हार्दिक शुभकामना !

सम्बोधन

हामी जुन उद्देश्य सम्मेलनबाट हासिल गर्न गइरहेका छौं, त्यसका लागि यो सम्मेलन महान अवसर पनि हो । हामीले राष्ट्रिय सम्मेलन गर्ने भनेर लामो समयदेखि प्रतीक्षा गर्दै आएका थियौं । सम्पन्न हुँदैछ । यसको मूल उद्देश्य नयाँ जनवादी क्रान्तिको कार्यदिशा कस्तो हुने हो, हाम्रो सम्मेलनको मुख्य विषयमा यसैमा संकेन्द्रित छ । आज एकथरिले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भइसक्यो, अथवा पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्यो, अब समाजवादी क्रान्ति गर्नुपर्छ, भनेर भन्दै आएका छन् । त्यसमा पनि उनीहरुले समाजवादी क्रान्ति गर्ने पनि होइनन् । त्यसकारण ठोस परिस्थितिको ठोस अध्ययन गरेर हामीले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध पार्नुपर्ने आवश्यकता बनेको छ । यो सम्मेलनले त्यही आवश्यकतालाई पूरा गर्ने दिशामा सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ ।

नेपालमा अनेकौं जनसंघर्ष, सशस्त्र संघर्ष हुँदै हामी महान जनयुद्धको प्रक्रियाममा अगाडि बढ्यौं, तर मूल नेतृत्वमा रहेको गलत चिन्तन, त्यसका विरुद्ध दृढतापूर्वक लड्न नसक्नुलगायतका हाम्रा कमजोरीका कारणले समेत, नेपाली जनताले बगाएको रगत, पसिनाहरु, महान सहिदहरु, वेपत्ता योद्धाहरु, कैयौं घाइते अपाङ्गहरु, र आमूल परिवर्तनमा महान सपनाहरु ध्वस्त पार्ने प्रयास अहिले पनि भइरहेका छन् । यो अवस्थामा हाम्रो राष्ट्रिय सम्मेलनको मूल ध्येय के हो भने हाम्रा आस्थाहरु, हाम्रा आदर्श र सपनाहरु मरेका छैनन् । ती सपना र आदर्शहरु पूरा गर्न फेरि क्रान्तिको ज्योति बाल्छौं र नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न चाहन्छौं ।

हामी कम्युनिष्ट क्रान्तिकारीहरु अझै एक ठाउँमा आउन सकेका छैनौं । हाम्रा मित्र पार्टीका साथीहरुले पनि गम्भीरतापूर्वक यस विषयमा विचारहरु राख्नुभएको छ । हामी कसरी एकताबद्ध हने हो, यसका विषयमा पनि गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । हाम्रो सम्मेलनमा यो पनि एउटा महत्वपूर्ण एजेण्डा रहेको छ । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुन ढिलो गर्नुभएको छैन । ढिलो गर्नु हुँदैन, सबैले छिटो प्रयास गरौं । आ–आफ्ना पहलहरुलाई बढाउनु पर्छ । एकताको लागि हाम्रो पार्टीले मात्र भनेको छैन, क. विप्लव र क. मोहनविक्रम सिंह, क. ऋषि कट्टेलले पनि भन्नुभएको छ । एकताको लागि सबैले मिहनत गरौं, हामी पनि मिहनत गर्छौं ।

भर्खरै एमाले र माके र नयाँ शक्तिको एउटा गठबन्धन भयो । साँचो अर्थमा त्यो भनेको बाम गठबन्धन होइन, प्रतिक्रियावादी राज्यसत्तामा बस्ने पनि कहिं बाम हुन्छ ? प्रतिक्रियावादी राज्यसत्तामा जाने शक्ति बाम हुन सक्तैन । होइन । एमालेसँग गठबन्धन गर्दै निरन्तरतामा क्रमभंग भने । सुन्दा त शब्द राम्रो लाग्ला तर त्यो सुल्टोदिशातिर होइन, उल्टोदिशातिरको क्रमभंग भयो । जनयुद्धको बेला हामीले सुल्टोदिशातिर फड्को हान्नेलाई निरन्तरतामा क्रमभंग भन्ने शब्द प्रयोग गथ्र्यौं । प्रचण्डहरुले प्रतिक्रियावादतिर छलाङ हाने । एमालेलाई बढी भन्नुपर्ने आवश्यकता छैन । उसका बारेमा धेरै अगाडिदेखि प्रतिक्रियावादी शक्ति भन्दै आएका छौं । प्रचण्डले पनि हिजो एमालेलाई प्रतिक्रियावादी शक्ति नै भनेका हुन् । बाबुरामले त माक्र्सवाद छोडेको घोषणा गरेकै थिए । यो विषयमा हामी चारवटै पार्टीको समान धारणा छ । हाम्रा आधारभूत कुराहरु मिल्छन् । सबैका सबै कुराहरुले अहिल्यै मिल्दैनन्, छलफल बहसका बीचबाट मिलाउँदै लैजानु पर्दछ । देश, जनता र क्रान्तिलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्छ । विचारमा त हामी घण्टौं बहस गर्न सक्छौं । यसको लामो अभ्यास हामीले गर्दै आएका छौं । को सही र को गलत हो भन्ने कुराको जाँच पड्ताल कसले गरिदिने ? त्यसकारण हामीले आफैले म म भन्नुपर्छ । आलोचनात्मक क्रान्तिकारी बन्न सक्नुपर्दछ । हामी बीचमा कैयौं पूर्वाग्रह, आग्रह पनि होलान्, ती सबै छाडौं । भन्नलाई हामी सबै तथ्यबाट सत्य पत्ता लगाउने भन्छौं, फेरि आफै मात्र ठिक भएको दावी गर्छौं । सक्दो अध्ययन गरेर हामी आफैले एकअर्कालाई जाँचबुझ गरौं, को कति सही छ । र, रुपान्तरणको दिशामा अगाडि बढौं । मिलेका कुराबाट एकता प्रक्रिया अगाडि बढाउनु पर्छ ।

अहिले जुन दक्षिणपन्थी गठबन्धन बनेको छ, त्यो भनेको नेपालको वामपन्थी आन्दोलनमा, नेपालको कम्युनिष्ट आन्दोलन र नयाँ जनवादी आन्दोलनमा गम्भीर प्रकारको चुनौती हो । त्यो चुनौतीको सामना गर्ने तागत हामीबीचको एकतामा छ । हामी एकताबद्ध भयौं भने त्यसको सामना गर्न सक्छौं । हामी एकताबद्ध भएनौ भने टुक्रा टुक्रा भएर जम्मै त्यही गएर मिसिन्छन्, देख्नु होला । त्यसकारण सक्दो चाँडो सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुन जरुरी छ ।

नेपालमा क्रान्ति गर्न जरुरी छ । नेपालमा क्रान्ति सम्पन्न भएको छैन । समाजवादी क्रान्ति भनिन्छ । नयाँ जनवाद भनेको समाजवादी क्रान्तिको तयारी हो । रुस पुँजीवादी मुलुक हुँदा हुँदै पनि लेनिनले जनवादी क्रान्तिका कार्यभार पूरा गरेर मात्रै जानु पर्छ भनेका थिए । जनवाद पूरा नगरी समाजवादमा जान सकिन्न । अवसरवादी कित्ताबाट पनि समाजवादी क्रान्तिको कुरा आएको छ । उनीहरुले समाजवादी क्रान्ति गर्दैनन् । उनीहरुको लक्ष्य भनेको यही संसदीय व्यवस्था, नोकरशाही पुँजीवादी व्यवस्थालाई सुदृढ गर्ने हो । हामी विकल्पको शक्ति बन्नुपर्छ । उनीहरुले खडा गरेको चुनौती हाम्रा लागि अवसर पनि हो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु निकै गम्भीर छन् । राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर जे हल्ला चलाइएको छ, ती सब धोकाधडी हुन् । नवउदारवाद, बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबैंकले भनेका कुरा संसदमा ल्याएर पास गरेर हुन्छ आर्थिक क्रान्ति ? यो भनेको साम्राज्यवादी भुमण्डलीकरण हो । त्यसकारण अहिले गर्नुपर्ने भनेको राजनीतिक क्रान्ति हो । हामी प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वस्त पार्दै, दक्षिणपन्थी अवसरवादको चुनौतीलाई पनि ध्वस्त पार्दै, सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई गोलबन्द गर्दै र आफ्नो पंक्तिलाई पनि सुदृढ पार्दै अगाडि बढौं । यो नै अहिलेको प्रमुख कार्यभार हो । यस दिशामा अगाडि बढ्न हाम्रो सम्मेलन भव्य रुपमा सफल हुनेछ ।

(नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले पोखरामा आइतबार सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा दिएको मन्तव्यमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर