काठमाडौं । आज वैशाख ९ गते अर्थात् अप्रिल २२ । विश्व सर्वहारावर्गका महान नेता भिआइ लेनिनको जन्म दिन । आजैका दिन नेपालमा ‘नेपाल कम्युनिस्ट पार्टी’को स्थापना भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले आज पार्टी स्थापना दिवस पनि मनाउने गरेका छन् ।
लेनिनको विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा अद्वितीय योगदान रहेको छ । त्यसैले लेनिनलाई विश्व सर्वहारावर्गको एक महान नेताको रुपमा विश्वभरका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न कार्यक्रम गरी सम्झने गर्दछन् । लेनिन जयन्तीकै अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा आयोजना गरिने कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य‘किरण’लगायत प्रायः नेता कार्यकर्ताहरुको जमघट हुँदैछ ।
सन् १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्र्कमा जन्मनुभएका लेनिनले सन् १८९२ देखि नमरुन्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाउनुभयो . लेनिनले माक्र्सवादको सही प्रयोग मात्र गर्नुभएन, माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा विकास गरेर माक्र्सवाद–लेनिनवादको प्रतिपादन समेत गर्नुभयो ।
लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गर्नुभएको थियो । यस्तो खालको सङ्गठनात्मक पद्धतिलाई लेनिनवादी पद्धति भनिन्छ । त्यसलाई नयाँ ढङ्गको पार्टी पनि भनिन्छ । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गर्नुभयो । उहाँले आविष्कार गरेका कैयौँ विषयहरूमध्ये कम्युनिस्ट पार्टीको साङ्गठनिक पद्धति हो । अहिलेसम्म लेनिनवादी सङ्गठनात्मक पद्धतिभन्दा नयाँ र वैज्ञानिक पद्धतिको विकास भएको छैन । त्यसैले लेनिनको सङ्गठनात्मक पद्धतिको खोज पनि एउटा महत्वपूर्ण योगदान हो ।
लेनिनले माक्र्सपछि अर्थशास्त्रमा नयाँ खोज गर्नुभयो । एकाधिकार पुँजीवादको व्याख्या गर्नुभयो । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्तिका रूपमा परिभाषित गर्नुभयो । साम्राज्यवादीहरूले आफ्नो सङ्कट र अन्तरविरोधलाई हल गर्न एकाधिकार पुँजीवादी नीति अवलम्बन गर्न पुगेका थिए । जसलाई लेनिनले सन् १९०० देखि प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा बदलिएको विश्लेषण गर्नुभयो । त्यसको १० वर्षपछि लेनिनले साम्राज्यवादबारे खोज गर्नुभयो । उहाँले ‘साम्राज्यवाद भनेको पुँजीवादको विकसित र मरणासन्न अवस्था’ रहेको पत्ता लगाउनुभयो । अहिले पनि विश्वको उत्पीडनको आधार साम्राज्यवादी नै रहेको छ