धरान। नेकपा (क्रान्तिकारी माओवादी) सुनसरी जिल्लाका सदस्य सूर्य राईलाई प्रहरीले रिहाई गरिएको दुईदिन नवित्तै पुनः पक्राउ गरी वेपत्ता पारेको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज मनोज श्रेष्ठले दिएको जानकारी अनुसार राईलाई मंसिर ५ गते वेलुका ९ वजे धरान ईलाका प्रहरी कार्यालयले पक्राउ गरी ६ गते विहान १० बजे छाडेको थियो । तर पुनः ७ गते बेलुका ७ बजे प्रहरीले पक्राउ गरी वेपत्ता वनाएको छ ।
नेता श्रेष्ठ भन्छन्, “उहालाई किन पुनः पक्राउ गरियो ? कहाँ र कस्तो अवस्थामा राखिएको छ, त्यो थाहा हुन सकेको छैन ।” पक्राउ परेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलसँग बुझ्दा राईलाई पक्राउ गरिएको बारे आफूलाई थाहा नभएको जानकारी गराएको नेता श्रेष्ठको भनाइ छ । उनले एसपि विद्ययानन्द माझीसँग राईको गिरफ्तारीबारे बुझ्न खोज्दा फोन नउठाएको जनाए ।
सूर्य राई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी ६ महिना अगाडि नै क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनको स्थिति सार्वजनिक गरी बिहीबार विना सर्त रिहा नगरे अदालतमा मुद्दा हाल्ने चेतावानी नेता श्रेष्ठले दिएका छन् ।
राईलाई चुनावमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा शान्तिपूर्ण रुपमा चुनावी प्रचार प्रसारमा खटिइरहेको बेला विनाकारण धरपकड र गिरफ्तारी गरेको थियो । पक्राउ गरेलगत्तै क्रान्तिकारी माओवादीले वक्तव्य निकाली गिरफ्तारीको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको थियो । राई जिल्ला सदस्यका साथै सुनसरी १ नं. निर्वाचन क्षेत्र निर्वाचन परिचालन समितिको सचिवालय सदस्य समेत रहेको क्रान्तिकारी माओवादी सुनसरीले जनाएको छ ।