
सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको हो । मानव जातिको इतिहासमा, विश्वकम्युनिष्ट आन्दोलनको इतिहासमा महान रुसी अक्टुबर समाजवादी क्रान्ति एक युगान्तकारी क्रान्ति थियो, जुन क्रान्ति सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेविक) को नेतृत्व र विश्व सर्वहारावर्गका महान् नेता भ्लादीभिर इल्विचको अगुवाई र निर्देशनमा सम्पन्न गरिएको थियो । विश्व मानव जातिकै इतिहासमा गौरवमय गाथाले भरिपूर्ण यस महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले पहिलो पटक पुँजीवादी राज्य व्यवस्थालाई समूल रूपमा नष्ट गरेर सर्वहारावर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर विश्व सर्वहारावर्गलाई साम्यवादसम्म पुग्ने ढोका खोली दिएको थियो । महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले नयाँ युगको सूत्रपात गरिदिएको थियो । यो गौरवशाली क्रान्तिले पुँजीवादी युगको विनास र वैज्ञानिक समाजवादी युगको निर्माणको सुरुवात गरिदिएको थियो ।
संसारमा इतिहासमा पहिलो पटक मजदूरवर्गको नेतृत्वमा भएको यो क्रान्तिले राज्यव्यवस्थाको भौतिक चरित्रमा नै परिवर्तन गरि शोषक वर्गको स्थानमा शोषित वर्गले राज्यसत्ता कब्जा गरेकाले यसले इतिहासको क्रमलाई नै महान परिवर्तन गरिदिएको थियो । त्यसैले यसलाई महान् अक्टुबर क्रान्ति भनिन्छ । सन् १७८९ मा फ्रान्समा भएको राज्य क्रान्तिले राजतन्त्रात्मक सामन्तवादी युगलाई समाप्त गरि जुन पुँजीवादी युगको स्थापना गरिदिएको थियो तर, अक्टुबर क्रान्तिले त युगलाई नै परिवर्तन गर्ने र इतिहासलाई उलटफेर गर्ने एक महान् क्रान्तिकारी परिवर्तनकारी काम गरेको थियो । यस क्रान्तिले विश्वभरका उत्पीडित राष्ट्र र मुक्तिकामी जनताको हौसला बढाएको थियो । क्रान्ति र परिवर्तन तथा मुक्तिको आशावादलाई बलियो बनाएको थियो र क्रान्तिकारी नैतिकताको मनोबललाई उच्क्च उठाएको थियो भने प्रतिक्रियावादीहरूको मनोबल गिराई दिएको थियो ।




यद्यपि महान् अक्टुबर समाजवादी क्रान्तिबाट निर्माण गरिएको सोभियत मोडेलको समाजवाद माथि प्रतिक्रान्ति भएर रुसमा पुँजीवादको पुनःस्थापना भएको पनि धेरै वर्ष भइसकेको छ । तर रुसी समाजवादमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएर त्यहाँ नग्न तथा विकृति र विसंगतिले भरिपूर्ण एक कुरूप पुजीवादको विकास भइरहेको भएता पनि यस महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको महत्व र त्यसको ऐतिहासिकता अरू बढेर गएको छ । किनकि आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्ग संघर्षको युग भएकाले यस महान् अक्टुबर क्रान्तिको महत्व झनै बढेर गएको छ । महान् लेनिनले संशलेषण गर्नु भएको साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण संघर्षको युगमा कुनै परिवर्तन र फेरबदल भएको छैन । विश्वका सैयौं राष्ट्रहरू स्वाधिनता चाहन्छन्, अरबौं जनताहरू मुक्ति चाहन्छन् । जुन मुक्ति सन् १९१७ अक्टुबर समाजवादी क्रान्तिले सोभियत रुस र सोभियत जनतालाई दिलाएको थियो । र संसारकै एउटा ठूलो भूभाग र जनसंख्यालाई साम्राज्यवादको उत्पीडनबाट मुक्ति दिलाएको थियो । त्यस क्रान्तिले जसको प्रेरणा संसार भरका उत्पीडित राष्ट्र र जनताले अनुभूत गरेका थिए । महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको सफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापनाको प्रभाव विहानीको सूर्यको प्रकास झै उज्यालो छदै विश्वभर फैलियो ।
