काठमाडौंलाई २१ रनले पराजित गर्दै टिम चौराह धनगढी लगातार दोस्रो पटक डिपिएलको विजेता

काठमाडौंलाई २१ रनले पराजित गर्दै टिम चौराह धनगढी लगातार दोस्रो पटक डिपिएलको विजेता

धनगढी, चैत ३० । लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि टिम चौराह धनगढीले जितेको छ । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा काठमाडौंलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि कब्जा गरेको हो ।

धनगढीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनम समेटियो । काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रनको योगदान दिएका थिए । उनले ३९ बलमा ७ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ३०, सन्नी पटेलले २२, नरेश बुढाएरले १९, पुष्प थापाले १५ रनको योगदान दिएपनि अन्यको प्रदर्शन सम्झन लायक भएन ।

काठमाडौंलाई १६० रनमा समेटन धनगढीका ललित भण्डारीले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै रोहन मुस्तफाले २ तथा सम्सेद शेख र योगेन्द्रसिंह कार्कीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको हो । उसका लागि सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । धमलाले सर्वाधिक ७८ रनको योगदान दिए । उनले ६३ बलमा ८ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै मुस्तफाले ६० रन बनाए । उनले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

पहिलो विकेटका रुपमा अस्फाक अहमदलाई ४ रनमा गुमाएको धनगढीले त्यसपछि भने उत्कष्ट ब्याटिङ गरेको थियो । धनगढीका सोनु तामाङ ० रनमा आउट हुँदा कप्तान सोमपाल कामीले नटआउट ८ रन बनाए ।

बलिङतर्फ काठमाडौंका सुवोध भाटीले दुई तथा सन्नी पटेलले एक–एक विकेट लिए । धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । जितसँगै धनगढीले २५ लाख प्राप्त गर्दा उपविजेता काठमाडौंले १५ लाखमा चित्त बुझायो ।