बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सदस्य तथा सम्पन्न प्रदेशसभा निर्वाचनमा देशभक्त जनणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेका देवीराम आचार्यको छोरा बर्ष १८ का बालकृष्ण आचार्यको हत्या गरेर खेतमा फालिएको अवस्थामा शव भेटिएको छ ।
१५ माघमा स्थानीय छिमेकी रामबहादुर थारुको घरमा भएको विवाहमा गएका आचार्य घर नआएपछि परिवारले स्थानीय प्रशासनमा खोजीका लागि उजुरी गरेका थिए । खोजी भइरहेको अवस्थामा आचार्यको घर नजिकै बुधबार साढे ४ बजे लालबहादुर थारुको खेतमा आँखामाथि चोट लागेको र मुखबाट रगत बगेको अवस्थामा आचार्यको शव प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा ३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको भए पनि उनीहरुको बारेमा प्रहरी कार्यालयले केही खुलाउन मानेन ।
हत्या गरिएका आचार्यका बुवा देवीराम आचार्यले छोराको हत्या षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै हत्यारामाथि कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । क्रान्तिकारी माओवादीको स्थानीय पार्टी र स्थानीयबासीले अनुसन्धानमा प्रहरीको भूमिका समेत शंकास्पद् रहेको र जनसर्वसाधारणको असुरक्षा बढेको भन्दै प्रहरी प्रशासनको विरोध समेत गरेका छन् ।