क्रान्तिका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता माक्र्सवादको आधारभूत सिद्धान्त भित्र पर्दछ । क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कम्युनिष्ट पार्टी क्रान्तिकारीका लागि प्रारम्भिक सर्त भएकाले अक्टुबर क्रान्तिको प्रभावले विश्वभरका उत्पीडित राष्ट्रहरू र मुक्तिकायी जनसमुदायहरूलाई उद्धेलित गरायो । क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकताको महसुस गरायो । राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिका लागि विश्व जनतालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतालाई धनिभूत बनायो ।
महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको प्रभाव विश्वभर फैलियो । कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक लहर नै चल्यो । त्यसपछि एशीया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका लगायत विश्वका कैयन देशहरुमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु निर्माण हुन पुगे जस्तै जर्मन कम्युनिष्ट पार्टी (१९१८), भारतमा– हिन्दुस्तान कम्युनिष्ट ग्रुप (१७ अक्टोबर १९२० रुसमा), भारतीय कम्युनिष्ट पार्टी (सन् १९२८), भियतनामी कम्युनिष्ट पार्टी (१९२०), मङ्गोलियन कम्युनिष्ट पार्टी (१९२०), चिनियाँ कम्युनिष्ट पार्टि (१९२१), जापनीज कम्युनिष्ट पार्टी (१९२२), फिलिपिन्स कम्युनिष्ट पार्टी (१९२४), इन्डोनेसियन कम्युनिष्ट पार्टी (१९२१), युगोस्लाभ कम्युनिष्ट (१९१९), बुल्गेरियन कम्युनिष्ट पार्टी (१९१९), हङ्गेरियन कम्युनिष्ट पार्टी (१९९८) भए । त्यसैगरी, इटालियन कम्युनिष्ट पार्टी (१९२१), बर्मिज कम्युनिष्ट पार्टी (१९४३), पेरुभियन कम्युनिष्ट पार्टी (१९२८), साउथ सिज कम्युनिष्ट पार्टी (१९२८)– यसलाई १९३० मा मलाया कम्युनिष्ट पार्टी भनियो । कोरियन वर्कस पार्टी (१९२५), इराकी कम्युनिष्ट पार्टी (१९३४), नेपालमा नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख ९ गते (२२ अप्रिल १९४९ भारतमा) । पूर्वी युरोपका २० औं देशहरुमा सोभियत मोडेलको समाजवादको स्थापना गरियो । चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडिया लगायतका देशहरुमा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए ।
सन् १९४५ मा उत्तर कोरियामा क्रान्ति सम्पन्न भयो । त्यस्तै सन् १९४५ मै भियतनाममा क्रान्ति सम्पन्न भयो । सन् १९५९ मा एउटा ल्याटिन अमेरिकी मुलुक क्यूबामा क्रान्ति सम्पन्न भयो । चीनमा कमरेड माओको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म संचालित महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न भयो ।
