झर्रोटर्रो : भैलो थरिथरिका

झर्रोटर्रो : भैलो थरिथरिका

देउसी भैलो पनि आधुनिक जमानासँगै आधुनिक पाराले खेलिन्छ । पैला पैला यो भैलो गाउँघरका विभिन्न उमेर समुहका दौँतरी दाजुभाइ र दिदीबहिनी मिलेर रामरमितो गरेर रमाइलो मनाउनका लागि खेलिन्थ्यो । आआफ्ना जातीय र भाषिक संस्कृति अनुसारका गानाबजाना सहितका भैलो हुने गथ्र्यो । त्यसले नेपाल मण्डलको आफ्नै पहिचान कायम गरेको थियो । आफ्नै संस्कृति बचाएको थियो । खेल्ने समयको पनि निश्चितता थियो । यतिखेर देउसी भैलो अनेक रूप र रङ्गमा बदलिएको छ । उद्धेश्य अनुरूपका भैलो ग्रुपहरू हुन्छन् । ट्यापेमुन्द्रे र कोब्रा भैलो, पिकनिके भैलो, चन्दा भैलो, पार्टी भैलो, आदि इत्यादि ।

ट्यापेमुन्द्रे र कोब्रा भैलोमा शरीरभरी ट्याटु खोपेका, बीसठाउँ फाटेका पाइन्ट लगाएका, लामालामा रङ्गिन कपाल पालेका, कानमा किला ठोकेका, गाला, आँखीभौँ, ओठ र जिब्रोमा मुन्द्रा टङ्गाएका चुल्ठेमुन्द्रेहरूले खेल्ने भैलो पर्दछ । यिनीहरूसँग नेपाल मण्डलको न भेषभुषा हुन्छ, न त भाषा हुन्छ न त भैलोको शालिन परम्परा हुन्छ । साउण्ड सिष्टमबाट दुईचार वटा डिजे ल्याउँछन् । खैरे कुइरे भाषाका ¥याप लगाउँछन्, टोल थर्काएर भैलो खेल्छन् । अनि घरबेटीलाई थर्काएर पैसा माग्छन् । त्यसपछि जाँडपाटीमा पैसा रित्याउँछन् । अर्को पिकनिके भैलो हुन्छ । यसमा स्कुल, कलेज र विभिन्न क्लबका केटाकेटी हुन्छन् । यिनीहरूसँग पनि मौलिक कला संस्कृति केही हुँदैन । दुईचारवटा नेपाली र हिन्दी फिल्मी गीतमा डान्स गर्छन् र धेरैबेर बार्गेनिङ गरेर पैसा झार्छन् । तिहार सकिएको एकदुई हप्तापछि भ्रमण वा पिकनिक जान्छन् र आआफ्ना लभरहरूसँग मस्ती गर्छन् । सेल्फी हान्छन् र फेसबुक रङ्गाउँछन् ।

अर्को चन्दा भैलो हुन्छ । यसमा केही बयस्क र प्रौढ टाइपका मनुवा हुन्छन् । यिनीहरूसँग अलिकता मौलिकपन पनि हुन्छ । अलिकता आधुनिक पनि हुन्छ । त्यस्तै अर्को भैलो पार्टी भैलो हुन्छ । यो राजनीतिक वृत्तमा मात्रै खेलिन्छ । यसमा दलबदल र राजनीतिक उठापट्कीको खेल हुन्छ । यतिखेरको भैलोको मुख्य केन्द्र यही भएको छ । यिनीहरूलाई यतिखेर चुनावी भैलो लागेको छ ।

एक महिना अगाडि नेकपा गोलघेरे र सूर्यछापका बिचमा पार्टी एकता गर्ने सम्झौतो भयो । त्यो सम्झौतोको पहिलो कार्यान्वयन चुनाउमा तालमेल गर्ने सहमतिबाट भयो । यसबाट चारतारे दलमा ठूलो चट्याङ प¥यो । हठात् उसले पनि आफूसँग जात, थर र रङरोगन मिल्ने दलहरूलाई एकताको जाल फाल्यो । त्यो जालमा केही भुराहरू परे । कसैलाई उत्तरेहरू र कसैलाई पश्चिमाहरूले अह«नखटन गरेर पार्टी एकता गरी दुईदलीय पञ्चायत लागू गर्ने मेसो मिलाउन खटाए । त्यसैकारण एकता गर्ने तयारीमा जुटे । संविधान र कानून पनि त्यसैअनुसार सानातिना भुरेभारे दलहरूलाई क्रमशः प्रतिवन्ध लाउने गरि बनाए । अब नेपाल मण्डलमा क्रमशः दुई दल मात्रै रहने भयो । हुँदाहुँदा चुनाउमा समेत पार्टीमा लामो समय दुःख कष्ट गरेर जीवन विताएका कार्यकर्ता नेताहरूलाई पाखा लगाउँदै डन, तस्कर, ठग, चोर, डाँका, फटाहालाई पहिलो प्राथमिकता र ठूला उद्योगी, ब्यापारी, ठेकेदार, दलालहरूलाई दोस्रो प्राथमिकतामा राखेर चुनाउको टिकट बाँडे । त्यसैले उनीहरूको सामूहिक भैलो यस्तो भयो –

हे भनभन साथी हो – देउसुरे
हे स्वर मिलाई भन – देउसुरे
हे डन र तस्कर – पार्टीमा आऊ
हे सोझा सिधा कार्यकर्ता – परपर जाऊ
हे चुनाउमा टिकेट – डनहरूले पाऊ
हे पुराना नेता – जतासुकै जाऊ
हे गुटे गुटे नेता – मिलेर खाऊ
हे लुतेलाम्रे नेता – भाँडमा जाऊ
हे राष्ट्रको ढुकुटी – लुट्ने हो
हे जनतालाई सँधै – भुट्ने हो
हे ठूला पार्टी नेता – दलाल हौँ
हे साना पार्टी जति – बढारौँ
हे नत्र त लुट्न – पाइँदैन
हे हाइसञ्चै खान – पाइँदैन
हे देशको विकास – चाहिँदैन
हे गरिबले सरकार – पाइँदैन
हे देशलाई सँधै – लुट्न पाम
हे रैतीलाई सँधै – भुट्न पाम
हे विदेशी प्रभु – जिन्दावाद
हे विदेशी प्रभु – अमर होस्

४ कात्तिक २०७४

kailubraha73@gmail.com