दलाई लामाविरोधी दोर्जे सुग्देन समूहको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

दलाई लामाविरोधी दोर्जे सुग्देन समूहको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । दलाई लामाविरोधी दोर्जे सुग्देनहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्रिय दोर्जे सुग्देन समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे सुग्देन सम्मेलन) बिहीबारबाट सुरु भएको हो । तिब्बती सम्प्रदाय कग्युपा, शाक्यपा, मिङ्मापा, गेलुक्पामध्ये सुग्देनहरु दलाई लामाको गेलुक्पा सम्प्रदायकै भएपनि प्रार्थना गर्ने र नगर्ने समूहबीच अन्तरविरोध रहँदै आएको छ । सुग्देनहरुले लामो समयदेखि बौद्ध परम्परा अनुसार प्रार्थना गर्न पाउनु पर्ने मत राख्दै आएका छन् । उनीहरुले दलाई लामाले धर्मको आडमा राजनीति गरेको समेत आरोप लगाउँदै आएका थिए । पहिलो चोटी उनीहरुले धर्मलाई राजनीतिबाट मुक्त गरी विशुद्ध धार्मिक आस्थाका आधारमा विश्वभर छरिएर रहेका दोर्जे सुग्देन धर्मावलम्बीहरुलाई एकजुट बनाएर बौद्ध धर्मको प्रचारलाई विश्वव्यापी बनाउने उद्देश्य सम्मेलनको रहेको आयोजक संस्था नेपाल राष्ट्रिय दोर्जे सुग्देन समाजले जनाएको छ ।

काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा शुरु भएको सो सम्मेलन तीन दिनसम्म चल्ने नेपाल राष्ट्रिय दोर्जे सुग्देन समाजका संयोजक बसुन्धरा श्रेष्ठले जानकारी दिइन् । सम्मेलनको रक्षामन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरेका थिए भने पूर्वमन्त्री शकर प्रसाद कोईरला र एमाले सभासद कृष्ण गोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दोर्जे सुग्देन समाजको नेपाल संयोजक बसुन्धारा श्रेष्ठले दलाई लामा र आफूहरु बीच सन् १९६० देखि नै एक आपसमा विवाद रहेको बताउँदै आफूहरुले दलाई लामालाई नमान्ने गरेको दावी गरिन् ।

विश्व शान्ति, धार्मिक स्वतन्त्रता तथा मानव अधिकारबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजित सम्मेलनबाट एक प्रतिवेदन पारित गरी विश्वको ध्यानाकर्षण गराउने योजना रहेको पनि श्रेष्ठले बताइन् । सम्मेलनमा ८० देशबाट ३ सयभन्दा बढीको सहभागिता रहने पनि उनले जानकारी दिइन् ।

सम्मेलनमा इटालीबाट प्रतिनिधित्व गर्दै आएका धर्म गुरु गेशे कुनचेक ग्याल्सेनले दलाई लामाले दोर्जे शुग्देन धर्मलाई विभिन्न हिसाबले विरोध र निषेध गरेकाले आफुहरु धार्मिक स्वतन्त्रताका लागि लडाईं लडिरहेको बताए । गेलुक्पाभित्र दोर्जे सुग्देनहरु दलाई लामा नमान्ने समूह हो । यो समूहलाई चीन निकटको धार्मिक समूहको रुपमा हेर्ने गरिएको छ ।