पार्टी संगठनबारे लेनिनका विचारहरु

प्रकाशित मिति : २०७५ बैशाख ९

- कृष्णदास श्रेष्ठ

“हामीलाई एउटा क्रान्तिकारी संगठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौं ।”–लेनिन
माक्र्स र ऐंगेल्सले विश्व सर्वहारावर्ग र अन्य श्रमिक जनताको मुक्तिको लागि त्यसको संघर्षको बाटोलाई आलोकित गर्ने क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गरे, जसलाई माक्र्सवाद मानिएको छ । उक्त सिद्धान्तको एउटा प्रमुख प्रस्थापना के छ भने सर्वहारावर्गको मुक्तिको लागि त्यसको आफ्नो स्वाधीन पार्टीको ठूलो आवश्यकता छ । माक्र्सवादका प्रवर्तकहरुले आफ्नो समयको परिस्थितिको सन्दर्भमा क्रान्तिकारी सर्वहारा पार्टीको स्वरुप र कार्यबारे विचारहरुको प्रतिपादन पनि गरे । १८४७ मा उनीहरुद्वारा संस्थापित कम्युनिष्ट लीग सर्वहारावर्गको पार्टीको पहिलो नमुना थियो ।

पछि, लेनिनले सर्वहारा पार्टी सम्वन्धी माक्र्स र ऐंगेल्सका विचारहरुलाई विकसित गरेर त्यससम्बन्धी महत्वपूर्ण विचारहरुको निर्माण गरे । त्यसका साथै, उनले एउटा नयाँ खालको पार्टीको संस्थापन पनि गरे, जुन बोल्शेभिक पार्टीको नाउँबाट विश्व प्रसिद्ध रह्यो । सोही पार्टीको नेतृत्वमा १९१७ को महान् अक्टोबर समाजवादी क्रान्ति सफलताका साथ सम्पन्न भयो । र, विश्वमा पहिलो सर्वहारावर्गीय राज्यसत्ताको सिर्जना गरियो र साथै विश्वमा पहिलो समाजवादी समाजको निर्माण पनि गरियो । लेनिनद्वारा संस्थापित उक्त बोल्शेभिक पार्टी त्यस बेलादेखिन् संसारभरका क्रान्तिकारी कम्युनिष्टहरुका लागि आ–आफ्नो मुलुकमा सर्वहारा पार्टीको निर्माणको निम्ति एउटा आदर्श, नमुना रहेर आएको छ र पार्टीसम्बन्धी लेनिनका शिक्षााहरु पार्टी निर्माणका लागि निर्देशन रहेका छन् ।

त्यस सम्बन्धमा लेनिनका शिक्षाहरुको महत्वका बारेमा जर्मन लेखक अल्फ्रेड कुरेल्लाको सहयोगमा फ्रान्सेली लेखक हेनरी बार्नुस्सेद्वारा लिखित एउटा लेखमा निम्नि विचार व्यक्त गरेका छन् ।

“बोल्शेभिक पार्टीको संस्थापन र निर्माणको लागि लेनिनले जे जति गरे त्यसको अर्थलाई बुझ्ने हो भने, हामीले पार्टीसम्बन्धी उनका शिक्षाहरुको राम्रो समझदारी हासिल गर्नुपर्छ” यस क्षेत्रमा लेनिनका बहुपक्षीय तथा घनिभूत सबै कृयाकलापहरुका, कुनै पुस्तिकाको ढुवानीको संगठन गर्ने वा रुसी सिमानापारी अखबार निकाल्ने कामदेखि विरोधीहरुसित तीव्र विवादमा लाग्ने, र पार्टी कार्यक्रम वा नियमविपरीत विचार प्रचार वा काम गर्ने पार्टी सदस्यहरु विरुद्ध अनुशासनिक कारबाही गर्ने सम्मका उनका कृयाकलापमा उनको दूरदर्शी अपूर्व प्रतिभा व्यक्त भएको छ ।

