२७ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त गरेको छ भने सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।
आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की आकांक्षी थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।
सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए । बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउने भएका छन् ।