कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी) ७ नं. प्रदेशले भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमिको निरीक्षण तथा राष्ट्रियतासम्बन्धी जागरण अभियानको बुधबार कैलालीको टिकापुर–९ खक्रौलामा उद्घाटन गरेको छ । अभियानको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ७ नं. प्रदेश संयोजक रामबहादुर केसीले उद्घाटन गर्नुभएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा ७ नं. प्रदेश संयोजक रामबहादुर महरा‘चिन्तक’को अध्यक्षतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा नेताहरुले भारतीय पक्षबाट कैलालीको टिकापुर–खक्रौलामा सीमा अतिक्रमण गरिएको भन्दै त्यसको चर्को विरोध गरेका छन् ।
प्राप्त समाचार अनुसार पर्साको छपकैयामा जस्तै खक्रौलामा पनि नेपाल र भारतका प्रतिनिधिहरु सम्मिलित सीमा सर्वेक्षण टोलीले नेपाली भूमि मिचेको र बर्षौदेखि नेपालीले प्रयोग गर्दै आएको नपाल तर्फको बाटोमा ल्याएर एसएसबीको चेकपोष्ट राखिएको र उक्त स्थानमा नेपालीहरु हिक्मत साउदलगायतका नेपालीले संचालन गर्नै आएका पसलहरु समेत हटाइएको अखिल (क्रान्तिकारी)का नेता महराले जानकारी दिए । भारतीय पक्षले सीमामा गरेको ज्यादती, नेपाली भूमि अतिक्रमण, सीमाका नेपालीहरुसँग अन्तक्र्रिया गर्दै राष्ट्रियतासम्बन्धी जनजागरणका निम्ति अभियान सुरु गरेको पनि नेता महराले मूलबाटोलाई बताए ।
अभियानको अवधिमा विवादित क्षेत्रमा सीमा अवलोकन तथा निरीक्षण गर्ने, विद्यार्थी, युवा, बुद्धिजीवीलगायत सीमाका जनताहरुसित भेटघाट तथा अन्तरक्रिया गर्ने र कोणसभा तथा विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको छ ।
राष्ट्रिय र पार्टी तथा संगठनको झण्डा अभियान टोलीलाई दिएर उद्घाटन गरिएको अभियानको संचालन तारादल पन्तले गरेका थिए भने केशव साउदले स्वागत मन्तव्य राखेका थिए । विध्यार्थी नेता महरा नेतृत्वको अभियान टोलीले प्रदेश नं. ०७ मा रहेका सीमा क्षेत्रहरु कैलाली , कञ्चनपुर, डडेल्धुरा, बैतडी हँुदै दार्चुला जिल्लाका सीमाहरुको निरीक्षण गर्नेछ ।