“बोल्शेभिक पार्टी भनेको एउटा यस्तो जीव तत्व हो, जसमा पेशेवर क्रान्तिकारीले, समाजवादी भविष्यका मानिसहरुको आदर्श नमुनाले नयाँ सामाजिक व्यवस्थाको निमार्ण गर्ने वस्तुगत रुपले जिम्मेवारी बोकेका तर सो उदेश्यप्रति मनोगत रुपले अझसम्म सजग नरहेका शोषित जनतासित, करोडौं जनतासित आफ्नो भाग्यलाई गाँसिदिन्छ । …बोल्शेभिक पार्टीको संस्थापनसँगै ‘राजनीति’ बरारिएको जालझेल र चुनावी षड्यन्त्रको धरापबाट बाहिर निस्केको छ, र त्यो मानिसको सामाजिक कृयाकलापको सबभन्दा उच्च, सबभन्दा शुद्ध र सबभन्दा उदात्त रुप बनेको छ ।’’१

पार्टी संगठनसम्बन्धी लेनिनका विचारहरु उनको महान् योगदानहरु एउटा प्रमुख पक्ष हुन् । त्यसबारे यहाँ हामी सारगत रुपमा चर्चा गर्नेछौं । र, उनकै भनाइहरुको आधारमा त्यसलाई स्पष्ट पार्ने प्रयास गर्नेछौं ।

कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्गको राजनीतिक नामाकरण हो, अर्थात् सो पार्टी सर्वहारावर्गको राजनीतिक रुपले प्रतिनिधित्व गर्ने संस्था हो । वर्तमान युगमा इतिहासले सर्वहारावर्गको काँधमा एउटा ठूलो जिम्मेवारी, ठूलो अभिभारा हालिदिएको छ, र त्यो पँुजीवादी समाजको लाशमा एउटा नयाँ वर्गहीन, कम्युनिष्ट समाजको निर्माण गर्ने अभिभारा हो । कम्युनिष्ट पार्टीको प्रमुख कार्य उक्त अभिभारा पुरा गर्ने सर्वहारावर्ग तथा अन्य श्रमिक जनताको संघर्षमा अगुवाको भूमिका खेल्नु हो । सर्वहारावर्गका आफ्ना विभिन्न संगठन हुन्छन्, जस्तो कि मजदूर संघ, विभिन्न खालका सहकारी संघ आदि । तर, पँुजीपतिवर्गको वर्गको हातबाट सत्ता खोसेर लिन र नयाँ समाजको निर्माण गर्न त्यसको लागि त्यसको आफ्नो राजनीतिक पार्टी हुनुपर्छ, र त्यो पार्टी भनेको क्रान्तिकारी सिद्धान्तको निर्देशनमा हिड्ने÷चल्नेका कम्युनिष्ट पार्टी हो । यस संगठनले मात्र त्यसलाई त्यसको अभिभारा पुरा गर्नमा हतियारको काम गर्न सक्छ । लेनिनले लेखेका छन् ः “सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारासित संगठन सिवाय अर्को कुनै हतियार छैन । पँुजीवादी जगतमा अराजक होडबाजीको शासनबाट छिन्नभिन्न रहेको, पँुजीको निमित्त वाध्य भएर गरिने मेहनतबाट थिचिएको बेहद अभाव, बर्बरता, पतनको गहिरो खाल्डोमा जाकिएको सर्वहारावर्ग तब मात्र एउटा अजेय शक्ति बन्न सक्छ र अनिवार्य रुपमा बन्नेछ, जब माक्र्सवादका सिद्धान्तहरुको आधारमा हुने त्यसको विचारधारात्मक एकतालाई संगठनको भौतिक एकताद्वारा दरिलो बनाइनेछ । यस संगठनले लाखौं लाख श्रमिकहरुलाई मजदूर सेनामा एकगठ पार्नेछ । यस सेनाको सामु न रसियाली जारशाहीको थोत्रिसकेको शासन टिक्न सक्छ न अन्तर्राष्ट्रिय पुँजीको जीर्ण शासन नै टिक्न सक्छ ।”२

एक सच्चा कम्युनिष्ट पार्टी सर्वहारावर्गको सबभन्दा अगुवा दस्ता, त्यसको राजनीतिक दृष्टिले सबभन्दा सचेत दस्ता हो । यसको प्रमुख भूमिका सर्वहारा क्रान्तिलाई दिशानिर्देश गर्नु र सफलतापूर्वक त्यसको नेतृत्व गर्नु हो । त्यसले सो भूमिका सफलताका साथ पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा त्यो कतिसम्म सुसंगठित छ भन्नेमा निर्भर गर्छ । त्यसको अर्थ हो पार्टी सांगठनिक रुपले सुदृढ र सवल हुनु जरुरी छ । लेनिनले यस्तो संगठनको महत्वलाई निम्न रुपमा दर्शाएका छन् ः ‘‘पार्टी भनेको वर्गको राजनीतिक रुपले सचेत, अघि बढेको अंग हो । यो त्यसको अगुवा हो । उक्त अगुवाको तागत त्यसको संख्या भन्दा दश दोब्बरले, सय दोब्बरले, सय दोब्बरभन्दा बढी हुन्छ ।’’
“ के त्यसो हुन संभव छ ? के सयजनाको तागत हजारजनाको तागतभन्दा ठूलो हुन सक्छ ?

