गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री तथा माकेका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय नेता नारायण अधिकारी गोरखाको निर्वाचन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
गोरखा तथा गण्डक क्षेत्रका पुराना र स्थापित कम्युनिष्ट नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवम् ४ नं. प्रदेशका संयोजक श्रीनाथ अधिकारी‘श्याम’का छोरा समेत रहेका अधिकारी गोरखा जिल्लाका चर्चित युवा नेता हुन् । गोरखा अजिरकोट गाउपालिका–३ हंशपुर निवासी अधिकारीको पूरै परिवार जनयुद्धमा होमिएको थियो ।
नेता श्रीनाथ अधिकारी गोरखा जिल्लाका कम्युनिष्ट पार्टीका धरोहर नै मानिन्छन् । नारायण अधिकारी‘निश्चल’ पनि २०५४ सालदेखि जनयुद्धमा होमिएका हुन् । २०५४ सालदेखि उनी निरन्तर माओवादी आन्दोलनमा क्रियाशिल रहँदै आएका युवा नेता हुन् । माओवादी जनयुद्धबाट आएका सबै घटकका बीच अधिकारी स्थापित र चर्चित रहेका छन् । यही पृष्ठभूमिका कारण पनि अधिकारी बाबुराम र नारायणकाजीका लागि ठूलै चुनौती बनेका छन् ।
दशवर्षसम्म कांग्रेस–एमालेसँग जनयुद्ध लडेका माओवादी नेता कार्यकर्ताहरुले कांग्रेस र एमालेको चुनाव चिन्ह ‘रुख’ र ‘सूर्य’ मा भन्दा दजमोको ‘मुठ्ठी’ चुनाव चिन्हमा भोट हाल्न सहज र गर्वानुभूति महसुस गर्ने भएकाले बाबुराम र नारायणकाजीको भोट काटिने सम्भावना प्रवल रहेको स्थानीय एक बुद्धिजीविको विश्लेषण छ ।
गोरखाको उपल्लो भेगमा माओवादी र नया शक्ति भन्दा कांगेसको मत बढी छ । जहाँ अधिकारीको घर पर्छ उनले त्यो ठाउँबाट नयाँ शक्तिको भोट काट्ने आँकलन गर्न थालिएको छ । अधिकारी जनयुद्धकालमा गोरखामा नै बसेर राजनीति गरेकाले पनि आफ्नो निर्वाचन क्षेत्रका जनतासँग उनी स्थापित छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनमा आस्था र निष्ठाको धरोहर र वैचारिक केन्द्रको रुपमा स्थापित नेता मोहन वैद्य‘किरण’ नेतृत्वको पार्टी निकटको मोर्चा भएकोले पनि जिल्लाका सच्चा कम्युनिष्टहरु, बाम तथा देशभक्त शक्तिहरुले अधिकारीको चुनाव चिन्ह ‘मुठ्ठी’मा मतदान गर्ने पनि विश्लेषण गोरखा जिल्लामा गर्न थालिएको छ । अधिकारीले उम्मेदवारी घोषणा सँगै जनतालाई आफूलाई विजयी गराए आफूले गर्ने कामको पनि रोडम्याप अगाडि सारेका छन् । उनले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा भन्दै आएका छन्–
–आफूले चुनाब जिते २ नम्बर क्षेत्रलाई नमुना बनाउनेछु ।
–नेपाल अहिले “तेस्रो बिश्व” भनेर चिनिएको छ, त्यसलाई विकाश गरी “अर्को विश्व” बनाउँछु ।
–गोरखामा (क) वर्गको पर्यटन उद्योग खोल्छु ।
–कृषि उद्योग खोल्छु ।
–दरौंदी किनारमा चिनिया मोडेलको ब्यापारीक केन्द्र निर्माण गर्छु ।
–छेकम्पार–सिर्दिबास–उहिया–लाप्राक–वार्पाक हुँदै दरौंदिको किनारै किनार बाटो खोली चीन र भारत जोडछु ।
–चीनबाट तेल ल्याई गोरखामा स्टोर गर्छु र भारतको बिहार र उतरप्रदेशका करिब ५० करोड जनतालाई तेल बेच्छु ।
–जिल्ला सदरमुकाम निबेल फाँटमा बनाउँछु ।
–निबेल सदरमुकाम बाट गोरखा दरबार र सिरानचोकमा केबल कार जोड्छु ।
–दरौंदीको पानी पलुङ्ग्टार लैजान्छु ।
–मुख्य गरि पर्यटन, कृषि, उद्योग, ब्यापार, शिक्षा र स्वास्थको पूर्वाधार विकासमा गर्नेछु ।