कमरेड पाख्रिन आस्था र निष्ठाका युगीन व्यक्तित्व : इच्छुक प्रतिष्ठान

कमरेड पाख्रिन आस्था र निष्ठाका युगीन व्यक्तित्व : इच्छुक प्रतिष्ठान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली अध्यक्ष रहेको इच्छुक साँस्कृतिक प्रतिष्ठानले मंगलबार दिवंगत हुनुभएका जनगायक खुशीराम पाख्रिनप्रति बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै जनकलाकार पाख्रिनलाई आस्था र निष्ठाका युगीन व्यक्तत्वको संज्ञा दिएको छ ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानसँगै अखिल नेपाल जनसाँसकृतिक महासंघ, अखिल नेपाल जनकलाकार संघ र अखिल नेपाल लेखक संघको नाममा संयुक्त रुपमा जारी श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “नेपाली प्रगतिवादी गीत संगीतको क्षेत्रमा अहम् योगदान दिएका क.खुसीराम पाख्रिन जनयुद्धको महान् प्रक्रियामा सहभागी भई निरन्तर क्रान्तिकारी धारालाई पक्रेर अविच्छिन्न यात्रामा यात्रारत सौन्दर्य साधक हुनुहुन्थ्यो । कालोबनको बीचैमा खेतालाको गाँउ … हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाँऊ, गैतीबेल्चा उचालेर, फाटेको जालैले छेकेको, सागर तर्ने यात्रीहरु खुट्टा काम्नु हुन्न जस्ता कालजयी गीत लेखेर सर्वहारावर्गको उन्मुक्तिका लागि सिंगै जीवन समर्पण गर्नु भयो । देश विदेशका अनेक गाँउ, क्षेत्र र गरीब श्रमजीवीका बीचमा आफ्ना गीतले क्रान्ति र परिवर्तनको सन्देश प्रवाहित गर्दै पाख्रिनले गीत, साहित्य, चिन्तन तीनै क्षेत्रमा अमूल्य योगदान पु¥याउनु भएको छ ।

जनयुद्ध र यसका सपनाको बीचैमा समाप्ति र प्रतिक्रान्तिका नायक पनि क्रान्तिकै नायक बन्ने स्थितिलाई वहाँले जोडदार विरोध गर्नु भएको छ । जनसाँस्कृतिक महासंघ, जनकलाकार संघ र इच्छुक साँस्कृतिक प्रतिष्ठान जस्ता साँस्कृतिक संस्थाको नेतृत्व गर्दै वहाँ वर्तमानमा पार्टीको केन्द्रीय सल्लाहकारका रुपमा निरवच्छिन्न क्रियाशील साँस्कृतिक यात्री रहिरहनु भयो । उहाँको असमयमै अचानक कार्य क्षेत्रमै हृदयघातबाट भएको मृत्यु जनवादी साँस्कृतिक आन्दोलनका लागि एउटा अपुरणीय क्षति नै हो । साँचो अर्थमा क. पाख्रिन जनवादी आन्दोलनका एक निष्ठा र आस्थाका युगीन व्यक्तित्व हुनुहुन्थ्यो ।

संगीत क्षेत्रका एक धरोहर÷उहाँको अल्पायुमै भएको यो मृत्युले हामीलाई स्तम्भित पारेको छ । स्तब्ध तुल्याएको छ । क.खुसीराम पाख्रिनलाई श्रद्धान्जली र परिवारजनमा शोकाञ्जली र सम्वेदना प्रकट गर्दछौं । खुसीराम पाख्रिनलाई सही श्रद्धान्जली उहाँका गीत, कविता विचारमा पोखिएका सपनालाई पुरा गर्ने क्रान्तिकारी यात्रामा समाहित भएर मात्र हुनेछ । अलविदा प्रिय कमरेड खुसीराम पाख्रिन ।”