
काठमाडौं । शुक्रबारदेखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झौताहरु कार्यान्वयनको कमस खान दिल्ली भ्रमण गर्न लागेको प्रम ओली आफैले प्रष्ट पारेको दावी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले दावी गर्नु भएको छ । अध्यक्ष गजुरेलले ओलीले विगतमा गरिएका अपर कर्णाली, महाकाली, कोशी उच्चबाँध, अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौताहरु लागू गराउने कसम खान दिल्ली भ्रमण गर्न लागेको दावी गर्नुभएको छ ।

अध्यक्ष गजुरेलले बुधबार आफ्नो फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै लेख्नुभएको छ, “केपी ओलीको भारत भ्रमणको यथार्थ अब प्रष्ट भएको छ । अरुण तेस्रोको दिल्लीबाटै मोदीसँग संयुक्त रुपमा गरिने कार्यक्रम, अपर कर्णाली, महाकाली, कोशी उच्च बाँध आदि अनगिन्ती राष्ट्रघाती सम्झौताहरुलाई लागू गर्ने कसम खान यो दिल्ली भ्रमण हुँदै रहेछ भन्ने कुरा उनैले प्रष्ट पारेका छन् ।” ओलीको यो भ्रमणबाट उनको देशभक्ति उदांग भएको भएको भन्दै अध्यक्ष गजुरेलले लेख्नुभएको छ, “ओलीको भ्रमणले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको नयाँ अध्याय सुरु हुनेछ ।”
प्रम ओलीले मंगलबार मात्र आफ्नो भारत भ्रमण विगतका सम्झौता र प्रतिबद्धता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने बताएका थिए । उनले मंगलबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै भारत भ्रमणको उद्देश्य, एजेण्डा र औचित्यबारे जानकारी दिएका थिए । सन् पचासको सन्धिलगायत पूर्व प्रधानमन्त्री पुष्पकमदल दाहाल‘प्रचण्ड’ले गरेको २५ बुँदे सम्झौतालगायत सबै राष्ट्रघाती सम्झौता कार्यान्वयन हुने हो भने नेपाल भुटानीकरण हुँदै सिक्किमीकरणको दिशातर्फ उन्मुख हुने देशभक्त तथा क्रान्तिकारी शक्तिले यसको विरोध गर्दै आएका छन् ।