यो अवधिमा विश्वको भूगोलको ठूलो भूभाग र जनसंख्या सामन्तवाद र साम्राज्यवादको पञ्जाबाट मुक्त भए । यसै प्रक्रियामा सन् १९५०–१९५३ सम्म चलेको विश्वकै चर्चित कोरियन युद्धमा अमेरिकी साम्राज्यवाद पराजित भयो र लाखौंको कोरियाली जनताको उत्सर्ग र धनजनको क्षति बेहोरेरै भएपनि उत्तर कोरियाले राष्ट्रिय स्वाधिनता प्राप्त गरेर साम्राज्यवादी लुटेराहरूलाई ठूलो सवक दिलाई दियो । त्यस्तै सन् १९६५ देखि शुरु भै सन् १९७३ सम्म अमेरिकी साम्राज्यवादसँगको भीषण गृहयुद्धमा अमेरिकी साम्राज्यवाद नराम्रोसँग पराजित भए पछि भियतनामले राष्ट्रिय स्वाधिनता प्राप्त गरेर अमेरिकी साम्राज्यवादी लुटयारालाई ठूलो सवक दिलाएको थियो । यस भियतनामी युद्धमा १२ लाख सेना मारिएका भए पनि, लाखौं भियतनामी जनताले राष्ट्रिय स्वाधिनताका निम्ति आफ्नो जीवन उत्सर्ग गर्नु परेको भए पनि अमेरिकी साम्राज्यवादले ठूलो हार बेहोरेको थियो र फेरी त्यतातिर फर्केर हेर्नै नसक्ने गरि भियतनामबाट अमेरिकी साम्राज्यवाद माग्न बाध्य भएको थियो र कम्युनिसको विजय सुनिश्चित हुन पुगेको थियो ।
यस १०० वर्षको बीचमा माथि उल्लेखित ऐतिहासिक घटनाक्रमहरूबाहेक सन् ८० को दशकमा पेरुमा सशस्त्र जनयुद्धले उत्कर्षता प्राप्त गरेको थियो । त्यस्तै सन् ९० को दशकमा शुरु भएर १० वर्ष सम्म चलेको नेपालको सशस्त्र जनयुद्धले पनि ठूलो उत्कर्षता प्राप्त गरेको थियो र जसका कारण नेपालमा ठूलै राजनीतिक परिवर्तन हुन पुग्यो । यस अतिरिक्त फिलिपिन्स, बर्मा, बंगलादेश, पाकिस्तान, टर्की लगायतका देशहरूमा जनमुक्ति सेनाको निर्माण समेत गरेर सशस्त्र संघर्ष संचालन गर्ने तयारीहरू भएका थिए । भारतमा आज पनि भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्ध भीषणमा अगाडि बढिरहेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र परिचालनको सवालमा महान् अक्टुबर क्रान्तिले दिएको अर्को महत्वपूर्ण शिक्षा के हो भने १) क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त आवश्यक पर्दछ भन्ने सवाल २) क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकताको सवाल ३) क्रान्तिका लागि ठोस परिस्थितिको ठोस विश्लेषणको सवाल र ४) क्रान्तिकारी पार्टी निर्माण र त्यसको परिचालनको निम्ति जनवादी केन्द्रीयताको सिद्धान्तको आवश्यकता । यी महत्वपूर्ण सर्तहरू पालना र प्रयोग गरेर महान लेनिनको नेतृत्वमा महान् अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यी चारवटा माक्र्सवादी प्रस्तावनाहरूलाइृ पालना नगर्ने कम्युनिष्ट पार्टीहरूले क्रान्ति सम्पन्न गर्न पनि सक्तैनन र कम्युनिष्ट पद्धति भित्रको, सर्वहारावर्गको अधिनायकत्व अन्तगर्तको कम्युनिष्ट शासन प्रणालीलाई जोगाई राख्न सक्तैनन भन्ने कुरा क्रान्ति सम्पन्न गर्ने सवालमा र प्रतिक्रान्तिलाई रोक्न नसकेका परिघटनाहरूले पनि यी तथ्यहरूलाई पुष्टि गरि दिएका छन् । र क्रान्ति सम्पन्न गर्न र प्रतिक्रान्तिलाई रोक्नका लागि महान् लेनिन र स्टालिन जस्ता नेताहरू र बोल्सेविक जस्तो लौह अनुशासित कम्युनिष्ट हुनु पर्दो रहेछ भन्ने शिक्षा महान् अक्टुबर क्रान्तिबाट पाठ सिक्न जरुरी छ । किनकि लेनिन र स्टालिनको नेतृत्वमा सोभियत रुसको कम्युनिष्ट पार्टी (बोल्सेविक) ले सम्पन्न गरेर निर्माण गरेको सोभियत मोडेलको समाजवाद महान् लेनिन र स्टालिनको मृत्यु लगात्तै निकिता ख्रुश्चोवबाट प्रतिक्रान्तिको विजारोपन भयो समाजवाद ढल्यो ।
