
१– समस्याको पहिचान :



माेहन वैद्य ‘किरण’
हामीले नेपाललाई अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक अवस्थाबाट मुक्त गर्न र नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवादतर्फ अगाडि बढ्नका लागि धेरै परिश्रम गर्दै आएका छौं । विभिन्न जनआन्दोलन, जनसंघर्ष र दशवर्षे महान जनयुद्ध पनि सञ्चालित भए । परन्तु क्रान्तिले गम्भीर धक्का खायो । अहिले पनि प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था कायमै छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुको अझै समाधान हुन सकेको छैन । यी सिङ्गो देश र जनताका समु लामो समयदेखि जटिल र गम्भीर बन्दै आएका समस्या हुन् ।
परन्तु, उक्त समस्याहरुको समाधान गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनका सामु उपस्थित आजका मूल समस्या के हुन त ? हामीले आफ्नो ध्यान आन्दोलनभित्रको समस्याको पहिचानतर्फ केन्द्रित गर्न जरुरी छ । आज हाम्रो आन्दोलनभित्र विद्यमान समस्या मूलतः तीन प्रकारका छन् । ती हुन्– वर्ग दुश्मनलाई बुझ्ने समस्या, दक्षिणपन्थी संशोधनवादलाई बुझ्ने समस्या र स्वयम् आफैलाई बुझ्ने समस्या । हामीले यी समस्याहरुलाई ठीकसित बुझ्ने र तिनको समाधान गर्दै अगाडि बढ्नु पर्दछ । यहीं नै अहिले युवाहरुको मूल दायित्व हो ।
नेपाली क्रान्तिकारी युवाहरुले देश र जनतालाई उत्पीडनबाट मुक्त गर्नका लागि धेरै रगत र पसिना बगाउँदै आएका छन् । तर अब यत्तिले मात्र पुग्ने स्थिति छैन । आज नेपाली क्रन्तिकारी युवाहरुले धक्का खाँदै आएको नेपाली क्रान्तिलाई विजयी बनाउनका लागि विचारधारात्मक राजनितिक, संगठानिक तथा प्राविधिक तयारी गर्नु, वर्ग दुश्मन तथा अवसरवादीहरुलाई ठीकसित ठम्याउँदै प्रहारको निशाना सोझ्याउन र देश तथा जनताको उज्वल भविष्य निर्माण गर्ने तालाचाबी आफ्नो हातमा लिनका लागि विशेष चिन्तन एवम् पहल गर्न अनिवार्य बन्न गएको छ ।
२– वर्गदुश्मनलाई बुझ्ने समस्या :
वर्तमान नेपाली समाजमा वर्ग दुश्मन दुई प्रकारका छन् – आन्तरिक र बाह्य । आन्तकि वर्ग दुश्मन भित्र दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्ग पर्दछन् । दलाल पुँजीपतिवर्ग त्यो हो जसले वैदेशिक प्रतिक्रियावादी वर्गको हित र स्वार्थका निम्ति देश र जनताका हितहरुको बलि चढाउँछ । त्यति मात्र होइन, ऊ आफ्ना विदेशी मालिकहरुलाई रिझाउन आफै बली दिन पनि तयार हुन्छ । नोकरशाही पुँजीपति वर्ग त्यो हो, जसले पुरानो राज्यसत्तामा कब्जा जमाइ राखेर देश र जनताको विरोधमा आफ्नो सामन्तवादी र वैदेशिक प्रतिक्रियावाद सबैको स्वार्थमा काम गर्दछ । नेपालमा सामन्त वर्ग कमजोर बनेको छ तर अझ समाप्त भइसकेको छैन । त्यसले यदा कदा देशभक्तिको कुरा गरेपनि सारत ः दलाल तथा नोकरशाही पुँजीपति वर्गसित घाँटी नजोडिकन र वैदेशिक प्रतिक्रियावादका सामु लम्पसार नपरिकन आफ्नो अस्तित्व धान्न सक्तैन ।
वैदेशिक प्रतिक्रियावाद अन्तर्गत साम्रज्यवाद र विस्तारवाद पर्दछन् । यिनले वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक दृष्टिले नेपाल र नेपाली जनताको उत्पीडन गर्दै आएका छन् । सुगौलीसन्धि देखि २००७ सालसम्म व्रिटिश साम्राज्यवाद, त्यसयता भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले नेपाललाई शोषण, उत्पीडन तथा दोहन गर्दै आएका छन् । अहिले भारतीय विस्तारवाद नै नेपाली जनताको प्रमुख वाह्य दुश्मन बन्न गएको छ ।
आज नेपाल र नेपाली जनताको शोषण उत्पीडन गर्ने काममा स्वदेशी र विदेशी दुवै थरी वर्गदुश्मनका बीच बलियो गठबन्धन र लगनगाँठो कसिएको छ । स्वदेशी वर्गदश्मन, विदेशी वर्ग दुश्मनविना बाँच्न सक्तैैन्न र विदेशी वर्गदुश्मन स्वदेशी वर्गदुश्मनविना बाँच्न सक्तैनन् । यस तथ्यलाई हामीले राम्रोसित बुझ्न जरुरी छ ।
स्वदेशी वर्ग दुश्मन को हुन् त ? अहिलेसम्म जुन जुन वर्ग एवम् राजनीतिक शक्तिले देशको राज्यसत्ता तथा शासन सत्तामा हाली मुहाली गर्दै आएका छन् र जजसले देशका नदीनाला, जडिबुटीसहित समस्त प्राकृतिक एवम् मानवीय स्रोत साधन बाह्य वर्ग दुश्मनलाई सुम्पने र देश लुटिदा, चुसिदा तथा सिमा मिचिदा वपन मौन रहेर आफ्ना मालिकहरुको चाकरी गर्न प्रतिस्पर्धी बन्दै आएका छन्, तिनै स्वदेशी वर्ग दुश्मन हुन् । तिनले देश, जनता, प्रजातन्त्र, लोकतन्त्र र साम्यवादसम्मको पनि नाम जोडेर देश, जनता, लोकवर्ग र साम्यवादमाथि गम्भीर विश्वास घात गरेका छन् । तिनलाई हामीले राम्रोसित ठम्याउन जरुरी छ ।
३– दक्षिणपन्थी संशोधनवादलाई बुझ्ने समस्या :
माक्र्सवादका आधारभूत प्रस्थापनको संशोधन गर्नु संशोधनवाद हो । माक्र्सवादका आधारभूत प्रस्थापना यी हुन्– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, क्रान्तिमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वर्ग तथा राज्यविहीन साम्यवादी समाजको निर्माणसहित सम्पूर्ण मानव जातिको मुक्ति । संशोधनवादले माक्र्सवादका यी सबै प्रस्थापनाहरुको तोडमरोड तथा संशोधन गर्दछ । संशोधनवाद उग्र, मध्य तथा दक्षिण पन्थका रुपमा प्रकट हुने गर्दछ र अन्ततः त्यो दक्षिणपन्थी संशोधनवादमा परिणत हुन्छ ।
विश्वमा र नेपालमा पनि संशोधनवाद वर्गसमन्वयवाद, संसदवाद, शान्तिपूर्ण संक्रमण, निर्वर्गीय जनवाद, अन्धराष्ट्रवाद, मन्त्रीमण्डलवाद, अर्थवाद, विसर्जनवाद, वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको रुपमा देखा पर्दै आएको छ । प्रतिक्रियावादी वर्गसित राज्यसत्तामा रहेसम्म र स्वयम् प्रतिक्रियावादमा परिणत हुनुलाई त्यसले आफू गौरान्वित भएको ठान्दछ । नेपाली र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एउटा ठूलो हिस्सा यस्तै पतन र गद्दारीको आहालमा डुब्दै आएको छ । अरुको कुरा छाडौं, दशवर्षको जनयुद्धको नेतृत्व गर्दै अएको एउटा ठूलो हिस्साले पनि यही नियति भोग्दै आएको छ ।
त्यसैले आज हामीले प्रतिक्रियावादी वर्ग वा वर्ग दुश्मन मात्र होइन, कम्युनिष्ट आन्दोलनको इतिहासको एउटा कालखण्डमा सँग सँगै बसेर तथा संगसँगै संघर्ष गरेर आएका आफ्नै बन्धुवान्धवहरुको प्रतिक्रियावादीकरण र कित्ता परिवर्तनलाई पनि राम्रोसित बुझ्न जरुरी छ ।
४– आफ्नै वर्गमित्रहरुलाई बुझ्ने समस्या
नयाँ जनवादी क्रान्तिको वर्तमान चरणमा मजदुरदेखि मध्यम किसानसहितका सबै निम्न पुँजीपतिवर्ग हाम्रा मित्र शक्ति हुन् । राष्ट्रिय पुँजीपतिवर्ग ढुलमुल चरित्रको रहिआए पनि त्यो सम्मलाई हामीले आफ्नो पार्टीमा ल्याउनु पर्दछ । महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लीम, पिछडिएको क्षेत्रसहितका जनसमुदाय हाम्रा मित्र हुन् । सर्वहारावर्ग क्रान्तिको नेतृत्वदायी शक्ति हो ।
सिंगो देशको विशाल बहुसंख्या निम्न पुँजीपतिवर्गको छ र यो वर्ग क्रान्तिको मित्र शक्ति हो । क्रान्तिका निम्ति यस प्रकारको मित्र शक्तिलाई वर्ग सचेत, क्रियाशिल र एकताबद्ध तुल्याउन अनिवार्य रुपमा आवश्यक हुन्छ । यस वर्गको सहयोगविना सर्वहारा वर्ग एक्लैले क्रान्ति सम्पन्न गर्न सक्तैन ।
हाम्रा वर्गमित्रहरुको ठूलो हिस्सा निम्न पुँजीपतिहरुको रहेको छ । यो वर्ग एकातिर वर्गदुश्मनद्वारा शोषित, उत्पीडित तथा अपहेलित छ भने अर्कोतिर यसमा वर्गोत्थानको प्रवृत्ति पनि हुन्छ । यस वर्गको धरातल लघु उत्पादन हो । यो वर्ग उभारको बेला अगाडि बढ्ने र उतारको बोला पछाडि हट्ने पनि गर्दछ । यसमा एकातिर क्रान्तिकारी जोश तथा उत्साह हुन्छ भने अर्कोतिर ढुलमुलपन तथा निराशा पनि पाइने गर्दछ । तर अन्ततः र समग्रमा यो वर्ग क्रान्तिकारी हुन्छ । हामीले यस वर्गलाई जागरित तथा वर्गसचेत बनाउँदै जानु आवश्यक छ ।
क्रान्तिका लागि सबैभन्दा सुयोग्य वर्ग सर्वहारा वर्ग हो । यही नै क्रान्तिको असली नेता तथा निर्णायक शक्ति हो । हामी यसै वर्गमा भर पर्नु पर्दछ । यो वर्ग क्रान्तिको भौतिक इतिहास हो । र यसलाई मालेमावादको वैचारिक हतियारले समृद्ध तुल्याउनु पर्दछ ।
५– क्रान्तिमा युवा शक्तिको दायित्व :
युवा शक्ति उर्जाशिल, क्रियाशिल र जीवनशक्तिले समृद्ध रहेको हुन्छ । माओका शब्दमा युवा शक्ति विहानीपखको सूर्य हो । युवा शक्ति नै देश, जनता र सिंगो संसारकै भाग्य र भविष्यको असली निर्माता हो र अभियन्ता पनि हो । आज देश, जनता र नेपाली क्रान्तिले युवा शक्तिबाट धेरै कुराको आशा, अपेक्षा र माग गरेका छन् । आज इतिहासले युवाहरुका अगाडि विशेष दायित्व सुम्पेको छ ।
युवाहरुले देश तथा जनताको मुक्ति र साम्यवादको उज्ज्वल तथा उदात्त भविष्य निर्माणका लागि निम्न विषयमा विशेष जोड दिन जरुरी छ :
पहिलो ः माक्र्सवाद–लेनिनवाद–माओवादको अवलम्बन । क्रान्तिको लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रुपमा आवश्यक हुन्छ । आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै क्रान्तिको पथप्रदर्शकको सिद्धान्त हो । हामीले यस सिद्धान्तको अध्ययन तथा यसलाई आत्मसात गर्न, यसको रक्षा, प्रयोग तथा विकासमा जोड दिन आवश्यक छ ।
दोस्रो ः क्रान्तिकारी कार्यदिशाको अवलम्बन तथा कार्यान्वयन । क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशाको अवलम्बन र कार्यान्वयन आवश्यक हुन्छ । वर्तमान नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो । त्यसै गरी नेपाली क्रान्तिको फौजी कार्यदिशा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशा हो । हामीले यस प्रकारको कार्यदिशालाई एकातिर दृढतापूर्वक अवलम्बन गरी कार्यान्वयन गर्नु पर्दछ भने अर्कोतिर त्यसलाई परिमार्जित तथा विकसित तुल्याउँदै जान जरुरी छ । यस कार्यमा युवाहरुको विशेष भूमिका निर्वाह गर्न जरुरी छ ।
