१४ मंसिर, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन् ।
मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडिपी) को प्राविधिक सहयोगमा मन्त्रालयले स्थानीय तहलाई डिजिटल प्लाटफर्ममा ल्याएको हो । सरकारले पाँच वर्षभित्र सबै स्थानीय सरकारलाई सूचना प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको एकीकृत वेबसाइटमा स्थानीय तहको इन्ट्र्या्क्टिभ म्याप, आँकडा एवं स्थानीय तहमा आइपर्ने सूचना प्रविधिसम्बन्धी ब्लग समावेश छन् । मोबाइल एप भने इन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुनेछ ।
राज्य पुनःसंरचनामा जाने निश्चित भएपछि मन्त्रालयले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा स्थानीय तहलाई डिजिटलाइज गर्न सन् २०१३ मा १३३ जा आइसिटी स्वयंसेवक नियुक्त गरेको थियो । त्यही बेलादेखि मन्त्रालयले तत्कालीन जिल्ला विकास समिति एवं नगरपालिकाहरुको विवरणलाई डिजिटलाइज्ड गर्न थालेको थियो । संविधानअनुसार गत वर्ष स्थानीय तह पुनःसंरचना भएपछि थप काम सम्पन्न गरिएको हो ।
मन्त्रालयका सूचना, प्रेस विज्ञप्ति एवं परिपत्र साइटमा उपलब्ध छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतहरुको सम्पर्क विवरण समेत राखिएको छ