सीमामा संयुक्त गस्ती

सीमामा संयुक्त गस्ती

मोरङ, मंसिर १२ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सीमा सुरक्षा कार्यालय मोरङ, नेपाल प्रहरी र भारतीय एसएसबीले आइतबारदेखि दशगजामा संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् ।

सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेष साहले जिल्लामा आपराधिक घटना हुन नदिन र भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सघन रूपमा संयुक्त सुरक्षा गस्ती थालिएको बताए । ‘यसअघि पनि दुई देशबीचको सम्बन्ध सुधार, आपराधिक गतिविधि, चोरी पैठारी, लागूऔषध नियन्त्रणका लागि नियमित सशस्त्र र भारतीय एसएसबीको संयुक्त गस्ती हुँदै आएको थियो,’ उनले भने, ‘अहिले निर्वाचनलाई लक्षित गरी खुला सिमाना उपयोग गरेर आपराधिक समूहलाई कुनै किसिमको गतिविधि गर्न नदिन व्यापक र सघन रूपमा संयुक्त सुरक्षा गस्ती गरिएको हो ।’

उनले मोरङको भारतसँग जोडिएको पूर्व–पश्चिम ४५ किमि दक्षिणी सीमामा निर्वाचन अवधिभरि व्यापक र सघन रूपमा संयुक्त गस्ती भइरहने सुनाए । यसले चोरी पैठारी, लागूऔषधलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि समेत प्रभावकारी हुने उनले बताए ।