“संगठनले तागतलाई दश दोब्बर बढाइदिन्छ । ’’३ सर्वहारावर्गको मुक्ति आन्दोलनलाई ठीक ढंगले संचालन गर्न र अघि बढाउन त्यसको प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टी आवश्यक र अपरिहार्य छ भन्ने कुरामा लेनिनले जोड दिएका छन् । त्यस्तो पार्टीको नेतृत्वमा मात्र सो आन्दोलन ठीक बाटोमा लाग्न सक्छ भन्ने कुरालाई उनले निम्न रुपमा देखाएका छन् ः

“….आन्दोलनलाई स्थायित्व प्रदान गर्नका लागि र विचारहीन हमला गर्ने संभावनाबाट त्यसलाई जोगाउनका लागि एउटा बलियो क्रान्तिकारी संगठनको आवश्यकता छ । यथार्थमा वर्तमान समयमा, जब त्यस्तो संगठन अझसम्म अस्तित्वमा रहेको छैन र जब क्रान्तिकारी आन्दोलन छिटोसित र स्वतःस्फुर्त रुपले बढिरहेको छ, दासी दुईटा विरोधी अतिशयाहरु (जुन, आशा गरिएजस्तै, मिल्छन्) अहिले नै देख्छौं । ती हुन्, एकदमै अस्वस्थ अर्थवाद र नरम विचारको वकालत र त्यतिनै अस्वस्थ उत्तेजनात्मक आतंक…… एउटा यस्तो केन्द्रीकृत लडाकु संगठनले मात्र, जसले सुसंगत ढंगबाट सामाजिक जनवादी नीतिलाई कार्यान्वित गर्छ र जसले भनूँ कि, सारा क्रान्तिकारी अन्तःप्रेरणा र प्रयासलाई पुरा गर्छ, त्यस्तो संगठनले मात्र विचारहीन हमला गर्ने कुराबाट आन्दोलनलाई जोगाउन सक्छ र सफलताको आश्वासन बोकेका हमलाहरुको तयारी गर्न सक्छ ।’’४
सर्वहारावर्गको ऐतहासिक अभिभारा पुरा गर्न समाजको क्रान्तिकारी रुपान्तरण गर्न सामथ्र्यवान बन्नका लागि पार्टी सच्चा क्रान्तिकारीहरुको दस्ता बन्नुपर्छ । यस्तो दस्ता बन्नुपर्छ, जो आम श्रमिक जनताको मुक्तिको लागि र कम्युनिष्ट सिद्धान्तको आधारमा समाजलाई फेर्नका लागि निस्वार्थ र समर्पित भएर लड्ने योद्धा रहन्छन् । लेनिनको विचारमा पार्टी यो काम राम्ररी गर्न सक्नेछ । “यदि त्यो क्रान्तिकारी वर्गको सच्चा अग्रणी रहन्छ भने, यदि त्यो साँच्चिकै उक्त वर्गका अधिकतम राम्रा प्रतिनिधिहरु रहेका हुन्छन् भने यदि त्यो पुरै सचेत र दह्रो कम्युनिष्टहरुले बनेको हुन्छ भने ।”५ सच्चा सर्वहारा क्रान्तिकारीहरुको पार्टीले मात्र श्रमिक जनताको मुक्ति संघर्षमा तिनीहरुलाई पुरा योग्यता र क्षमताका साथ नेतृत्व गर्न सक्नेछ भन्ने कुरामा जोड दिई लेनिनले निम्न विचार व्यक्त गरेका छन् ः
“हाम्रो आन्दोलनबाट सक्रिय कार्यकर्ताहरुका लागि एकमात्र गंभीर संगठनात्मक सिद्धान्त, कठोरतम गोग्यता, सदस्यहरुको कठोरतम छनौट र पेशेवर क्रान्तिकारीहरुको प्रशिक्षण हुनुपर्छ । यी गुणहरु भएको खण्डमा हाम्रो लागि प्रजातन्त्रवाद भन्दा पनि बढी चिज अर्थात् क्रान्तिकारीहरुको बीचमा पूर्ण मैत्रीपूर्ण आपसी विश्वास सुनिश्चित हुनेछ ।”६
पार्टी सदस्यतासम्बन्धी माथि व्यक्त विचार पार्टीको संगठन र निर्माणबारे लेनिनको धारणाको एउटा प्रमुख तत्व रहेको छ र यो सर्वहारा पार्टीको चरित्र र सारतत्वसित र त्यसले खेल्नुपर्ने ऐतिहासिक भूमिकासित अभिन्न रुपमा गाँसिएको विषय हो ।

