाँ विधान क्यानको विशेष साधारणसभाले पारित गरेको छ’, बिहीबार जारी आइसीसीको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ विधानअनुसार चुनाव गराउनु पुनर्बहालीको अर्को कदम हो ।’

निर्वाचित क्यानको वैैशाख ६ गते बसेको विशेष साधारणसभाबाट आइसीसीले बनाएको सल्लाहकार समितिले दिएको विधान हुबहु पारित गरेको थियो । विशेष साधारणसभामा आइसीसी प्रतिनिधि अमर शेखको पनि उपस्थिति रहेको थियो ।

क्यानबाट हुबहु पारित नयाँ विधानलाई राष्ट्रिय खेलकुद परिषद्ले पारित गरेको छ । अब आइसीसीका ३, राखेपका १ र निर्वाचित क्यानका १ जना गरी पाँच सदस्यीय सुपरिवेक्षण कमिटी गठन हुनेछ । उक्त सुपरिवेक्षण कमिटीले निर्वाचन गराई क्यानलाई नयाँ प्रतिनिधित्व प्रदान गर्नेछ ।

आइसीसीले २०१९ जनवरीबाट सबै सदस्य राष्ट्रले खेल्ने ट्वान्टी–२० खेललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिने भएको छ । महिला टोलीलाई भने २०१८ जुलाई १ देखी लागू हुने गरी ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिने भएको छ । च्याम्पियन ट्रफीलाई प्रतिस्थापन गर्ने गरी आइसिसीले फिचर टुर प्रोग्राम (एफटिपी) प्रतियोगिता ल्याएको छ ।

जसअन्तर्गत वल्र्ड टेस्ट च्याम्पियनसिपलगायत अन्य कार्यक्रम रहेका छन् । वल्र्ड टेस्ट च्याम्पियनसिपमा दुई चरण हुनेछन् । पहिलो चरण २०१९ देखि २०२१ सम्म चल्नेछ । भने दोस्रो चरण २०२१ देखि २०२३ सम्म चल्नेछ । त्यस्तै आइसीसी क्रिकेट विश्वकप २०१९ र २०२३, आइसीसी विश्व ट्वान्टी–२० २०२० र २०२१, आइसीसी वल्र्ड टेस्ट च्याम्पियनसीप फाइनल २०२१ र २०२३ रहेका छन् ।