काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (ऋषि कट्टेल) बीच कार्यगत एकताको सहमति भएको छ । यी पार्टीहरुबीच राष्ट्रियता र जनजीविकाका विषयमा कार्यगत एकताको सहमति भएको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले जानकारी दिनुभयो ।
मंगलबार क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव मोहन वैद्य‘किरण’ र स्थायी समिति सदस्य रामसिंह श्रीस र, नेकपाका अध्यक्ष ऋषि कट्टेल, स्थायी समिति सदस्य लोकनारायण सुवेदी र रामबहादुर भण्डारीबीच भएको अनौपचारिक छलफलमा राष्ट्रियता र जनजीविकाको विषयमा कार्यगत एकता गरेर जाने विषयमा सहमति भएको छ । छलफलमा कार्यगत एकताकै बीचबाट पार्टी एकताको आधार निर्माण गर्दै जाने विषयमा पनि सहमति भएको नेता श्रीसले बताउनु भयो । उक्त अनौपचारिक बसाइमा दुवै पार्टीबीच आ–आफ्नो पार्टीको दस्ताबेज आदान प्रदान भएको छ ।
त्यसैगरी क्रान्तिकारी माओवादीका महासचिव किरण र नेकपा (विप्लवं)का स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’बीच भएको छलफलमा राष्ट्रियता, जनजीविकासँग सम्बन्धित विषय लगायत फाल्गुन १ को जनयुद्ध दिवस संयुक्त रुपमा मनाउने गरी छलफल भएको छ । छलफलमा पनि कार्यगत एकतासँगै पार्टी एकताको आधार निर्माण गर्दै जाने विषयमा पनि कुरा भएको छ ।
उता मोहन विक्रमसिंह नेतृत्वको नेकपा (मसाल)सँग पनि छलफल जारी रहेको र यही हप्ता क्रान्तिकारी माओवादी र मसालको वार्ता टोलीबीच बसाइ हुने र त्यसले कार्यगत एकताको विषयमा सहमति खोज्ने पनि क्रान्तिकारी माओवादीका नेता श्रीसले जानकारी दिनुभयो ।