काठमाडौं, २१ कार्तिक । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षण गर्न ४ अन्तर्राष्ट्रिय र ५२ स्वदेशी संस्थाले स्वीकृति पाएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको सूचीमा उनीहरू परेका हुन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकमा कार्टर सेन्टर, युरोपेली महासंघ, अनकावा इन्टरनेसल र एसियन नेटवर्क फर फ्रि इलेक्सन छन् । महासंघले दुई दर्जनभन्दा बढी पर्यवेक्षक खटाउनेछ भने सेन्टरले आधा दर्जन । अन्य संस्थाले भने तीभन्दा पनि कम प्रतिनिधि खटाउने जनाइएको छ ।
नेपालभित्रका गैरसरकारी संस्था तथा निकायबाट ४४ हजार १ सय ४२ ले पर्यवेक्षण गर्ने भएका छन् । आयोगले केही संस्थालाई प्रदेश पूरै र केहीलाई जिल्लाभित्रको मात्र पर्यवेक्षण गर्ने अनुमति दिएको छ । आयोगले पहिले नै मापदण्ड राखेर पर्यवेक्षण गर्न अनुमति दिने भनेपछि कम संख्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकको उपस्थिति हुने भएको हो । अन्तर्राष्ट्रिय पर्यवेक्षणलाई कुनै पनि केन्द्रीय वा स्थानीय निर्वाचनको अन्तर्राष्ट्रिय तवरको पर्यवेक्षण गरेको र संस्था स्थापना भएको समयसीमासमेत तोकिएको थियो । यसअघि काठमाडौंस्थित दूतावासले समेत पर्यवेक्षणका लागि प्रयास गरेकाले यसपालि मापदण्ड राखिएको हो ।
दूतावासले निर्वाचन अवलोकन गर्न चाहेमा जान चाहेको स्थानसहित परराष्ट्र मन्त्रालयमा आवेदन दिएपछि मन्त्रालयले आयोगसँग समन्वय गरेर स्थान तय गरिदिने र जानेआउने व्यवस्था उनीहरू स्वयंले गर्नुपर्ने उल्लेख छ । अहिलेसम्म काठमाडौंस्थित १६ दूतावासले अवलोकनका लागि इच्छा व्यक्त गरेका छन् ।
यसैबीच युरोपेली महासंघबाट पर्यवेक्षण गर्न आएका मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोबको नेतृत्व टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै निर्वाचन सफलताको कामना गरेको छ । उक्त अवसरमा टोलीले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको थियो ।






























