हिँजोआज नेपाल मण्डलमा गरिबगुरुवाहरूका ससाना लालावालाहरूको स्कूल भर्नाको विषयमा हङ्गामा नै मच्चिएको छ । वामपन्थी (उर्फ हामपन्थी) नामको हात्तीले सरकारको हौदामा बसेपछि विभिन्न प्रकारका चकाचौँध मच्चाएको छ । राष्ट्रवादीको पगरी गुथेर चुनावमा भोट बटुलेका पर्धानमन्त्रीले गुज्जर भैय्याको चाकडी गरेर राष्ट्रवादको खाँटी परिचय त दिए । विगतका असमान सन्धी सम्झौता दृढतापूर्वक कार्यान्वयन गर्ने वचन गुज्जर भैय्यालाई दिएर राष्ट्रवादको शीर सगरमाथा भन्दा पनि उँचो राखेर आए । यसले निकै चर्चा पायो र सबैतिर बहस, खुसामत र मत मतान्तर पनि भए । समाजवाद ल्याउन भनेर कस्सिएको बामेहरूको सरकारले पुराना असमान सन्धी सम्झौतालाई अक्षरश छिटो भन्दा छिटो लागू गरेर र अरूण, कर्णाली बेचबाच पारेर धन आर्जन गरि समाजवाद लागू गर्ने कार्यको शुभारम्भ गरेर आए । कुरो मुनासिवै हो, समाजवाद लागू गर्न त धनपैसो प्रशस्त हुन पर्छ क्यारे ।
त्यसपछि बामे सरकारले यतिखेर अर्को चकाचौँधको कार्य अघि बढाएको छ । त्यो हो गरिबगुरुवाका लालावालाहरूको अविभावकत्व ग्रहण गरेर सरकारी स्कुलमा भर्ना गर्ने पवित्र कार्य । त्यसैले सरकारी स्कुलमा गरिबगुरुवाका केटाकेटी भर्ना गर्ने होडबाजी नै मच्चिएको छ । देशका पर्धानमन्त्री मिस्टर उखानप्रसादले मुगुको रारामा गएर गरिबगुरुवाका दुई थान केटाकेटीलाई सरकारी स्कूलमा भर्ना गरेर समाजवादी शिक्षाको उद्घाटन गरे । त्यसपछि सरकारवादी दोस्रो दलका मिस्टर सुप्रिमोले चितवन गएर राज्यको गणणामै नपर्ने ‘निचा जाति’ मुसहर, माझी केके जातिका दुई थान भुराभुरीको नाउँ सरकारी स्कुलमा लेखाएर अविभावक बने । त्यसपछि पुलिसमन्त्रीले पनि चितवनै गएर त्यसै गरे । उता वालव्रह्मचारी निःशन्तानी शिक्षामन्त्री महोदयले पनि दुईतीन थान चेपाङ, माझी, मुसहर यस्तै यस्तै केके जातिका भुराभुरीको अविभावकत्व ग्रहण गर्दै सरकारी स्कूलमा नाउँ लेखाइदिए । अब उनले चलाएका वर्दिवास र कोटेश्वर तिरका नीजि स्कूल विद्यार्थी नपाएर सुकेनास लागेर डङ्ग्रङ्गै ढल्नेछन् । किनकि नीजि स्कूलका मालिक नै शिक्षामन्त्री बनेर देशका सबै गरिबगुरुवाका केटाकेटी सरकारीमा भर्ना गर्न उर्दी जारी गर्दै आफैँ अविभावक बन्न थालेपछि तिनका नीजि स्कुलमा कस्ले पढिदिने ?
यो क्रम फैलिँदै गएर अरू मन्त्री, माननीय, विभिन्न दलका लाउके, टाउके, भुरेटाकुरे नेताहर्ले आआफ्ना क्षेत्रमा गएर सडकमा चरिरहेका, खोलाकिनारमा गिट्टी खेरिरहेका, होटेलहरूमा भाँडा माभ्mदै गरेका, घाँस दाउरा काट्न गएका, ग्वाला गएका आदि इत्यादि लालाबालाहर्लाई ठाउँका ठाउँ टिपेर सरकारी स्कुलमा लगेर भर्ना गर्ने लहर चलिरहेको छ । यो क्रम दिनानुदिन बढ्दै गएको छ । यसरी बामे सरकारले समाजवाद स्थापना गर्न सबैभन्दा पहिला शिक्षा क्षेत्रमा समाजवादी शिक्षा लागू गर्ने अभ्यासको शुभारम्भ गरेको छ ।
आजसम्म गरिबगुरुवाका लालावालाहर्ले किन पढ्न पाएनन् भनेको त विचराहर्ले अविभावक नै नपाएर अनि स्कुलमा नाउँ लेखाइदिने मुक्तिदाताहरू नै नपाएर पो रहेछ । यतिखेर सरकारले उनीहरूको उद्धार गरेको छ । संविधानमा शिक्षालाई मौलिक हकभित्र राखेको हुनाले पनि समाजवादी सरकारले संविधानलाई अक्षरश लागू गर्ने कामको थालनी गरेको हो । अब गरिबगुरुवाका छोराछोरी सबै शिक्षित हुनेछन् । सबै डाक्टर, इन्जिनियर, पाइलट, ठूलठूला तहका कर्मचारी हाकिम हुनेछन् । त्यसपछि देश त समाजवादमा तुरुन्तै फड्को हान्ने छ ।
गरिबगुरुवाका छोराछोरीहर्ले सर्वसुलभ तरिकाले पढ्न लेख्न पाउन् भनेर बामे सरकारले प्राविधिक शिक्षा लागू गर्ने भएको छ । जहाँजहाँ पर्धानमन्त्री, मन्त्री, माननीय, बडेबडे पाटीका बडेबडे नेताहर्ले नाउँ लेखाइदिएका केटाकेटीहर्ले नाउँ लेखाउँदाको दिन बाहेक स्कुल जानुपर्ने छैन । सरकार र नेताको काम भनेको अविभावक नपाएर स्कुल जान नपाएकाहर्लाई अविभावक बनेर स्कुलमा नाउँ लेखाइदिने मात्रै हो । बाँकी पढ्ने काम त उनीहरूकै हो । कसरी पढ्ने, के पढ्ने भन्ने कुरा उनीहर्ले नै जान्ने कुरा हो । सरकारको त देशका सबै केटाकेटी स्कुलमा भर्ना होउन् भन्ने लक्ष्य मात्रै हो । त्यसैले बैशाख १४ गतेसम्म सरकारले अविभावक बनेर देशैभरीका सबै भुराभुरीहर्लाई घोक्रेठ्याक लगाएर भएपनि भर्ना गरिदिन्छ ।
यतिखेर सरकार र लाउके नेताहर्ले भर्ना गरिदिएका गरिबगुरुवाका लालावालाहर्ले आआफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था गरेको छ । होटलमा भाँड माझ्ने केटाकेटीले भाँडा माझ्ने शिक्षा, गिट्टी कुट्ने केटाकेटीहर्ले गिट्टी कुट्ने शिक्षा, गोठाला जानेहर्ले गोठालो शिक्षा, गाडि मोटरमा खलाँसी बनेकाहर्ले खलाँसी शिक्षा, ग्यारेजमा काम गर्नेले गाडिमोटर पुछपाछ र ठोकठाक गर्ने शिक्षा, सहरका खातेहर्ले खाते शिक्षा आदि इत्यादि पढ्ने छन् । यस्तो छ बामे सरकारको समाजवादी शिक्षाको तुजुक ।
८ बैशाख २०७५