पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यस्ता खानेकुराबाट टाढा रहनुहोस्

पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यस्ता खानेकुराबाट टाढा रहनुहोस्

गर्मी मौसम बढेसँगै हाम्रो शरीरबाट पसिना आउनु स्वाभाविक नै हो । तर शरीरबाट निकै नै दुर्गन्धित पसिना आउँदा जो कोहीलाई चिन्ताको विषय बन्छ यो । हामीले दैनिक जीवनमा खाने कुराको प्रत्यक्ष असर शरीर परीरहेको हुन्छ । यसको असर हाम्रो शरीरबाट आउने गन्धमा अर्थात् सुगन्ध वा दुर्गन्ध दुवैमा पर्छ । कुनै खानेकुरा खाँदा शरीरबाट दुर्गन्ध आउँछ, बढी खाइयो भने शरीरबाट सदैव त्यस्ते दुर्गन्ध फैलिरहन्छ ।

विभिन्न अनुसन्धानले बताएअनुसार केही खानेकुरा त्यस्ता छन् जसलाई गर्मी मौसममा सकेसम्म खानु हुँदैन, खाए पनि थोरै मात्र खानुपर्छ । गर्मी मौसममा त्यस्ता खानेकुराले पसिनाबाट बढी दुर्गन्ध पैदा हुन्छ, पसिना बढी गन्हाउँछ । खानेकुरामा सावधानी अपनाएर पनि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ ।

साथै केही त्यस्ता खानेकुरा पनि छन् जसको सेवनले पसिनाको दुर्गन्ध कम गर्न सघाउ र्पुयाउँछन् । कुनै कुनै खानेकुराले त शरीर तथा मुखबाट सुगन्ध फैलाउनसमेत सहयोग र्पुयाउँछन् ।

दूधः दूधमा कोलिन नामक तत्व पाइन्छ जसले दुर्गन्ध पैदा गर्दछ । दूधको सेवनबाट शरीर गन्हाउने दुष्प्रभावबाट बच्न दही खानुपर्छ । दहीमा त्यस्तो सक्रिय तत्व पाइन्छ जसले दुर्गन्ध फैलाउने तत्वको प्रभाव कम गर्न सहयोग गर्छ ।

अल्कोहलः अल्कोहलको सेवनले मुख, शरीर तथा पसिना सबैतिर दुर्गन्ध फैलाउँछ । यसको असर कम गर्न कागतीपानी पिउनुपर्छ जसले शरीरबाट टक्सिन निकाल्न मद्दत गर्छ भने अल्कोहलको प्रभाव कम गरी दुर्गन्ध फैलनसमेत रोक्छ ।

कफीः कफीले शरीर तथा सासको दुर्गन्ध बढाउने काम गर्छ । यसको प्रभाव कम गर्न हर्बल टी पिउनुपर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरको टक्सिन बाहिर निकाली दुर्गन्ध कम गराउँछ ।

काउलीः काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ जसले पसिनामा दुर्गन्ध पैदा गराउँछन् । यसको प्रभाव कम गर्न ताजा स्याउको सेवन गर्नुपर्छ ।

लसुन र प्याजः लसुन तथा प्याजमा सल्फर नामक तत्व पाइन्छ जसको सेवनले पसिना धेरै नै गन्हाउँछ । यसको प्रभाव कम गर्न दालचिनी तथा सुकुमेल खानुपर्छ ।

फर्सीः फर्सीमा पनि कोलिन पाइन्छ जसले पसिना गन्हाउने समस्या बढाउँछ । यसको प्रभाव कम गर्न सुन्तला खान सकिन्छ । सुन्तलाको सेवनले शरीरमा सुगन्ध फैलाउनसमेत सहयोग गर्छ ।