यस सिद्धान्तलाई पार्टीमा स्थापित गर्न लेनिन र उनका समर्थकहरुले तत्कालीन पार्टीभित्र रहेका सांगठनिक अवसरवाद र त्यसको पक्षधर मार्तोव र उनका समर्थकहरुको विरुद्ध तीव्र संघर्ष गर्नु परेको थियो । कस्तो खालको हुने, दरोसित संगठित खालको कि खुकुलो खालको हुने, कस्ता व्यक्तिहरु पार्टी सदस्य बन्नसक्ने भन्ने सवालमा केन्द्रीत रहेको थियो । पार्टी एउटा सांगठनिक दस्ता बन्नुपर्छ भन्ने लेनिनको विचार थियो, र सोही अनुसारको उनको प्रस्ताव कस्तो थियो भने कुनै व्यक्तिले पार्टीमा नाम दर्ता गरेर मात्र सदस्यता प्राप्त गर्न सक्दैन र सदस्यताको लागि उसले पार्टीको एउटा संगठनमा रहेर सक्रिय रुपमा काम गर्नुपर्छ । लेनिनको प्रस्ताव अनुसार, पार्टी सदस्यले अनिवार्य रुपबाट पार्टीको एउटा संगठनमा व्यक्तिगत रुपले सहमागी हुनुपर्छ, जसको अर्थ हो उसले पार्टी अनुशासन मान्नै पर्छ । लेनिनको उक्त धारणामा कुन महत्वपूर्ण तत्व रहेको छ भने कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्गका हितअनुरुप विचारहरुको प्रचार गर्ने र त्यसको योजना बनाउने संगठन मात्र होइन, बरु विचार र कार्यमा एकतावद्ध भएर सो विचार र योजनालाई यथार्थतामा परिणत गर्ने योद्धाहरुको संगठन हो । तसर्थ पार्टीका कार्यक्रम र नीतिप्रति मान्यता र समर्थन मात्र पार्टी सदस्य बन्नका लागि पर्याप्त हुँदैन, बरु उसले त्यसप्रति मान्यता र समर्थनका साथै पार्टीको एउटा संगठनमा रहेर पार्टी फैसलाको भावना र कार्यान्वयनमा जनताको बीचमा काम गर्नु आवश्यक छ । पार्टी सदस्यतासम्बन्धी लेनिनको उक्त धारणा विपरीत अवसरवादीहरुको प्रस्तावमा कस्तो धारणा रहेको थियो भने पार्टी सदस्यले पार्टी कार्यक्रम र नीतिलाई मानेर पार्टीलाई नियमित रुपले सहयोग गरे पुग्छ, ऊ आवश्यकीय रुपले पार्टी संगठनमा रहनु पर्दैन, संगठनको हिस्सा भएर पार्टी काममा व्यक्तिगत सहभागी हुनुपर्छ भन्ने छैन । उनी भन्छन् ः “रु.सा.ज.म.पा.(रुसी मामाजिक जनवादी मजदूर पार्टी)ले एकछिनका लागि पनि कुन कुरालाई विर्सनु हुन्न भने जो व्यक्ति पार्टी निर्णयको भावनामा आम जनताको वीचमा साँच्चिकै आफ्नो सम्पूर्ण कामलाइ अघि बढाउँछ, ऊ मात्र पार्टी सदस्यको उद्दत नाउँको योग्य रहन्छ ।”७
लेनिनको उक्त भनाइअनुसार, त्यस्तो व्यक्ति मात्र पार्टी सदस्य बन्नसक्छ, बन्न लायक रहन्छ, जसले पार्टीको राजनीतिक कार्यदिशा र त्यसको फैसलाहरुलाई निर्देशन मानेर त्यसलाई व्यवहारमा उतार्न अधिकतम प्रयत्न लगाउँछ । पार्टी सदस्यताको लागि यो एक सच्चा एक पार्टी सदस्य हुन सक्दैन ।
लेनिनको उक्त विचार र्सहारा पार्टीको सदस्यता सम्बन्धमा एउटा प्रमुख र आधारभूत सिद्धान्त रहेको छ । यस सम्बन्धमा अवसरवादीहरुको विचार त्यसको विपरीत रहेको थियो । अवसरवादीहरु सबै खालका मानिसहरुलाई विना भेदभाव, विनारोकटोक पार्टीमा प्रवेश गराएर त्यसको संख्या बढाउने र यसरी पार्टीलाई निम्नपुँजीवादी उदारवादी पार्टी सरह बनाउन चाहन्थे । अवसरवादीहरुको उक्त विचार कम्युनिष्ट पार्टीभित्र संगठानिक अवसरवादको एउटा अभिव्यक्ति रहेर आएको छ ।
पार्टी सदस्य बन्नका लागि कुनै पनि व्यक्तिले नीतिलाई समर्थन र पार्टीलाई सहयोग गरे पुग्छ र ऊ आवश्यकीय रुपले एउटा पार्टी संगठनको सदस्य नबने पनि हुन्छ भन्ने मार्तोवको प्रस्तावको विरोध गर्दै लेनिनले पार्टीको काम कार्यवाहीमा लागु हुनुपर्ने र सबै कम्युनिष्टहरुले मान्नुपर्ने एउटा महत्वपूर्ण सिद्धान्तको प्रतिपादन गरे । उनले लेखेका छन् –“…प्रत्येक पार्टी सदस्य पार्टीको लागि जिम्मेवार रहन्छ र आफ्नो प्रत्येक सदस्यको लागि पार्टी जिम्मेवार रहन्छ ।” अगाडि उनी भन्छन् “कुनै एउटा पार्टी संगठनको सदस्य नभएका मानिसलाई सदस्यता प्राप्त गर्ने अधिकार दिनु र कुनै संगठनमा नरहेको मानिसको लागि पार्टीलाई जिम्मेवार बनाउनु एकदम खतरनाक र हानीकारक हुनेछ ।”८
उक्त सिद्धान्तअनुसार, पार्टीबाट गरिने कामको लागि प्रत्येक सदस्यले जिम्मेवारीको वोध गर्नुपर्छ भने आफ्नो प्रत्येक सदस्यले जे जस्तो काम गर्छ, त्यसको लागि पार्टीले जिम्मेवारी लिनुपर्छ । यो संगठनसम्बन्धी एउटा महत्वपूर्ण लेनिनवादी सिद्धान्त हो ।

