काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्ना उम्मेदवारहरुलाई मतदान गर्ने जनसमुदायलाई धन्यवाद दिंदै चुनावी परिणामका विषयमा मतदाताले वाम गठबन्धनको जनविरोधी र प्रतिक्रियावादी चरित्रलाई ठिकसँग बुझ्न नसकेको पाइएको जनाएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक प्रेस वक्तव्य जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कालोधनको खोलो बगाएर जनताको मतलाई पैसाले किन्ने काम सर्बत्र भएको पाइएको दावी समेत गरेको छ ।
सोमबार जारी गरेको वक्तव्यमा यसका साथै जनतालाई झुक्याउने, ठग्ने, घेरावन्दी गर्ने, अपहरण गर्ने जस्ता काम पर्याप्त मात्रामा भएको उल्लेख गर्दै यो मत परिणामलाई जनताले स्वच्छ किसिमले व्यक्त गरेको मतका रुपमा ग्रहण गर्न सक्ने स्थिति नभएको ठहर गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “नेपालको इतिहासमा लामो कालखण्डदेखि शासन गर्दै आएको नपाली काँग्रेस र यसको नेतृत्वको गठवन्धनलाई प्रतिकृयावादी शक्तिका रुपमा मतदाताले पहिचान गर्न सफल भएको पाइयो । त्यो राम्रो पक्ष हो । तर झण्डै त्यही किसिमको कथित वामपन्थी गठवन्धनको जन बिरोधी र प्रतिकृयावादी चरित्रलाई मतदाताले ठिकसँग बुझ्न नसकेको पाइयो । जसका कारण मतदाताले सही पक्षमा मतदान गर्न सकेनन् । त्यो नराम्रो पक्ष हो ।”
वक्तव्यमा अगाडि भनिएको छ, “ठूलो क्रान्तिकारी आन्दोलनप्रति विश्वासघात पश्चात् भएको प्रतिक्रान्तिका कारण जनतामा पैदा भएको निराशा र क्रान्तिकारीहरुका लागि अत्यन्त प्रतिकुल परिस्थितिमा पनि विभिन्न प्रकारका धम्की, प्रलोभन आदिको सामना गर्दै ने.क.पा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रत्यासी उम्मेदवारहरुको पक्षमा मतदान गर्ने आदरणीय मतदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । निर्वाचनको परिणाम जस्तोसुकै आएको भए पनि हामी सँधै नेपाली समाजको आमुल परिवर्तन गर्ने नेपाली जनताको चाहना र ऐतिहासिक आवश्यकतालाई पुरा गर्ने तथा राष्ट्रिय स्वाधिनताका पक्षमा दृढतापूर्वक उभिईरहने प्रतिवद्धता पुनः जांहेर गर्दछौं ।”





