तेस्रो ः वर्गदुश्मन तथा संशोधनवादप्रति घृणा । क्रान्तिका निम्ति वर्गदुश्मन तथा संशोधनवादप्रति तीव्र घृणा अनिवार्य रुपमा आवश्यक हुन्छ । क्रान्ति वर्गदुश्मनमाथि विजयी प्राप्त गरेरै हुन सक्तछ । र, यस दिशामा दक्षिणपन्थी संशोधनवादले ठूलो धोका दिंदै जनताप्रति विश्वासघात, वर्गदुश्मनको दलाली र क्रान्तिप्रति गद्दारी गर्दै आएको छ । तसर्थ, हामीले वर्गदुश्मन मात्र होइन, दक्षिणपन्थी संशोधनवादप्रति तीव्र घृणा गर्नु पर्दछ ।
चौथो ः वर्गमित्र, देश तथा जनताप्रति प्रेमभाव । वर्गसमाजमा वर्गचेतना सशक्त रुपमा मुखरित भएको हुन्छ । सर्वहारा वर्गीय उच्च चेतनाको जगमा वर्गमित्र, देश तथा जनताप्रतिको प्रेमको भावना जागरित हुन पुग्दछ । वर्गदुश्मनले आफ्नै वर्गलाई माया गर्दछ । दक्षिणपन्थी संशोधनवादीहरुले जनता तथा वर्गमित्रमा अविश्वास र वर्गदुश्मनप्रति विश्वास गर्दछन् । त्यसको ठीक उल्टो हामीले वर्गमित्र, देश तथा जनताप्रति प्रेम गर्नु पर्दछ ।
पाँचौं ः अनुशासित, जुझारु र क्रान्तिकारी आशावादले समृद्ध बन्नुपर्ने आवश्यकता । क्रान्तिका लागि अनुशासित बन्न जरुरी छ । अनुशासनको प्रश्न जनवादी केन्द्रीयतासित जोडिएको छ । जनवाद र केन्द्रीयताबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । जनवादले केन्द्रीयता र केन्द्रीयताले जनवादलाई टेवा पु¥याउँदै अन्ततः अनुशासनको प्रश्नमा विशेष जोड दिनु पर्दछ । यस अतिरिक्त हामी स्वयम् जुझारु बन्न र संगठनलाई जुझारु बनाउन अति जरुरी छ । वर्गदुश्मन र जाली फटाहाहरुको विरोधमा हामीले आफूलाई एउटा लडाकू शक्तिका रुपमा विकसित तुल्याउनु पर्दछ । आफू स्वयम् र संगठनलाई अनुशासित तथा जुझारु बनाउनका लागि हामी क्रान्तिकारी आशावादले समृद्ध बन्न जरुरी छ । अहिले दुश्मन र अवसरवादीहरु बलिया जस्ता देखिए पनि ती मरणशील आवस्थामा छन् र जनता तथा क्रान्तिकारीहरु कमजोर देखिए पनि अन्ततः ती जीवनशील शक्ति हुन् । द्वन्द्ववादले हामीलाई यही कुरा सिकाउँछ ।
छैठौं ः दुनियाँ बुझ्ने र बदल्ने प्रश्न । माक्र्सवादी दर्शनको मूल विषय दुनियाँ बुझ्ने र मुख्यतः बदल्ने प्रश्नसित जोडिएको छ । हामीले क्रान्तिमा समस्याहरुको पहिचान गर्न, वर्गदुश्मन तथा दक्षिणपन्थीहरुलाई बुझ्न र आफ्नो वर्गमित्रहरुलाई ठम्याउन अति जरुरी छ । तर, कुरा यो मात्र होइन । मुख्य कुरा क्रान्तिको योजना बनाई तथा आवश्यक तयारी गरी जनताको जनवादी राज्यसत्ता स्थापित गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने, दक्षिणपन्थी संशोधनवादलाई नांगेझार पार्ने, सिंगो मित्रशक्तिसहित स्वयम्लाई रुपान्तरण गर्दै देश र विश्वलाई नै बदल्ने महान ऐतिहासिक अभियानमा संलग्न हुनु हो ।
६– उपसंहार :
क्रान्तिले युवाहरुसित धेरै अपेक्षा गरेको छ । युवाहरुले क्रान्तिका निम्ति विचारधारात्मक, राजनीतिक तथा सांगठानिक क्षेत्रमा आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । असली अर्थमा क्रान्तिकारी युवाहरु नै तीन जादुगरी हतियारका आधार स्तम्भ हुन् । उनीहरु नै क्रान्तिका उत्तराधिकारी हुन् ।
आफ्नो ऐतिहासिक दायित्व र भूमिकालाई सशक्त रुपमा अगाडि बढाउनका लागि माक्र्सवाद–लेनिनवाद–माओवादलाई, नेपाली सामाजिक जीवन र विश्वकै बारेमा अध्ययनलाई बढाउने, सांगठानिक तथा संघर्ष सम्बन्धी काममा निरन्तर क्रियाशिल बन्ने र देश तथा जनताको सेवा गर्ने काममा क्रान्तिकारी युवा कमरेडहरु विशेष गम्भीर बन्नुपर्दछ ।
चैत्र २५, २०७३