सोभियत मोडेलको समाजवादको पतनले संसारभर नकारात्मक असर प¥यो । साम्राज्यवादी तथा पुँजीवादी लुटेराहरूले संसारबाटै समाजवाद पतन भएर गयो भनेर ठूलो स्वरले हल्लाह पिट्ने मौका पाए । नभन्दै रुसमा प्रतिक्रान्ति हुने वित्तिकै ख्रुश्चोवका चेला ल्यू शाओ चि, दङ श्याओ पिङ मण्डली चीनीया कम्युनिष्ट पार्टी भित्र घुस्न सफल भए र सन् १९५६ मै चीनमा पुँजीवादको पुनःस्थापना गर्ने प्रयास भयो । माओले सन् १९६६–१९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरेर प्रतिक्रान्तिलाई रोक्ने काम गर्नु भयो । तर सन् १९७६ सेप्टेम्बर ९ मा माओत्सेतुङ निधन भयो । त्यसको ठिक एक महिनापछि चीनमा पनि प्रतिक्रान्ति भयो र पुँजीवादको पुनःस्थापना भयो । चीनको प्रतिक्रान्तिको परिघटनाले पनि के सावित गरेको छ भने कमरेड भएको जस्तो क्रान्तिकारी सिद्धान्तकार नेता र नेतृत्वको अभावमा प्रतिक्रान्तिले मौलाउने मौका पायो । रुस र चीनको प्रतिक्रान्तिबाट के शिक्षा लिन जरुरी देखिन्छ भने कुनै पनि मुलुकमा क्रान्ति सम्पन्न गर्न, क्रान्ति पछि क्रान्तिका उपलब्धीहरूलाई जोगाई राख्न क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी पार्टीको आवश्यकता त सार्वभौम विषय नै हो तर विद्यमान क्रान्तिकारी नेतृत्वले क्रान्तिकारी उत्तराधिकारी निर्माण गर्न नसक्नु ठूलो कमजोरी रह्यो भन्ने शिक्षा लिनै पर्दछ ।
रुसमा महान् लेनिन र स्टालिन जस्तो क्रान्तिकारी उत्तराधिकारी निर्माण हुन नसक्नु र चीनमा माओ जस्तै क्रान्तिकारी उत्तराधिकारी निर्माण हुन नसक्दा विश्व कम्युनिष्ट आन्दोलनमा र विश्व समाजवादी शिवीरमा ठूलो क्षेति पुग्न गयो र यो आन्दोलन आजसम्म पनि रक्षात्मक स्थितिमा रहन बाध्ये भएको छ । नेपालमा आजसम्म पनि नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । यस क्रान्तिले मात्र वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने ढोका खोली दिने हो तर त्यो भएको छैन । देश अहिले पनि अर्थ सामन्ती र नवऔपनिवेदिक अवस्थामै छ । यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको थालनी गरियो । १० वर्षसम्म संचालित यस जनयुद्धले सफलताको शिखरमा पुगेकै बेला मुख्य नेतृत्वले गद्धारी गर्न पुग्यो र जनयुद्धले गंभीर प्रकारको धक्का खान पुग्यो । तर यस परिघटनाले महान् नेपाली क्रान्तिलाई समाप्तै पार्न सक्ने कुरा त भएन । क्रान्तिकारी माओवादीहरू पुनः संगठित भएर जनयुद्धको आधार र अनुभवमा उभिएर नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह मार्फत महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्य जारी नै छ । नेपालका क्रान्तिकारी माओवादीहरूले क्रान्तिका सपनाहरूलाई मर्न नदिने अठोट र प्रतिबद्धताका अगाडि बढिरहेका छ र क्रान्ति जारी छ । नेपाली क्रान्ति अवश्यभावी छ । महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको १०० वर्ष पुरा गरेको यो ऐतिहासिक अवसरमा विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरूले अक्टुबर क्रान्तिको सतवार्षिकी धुमधामका साथ मनाइरहेको यो अवसरमा हामी नेपालका माओवादी क्रान्तिकारीहरूले पनि क्रान्ति नै हाम्रो एक मात्र उद्देश्य हो भन्ने महत्वपूर्ण शिक्षा महान् अक्टुबर क्रान्तिबाट ग्रहण गर्न कदापि भुल्नु हँुदैन ।