बंगलादेशी नागरिक उड्डयनमन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौंमाः साढे पाँच बजे ‘ब्रिफिङ’

बंगलादेशी नागरिक उड्डयनमन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौंमाः साढे पाँच बजे ‘ब्रिफिङ’

काठमाडौं, फागुन २९ । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश नागरिक उड्डयनमन्त्रीसहित १७ जनाको टोली काठमाडौं आइपुगेका छन् ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आइपुगेका हुन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार उनीहरु आज २ः१५ मा विमानस्थल आइपुगेका हुन् । क्षेत्रीले बताए, ‘आज साढे पाँच बजे होटल याक एण्ड यतिमा बंगलादेशको मन्त्रीस्तरीय टोलीलाई दुर्घटनासम्बन्धी ब्रिफिङ गर्नेछौँ ।’

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।