सदस्यतासम्बन्धी लेनिनको उपरोक्त सिद्धान्तको आशय के हो भने कम्युनिष्ट पार्टी दह्रो क्रान्तिकारीहरुको पार्टी, श्रमिक जनताको मुक्तिको लागि समर्पित योद्धाहरुको पार्टी रहन्छ र रहनु पर्छ, भन्ने हो । यस उद्देश्य प्राप्तिका लागि पार्टी सदस्यता प्रदान गर्ने काममा बडो सतर्कता र विचार पु¥याउने गरिन्छ । कम्युनिष्ट पार्टीमा हुलका हुल सदस्यता प्रदान गरिंदैन, बरु व्यक्ति व्यक्ति गरेर भर्ना गरिन्छ र भर्ना गर्दा सदस्यताको लागि दरखास्त दिने व्यक्तिको राजनीतिक सोच, उसको आचरण, उसका गुण, आदिको सावधानीपूर्वक जाँच गरिन्छ । यसको अर्थ के हो भने सदस्यता प्रदान गर्ने कामलाई बडो गंभीरताका साथ लिइनु पर्छ, जसले गर्दा पार्टीको गुणमा हानी हुन नजाओस् ।

पार्टी संगठनसम्बन्धी लेनिनको शिक्षामा रहेको एउटा महत्वपूर्ण कुरा के छ भने पार्टीले आफ्ना सदस्यहरुको गुणात्मक शुद्धता र विकासमा बडो चासो राख्नु पर्छ । पार्टीले सदस्य संख्या बढाउने कुरामा मात्र होइन, बरु गुणात्मक बृद्धिमा ध्यान दिनुपर्छ भन्ने उनले जोड दिएका छन् । यस सम्बन्धमा उनको शिक्षा के छ भने पार्टी सदस्यताको गुणात्मक बनौट र स्थितिमा हानि हुने गरी त्यसको संख्यामा कदापी बृद्धि गरिनु हुन्न । उनले लेखेका छन् ः “हामी पार्टीको अचाक्ली बृद्धिबाट सशंकित छांै । किनभने पदलोलुपतावादीहरु र छलीहरुले शासक पार्टीका पंक्तिमा आफूलाई घुसाउन अनिवार्य रुपले सकभर प्रयत्न गर्नेछन् ।”९

सदस्यताको सम्बन्धमा लेनिनले कुन कुरामा जोड दिएका छन् भने पार्टीले क्रान्तिकारी वर्गका सर्वोत्तम तत्वहरुलाई आफूमा समावेश गर्नुपर्छ, र यसरी मात्र सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माण गर्न सकिन्छ । जहाँसम्म पार्टीको सर्वहारा चरित्रको सवाल छ, त्यसको निर्धारण पार्टी सदस्यहरुको सामाजिक मूलद्वारा मात्र हुँदैन, बरु त्यसको निर्धारण पार्टीको राजनीतिक गतिविधि, त्यसको कार्यनीति र त्यसको नेतृत्वद्वारा हुन्छ भन्ने उनले स्पष्ट पारेका छन् । त्यसका साथै, त्यसले अवसरवादी र संशोधनवादीहरुको विरुद्ध संघर्ष गर्छ कि गर्दैन भन्ने कुराबाट पनि त्यसलाई निर्धारित गर्छ । यसबारे कम्युनिष्ट इन्टरनेश्नलका दोस्रो महाधिवेशनमा बोल्दै उनले भनेका छन् ः
“कुनै पार्टी साच्चिकै मजदूरहरुको राजनीतिक पार्टी हो कि होइन भन्ने कुरा मजदूरहरुको सदस्यतामा मात्र भर पर्दैन, बरु सो कुरा त्यसको नेतृत्व गर्ने मानिसहरु र त्यसका कार्यवाही र त्यसका राजनीतिक कार्यनीतिको सारतत्वमा पनि भर पर्छ । यो पछिल्लो कुराले मात्र हाम्रो सामु साँच्चैको सर्वहारावर्गको पार्टी छ कि छैन भन्ने कुरालाई निर्धारित गर्छ ।”
अगाडि उनी भन्छन् ः “…हामी कुनै पार्टीलाई त्यस बेलामा मात्र मजदूरको पार्टी ठान्न सक्छौं, जब सो पार्टी आम जनतासित साच्चिकै गाँसिएको हुन्छ र त्यसले पुराना र एकदमै भ्रष्ट काँतरहरको विरुद्ध, दक्षिणपन्थी अन्धराष्ट्रवादीहरु र जर्मनीका दक्षिणपन्थी स्वतन्त्रहरुको मध्यम स्थिति अपनाउनेहरुका विरुद्ध संघर्ष गर्दछ ।” १० क्रमशः

सन्दर्भ–ग्रन्थ
१. “लेनिनको चरित्र–चित्रण” अंग्रेजी संस्करण, पृष्ठ १३१ बाट उदृत ।
२. लेनिन, “छानिएका रचनाहरु”, अं.सं. भाग १, पृष्ठ ३२६ ।
३. लेनिन, “संकलित रचनाहरु ”, भाग १९, पृष्ठ ४०६ ।
४. लेनिन, “संकलित रचनाहरु ”, भाग ५, पृष्ठ ४७७ ।
५. लेनिन, “संकलित रचनाहरु ”, भाग ३१, पृष्ठ १८७ ।
६. लेनिन, “संकलित रचनाहरु ”, भाग ५, पृष्ठ ४८० ।
७. लेनिन, “संकलित रचनाहरु ”, भाग १८, पृष्ठ ४५३ ।
८. लेनिन, “संकलित रचनाहरु ”, भाग ६, पृष्ठ ५०३–४ ।
९. लेनिन, “संकलित रचनाहरु ”, भाग ३१, पृष्ठ ४७ ।
१०. लेनिन, “संकलित रचनाहरु ”, भाग ३१, पृष्ठ २५७–२५९ ।