सिरहा । पार्टी निकट क्रान्तिकारी युवा लिग नेपाल, प्रदेश नं. २ स्थरी युवा जागरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले २०७४ चैत्र २३ गते सिरहा जिल्ला, धनगढी नगरपालिका वडा नं. खुट्टीखोलामा उद्घाटन गर्नु भएको छ । उद्घाटन मन्तव्य दिंदै किरणले क. माओले युवाहरुलाई सम्बोधन गर्दै भनेको “संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरु कै हो । शक्ति र चेतनापूर्ण तिमी युवाहरु बिहान आठ–नौं बजेको सूर्य झै जीवनको फक्रंदो बेलामा छौं । हाम्रो आशा तिमीहरुमै रहेको छ । ………संसार तिमीहरुको हातमा छ । चीनको भविष्य तिमीहरुकै हातमा छ ।” भन्ने उक्ति स्मरण गराउँदै हाम्रो देशमा पनि तपाई क्रान्तिकारी युवाहरुको काँधमा ठूलो जिम्मेवारी आई सकेको छ, तपाईहरुले त्यो जिम्मेवारी बोक्नका लागि मानसिक रुपमा र शारीरिक रुपमा समेत तन्दुरुस्ति हुन जरुरी छ, भन्ने धारणा राख्नु भएको थियो ।
नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खाएको छ, महान् जनयुद्धका सम्पूर्ण उपलब्धीहरु प्रतिक्रियावादीहरुलाई बुझाएर प्रचण्डले अक्षम्य अपराध गरेका छन् । के.पी. ओली र प्रचण्ड प्रतिक्रियावादीको सत्तामा पुगेर सामाजिक फाँसीवादी बन्ने तरखर गर्दै छन् । विगतमा भारतसँग गरिएका असमान सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने वचन दिएर भारत भ्रमणबाट फर्केका के.पी. ओलीले गम्भीर प्रकारका राष्ट्रघात गरेका छन् । मुलुकमा प्रतिकालको समय पैदा भएको, मुलुक इतिहासमै संकटग्रस्त बन्दै गइरहेको छ, बेरोजगार र अभावले सिमा नाघी सकेको छ, करीब एक करोड नेपाली युवाहरु रोजगारीको लागि विदेशीन बाध्य भइरहेका छन्, राष्ट्रिय स्वाधिनता धरापमा पर्दै गएको छ, जनताको जीवनयापनका समस्याहरु विक्राल बन्दै गइरहेका छन् । देशले स्वाधिनता चाहेको छ, जनताले मुक्ति चाहिरहेका छन् । यस प्रकारका समाधान गर्नका लागि महान नेपाली जनवादी क्रान्तिको विकल्प छैन । यो क्रान्तिको कार्यभार पुरा गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । इतिहासले सुम्पेको यो ऐतिहासिक जिम्मेवारी पुरा गर्नका लागि तपाई जस्ता क्रान्तिकारी युवाहरुको विकल्प छैन । त्यसो भएर तपाई युवाहरु यो महान् नेपाली नयाँ जनवादी क्रान्तिको महान अभियानमा जोस, जाँगर, उत्साह र उच्च मनोबलका साथ लामबद्ध हुन तयार हुनुहोस् भन्दै निर्देशनात्मक मन्तव्य राख्नु भयो ।
उक्त युवा जागरण तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नं. २ का सबै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । क्रान्तिकारी माओवादीको केन्द्रीय पार्टी स्कुल विभागका सचिव हस्तबहादुर के.सी.ले माक्र्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवाद, माक्र्सवादी ज्ञान–सिद्धान्त र ऐतिहासिक भौतिकवाद समेत) र वैज्ञानिक समाजवादका बारेमा प्रशिक्षण दिनु भयो ।
यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का पी.वी.एम सिताराम तामाङले राजनीतिक अर्थशास्त्र (माक्र्सवादीय अर्थशास्त्र)का विषयमा प्रशिक्षण दिनु भयो । प्रशिक्षकद्वय सौरव कायस्थ र आकासबाट कराँते, लाठी चलाउने खेल तथा शारीरिक व्यायामको तालिम दिनु भएको थियो ।
उक्त कार्यक्रममा सिरहा जिल्लाका नेकपा (माके) का जिल्ला समितिका सदस्यहरु लाहान नगरपालिका वडा नं. १६ का मान बहादुर तामाङ्ग जिल्ला समिति, धनगढी माई न.पा. १४ का गौरव बहादुर तामाङ्ग जि.स., कंश लाल तामाङ्ग जि.स., लालध्वज तामाङ्ग जि.स., नन्दलाल मगर, धनगढी माई न.पा. १२ का विजला ठाकुर जि.स. आदिले पार्टी परित्याग गरि नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गर्नु भएको थियो । यो क्रान्तिकारी धु्रवीकरणमा सामेल भएका कमरेडहरुले महासचिव क. किरणले अविरको टिका लगाई स्वागत गर्नु भएको थियो ।
२०७४ चैत्र २३ गते देखि शुरु भएको उक्त प्रशिक्षण कार्यक्रम चैत्र २७ गते समापन गरिएको थियो । त्यस प्रशिक्षण कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. २ का संयोजक कृष्णसिंह देव दनुवार, पी.वि.एम. कमल चौधरी, केन्द्रीय सदस्यहरु महेश यादव, माकेमा पि.बी.एम रहेर त्यसबाट विद्रोह गरि क्रान्तिकारी माओवादीमा प्रवेश गर्नु भएका रामनारायण सिंह समेतको उपस्थिति रहेको थियो ।
यस प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमको सभापतित्व क्रान्तिकारी युवा लिग नेपाल प्रदेश नं. २ का संयोजक दिपेन्द्र महतोले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शम्भु शाहले गर्नु भएको थियो ।