सुनसरी । एमाले र माओवादी केन्द्रले नयाँ जनवादी क्रान्ति पूरा भयो भनेर जनतामा भ्रम छरिरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले नेपालमा नयाँ जनवादी क्रान्ति नै नभएको बताउनु भएको छ । क्रान्तिकारी माओवादी सुनसरीले मंगलबार आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो ।

संसदीय व्यवस्थाका विरुद्ध लडिएको दशवर्षे जनयुद्धले नेतृत्वले दिएको धोका र गद्दारीका कारण गम्भीर धक्का खान पुगेपछि मुलुकमा मरणासन्न अवस्थामा पुगेको संसदीय व्यवस्थालाई पुनर्जीवित गरेको भन्दै महासचिव किरणले भारतसँग गरिएका असमान सन्धिसम्झौताहरु कायमै रहेको, व्यापार घाटा चुलिएको, जनसंख्याको तीनभागको एक भाग युवाहरु विदेश पलायन भएको, रेमिटेन्सले राज्य चलेको, मौलिक अधिकारहरु (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायतका) जनताले नपाउनु, शिक्षा र स्वाथ्यजस्तो क्षेत्रमा समेत व्यापारीकरण बढ्नु, कानुनविना नै संरचनाहरु बनाउनु, देश साम्राज्यवादीहरुको अधिनमा रहन पुग्नु आदि अवस्था रहेकोले जनवादी क्रान्ति नभएकाे तथ्यहरु प्रस्तुत गर्नुभयो ।

“क्रान्ति भनेको राज्यसंयन्त्रलाई पूरै बदल्ने हो । तर यहाँ राज्यसंयन्त्रमा कुनै परिवर्तन आएको छैन । नयाँ जनवादी क्रान्ति भएकै छैन । नयाँ जनवादी क्रान्ति अपरिहार्य छ । गर्नुपर्छ । सम्भव छ ।”, महासचिव किरणले भन्नुभयो, “संशोधनवादी र अवसरवादीहरुले भ्रमलाई चिरेर अगाडि बढ्नु पर्छ । क्रान्तिको घनिभूत तयारी गर्नुपर्छ । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अब क्रान्तिको प्रक्रियालाई घनिभूत रुपमा अगाडि बढाउनु पर्छ ।”

भारतसँग गरिएका सन् पचासलगायत सबै सन्धिसम्झौताहरुको खारेज नगरी नेपालले केही पनि गर्न नसक्ने र केही पनि हुन नसक्ने दावी गर्दै महासचिव किरणले ठूला र मुख्य जलविद्युत अयोजनाहरु भारतलाई सुम्पेर मुलुकको आर्थिक समृद्धिको सपना बाँढ्नु भनेको जनतालाई बेवकुफ बनाउनु मात्रै भएको बताउनु भयो ।

कार्यक्रममा पार्टीलाई एमालेमा विलय गराउन लागेको भन्दै माओवादी केन्द्र परित्याग गरी विनोद खड्काको नेतृत्वमा जिल्लाका नेता कार्यकर्ताहरु क्रान्तिकारी मओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई महासचिव किरणले अवीर लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार