क्रान्तिकारी माओवादीको सम्मेलनमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकतामा जोड

क्रान्तिकारी माओवादीको सम्मेलनमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकतामा जोड

पोखरा। काठमाडौंमा दलाल पुँजीवादमा आधारित वर्तमान प्रतिक्रियावादी संसदीय राज्यसत्ता स्वार्थका लागि एमाले, माके र नयाँ शक्तिबीच कथित बाम गठबन्धनको उद्घोष भइरहेको बेला पोखरामा जारी नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलनमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकताको बहसले महत्वपूर्ण स्थान पाएको छ । आइतबारबाट सुरु क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनमा विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द गरी मुलुकमा वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले एकताको कोर्स अगाडि बढाउनु पर्नेमा नेताहरुले जोड दिएका छन् । आइतबार सम्मेलनको उद्घाटन सत्रमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैैद्य‘किरण’ले सम्बोधन गर्दै मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपासँग दुवै तर्फबाट पार्टी एकताको विषयमा अनौपचारिक रुपमा छलफल चलिरहेको बताएपछि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले पनि एकताको विषयमा छलफल बहस गर्न थालेका छन् ।

आइतबार सम्पन्न उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली‘सुदर्शन’ले क्रान्तिकारी माओवादी र नेकपाबीच चाँडोभन्दा चाँडो आधारभूत रुपमा मिलेका विषयहरुबाट एकताको कोर्सलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । पार्टी महासचिव विप्लवको उद्धृत गर्दै उनले मुलुकमा वाम गठबन्धन र दक्षिणपन्थी गठबन्धनका नाममा बढ्दो प्रतिक्रियावादीहरुको ध्रुवीकरणले थपेको चुनौतीको सामना गर्न सच्चा क्रान्तिकारीहरुबीचको एकतामा जोड दिए । त्यसैगरी नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि नयाँ जनवादी क्रान्तिका पक्षधर क्रान्तिकारी शक्तिहरुले एकताको कोर्सलाई अगाडि बढाउन ढिलो गर्न नहुने विचार व्यक्त गरे । यता नेकपा (मसाल)का केस पुरी र मसालका महामन्त्री मोहन विक्रम सिंहले पठाएको शुभकामना सन्देशमा पनि एकतामा जोड दिएका छन् ।
प्राप्त समाचार अनुसार पोखरामै जारी विप्लव नेतृत्वको नेकपाको जारी केन्द्रीय समितिको बैठकले पनि एकताको कोर्सलाई अगाडि बढाउने विषयमा छलफल गरिरहेको बुझिएको छ ।

यसैबीच, क्रान्तिकारी माओवादी पार्टीको दोस्रो दिन सोमबार नौ वटा समूह विभाजन गरी सम्मेलनमा प्रस्तुत दस्तावेजमाथि छलफल चलाइएको छ । समूहमा भएका छलफल र त्यसमा सम्मेलनका प्रतिनिधि पर्यवेक्षक लगायत केस र केस सल्लाहकार सदस्यहरु समेतले राखेका मतहरुलाई समूह नेताहरुले मंगलबार विहानबाट प्रस्तुत गरिने एक केन्द्रीय सदस्यले मूलबाटोलाई बताए । उनका अनुसार समूह नेताहरुसँगै पार्टीका सचिवालय सदस्यहरुले पनि मंगलबार नै दस्तावेजमाथिको धारणा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । दस्तावेज पारित गरेपछि सम्मेलनले नयाँ केन्द्रीय कार्य समितिको पनि निर्माण गर्नेछ । सम्मेलन बिहीबार सम्ममा सम्पन्न हुने जनाइएको छ ।