काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले वाम र लोकतान्त्रिक गठबन्धनका दलहरुले सत्ता र पैसाको आतंक खडा गरेको टिप्पणी गर्नुभएको छ । क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट काठमाडौं–१० मा प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका क्रान्तिकारी माओवादीका युवा नेता सुरेश श्रेष्ठले आयोजना गरेको चुनावी भेटघाट तथा अन्तक्र्रियामा महासचिव किरणले यस्तो टिप्पणी गर्नुभएको हो ।

कीर्तिपुर पाँगाको पाँगा पार्टी भेन्यूमा बुधबार विहान स्थानीय जनतासँग गरिएको उक्त अन्तक्र्रियालाई सम्बोधन गर्दै महासचिव किरणले प्रतिक्रियावादी व्यवस्थाको चुनावलाई माक्र्सवादीहरुले बहिस्कार र उपयोग दुवै गर्ने गरेको प्रसंग उल्लेख गर्दै आफ्नो पार्टीले देजमो मार्फत् निर्वाचनको क्रान्तिकारी उपयोग गरेको बताउनु भयो ।

उहाँले वाम र लोकतान्त्रिक गठबन्धन नाम मात्रका भएको चर्चा गर्दै दुवै गठबन्धन प्रतिक्रियावादी व्यवस्थाका पक्षधर भएको प्रष्ट पार्नु भयो । प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले वाम गठबन्धनतर्फ इङ्गित गर्दै उनीहरुले जिते देशमा अधिनायकवादी शासन आउने भनेर हल्ला गर्नुको कुनै अर्थ नरहेको चर्चा गर्नुभयो ।

मुलुकमा नयाँ जनवादी व्यवस्थाको स्थापना नभएसम्म मुलुकमा श्रमजीवी जनताको वास्तविक मुक्ति र स्वतन्त्रता सम्भव नहुने भन्दै उहाँले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा लागेको दावी गर्नुभयो । अहिले हाम्रो पार्टी सानो भएपनि क्रान्तिको प्रक्रिया अगाडि बढाउै लगेपछि क्रान्तिकारीहरु ध्रुवीकृत हुँदै जाने र पार्टी फेरि विशाल बनेर जाने पनि उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं–१० का प्रतिनिधिसभाका उम्मेदवार सुरेश श्रेष्ठले कीर्तिपुर क्रान्तिकारी इतिहासको गर्विलो विरासत बोकेको थलो भएको चर्चा गर्दै दशवर्षे जनयुद्धमा उपत्यकाभित्र कीर्तिपुरले आधारभूमिको भूमिका खेलेको प्रसंग कोट्याए र भन्नुभयो, “त्यही दशवर्षे जनयुद्धको र विगतका सबै क्रान्तिकारी आन्दोलनको इतिहासको रक्षा र सम्मान मात्रै होइन, आमूल परिवर्तनको अबरुद्ध प्रक्रियालाई अगाडि बढाउनका निम्ति पनि मैले उम्मेदवारी दिएको हुँ । मलाई विश्वास छ कीर्तिपुर र यो १० नं. निर्वाचन क्षेत्रका सबै जनताले “मुठ्ठी” चिन्हमा मतदान गरेर आफ्नै इतिहासप्रति सम्मान व्यक्त गर्नुहुनेछ ।”

क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन‘आकाश’ले सञ्चालन गरेको कार्यक्रममा समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार सूर्यबहादुर नकर्मीले कीर्तिपुरका जनताले टुरिष्ट उम्मेदवारलाई होइन आफ्नै भूमिमा जन्मि हुर्केको एउटा उदयीमान प्रभावशाली युवालाई मतदान गरेर आफैप्रति न्याय गर्नेछन् र वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहिस्कार गर्नेछन् भन्नुभयो । काठमाडौं–१० क) का उम्मेदवार रमेश महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीस, देजमोका कार्यालय सदस्य तथा ३ नं. प्रदेशका संयोजक, अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष इश्वरचन्द्र ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर