काठमाडौं । वित्तीय क्षेत्रमा अधिक तरलता देखिएपछि बैंक तथा वित्तिय संस्थाहरुले ऋणको व्याजदर घटाउने तयारी गरेका छन् । यसअघि तरलता अभाव भएको भन्दै ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम बढि भएपछि ऋणको व्याज घटाउने तयारी गरेका छन् । अधिक तरलता भएपछि निक्षेपको व्याजदर घटाउन सुरु गरिएको र कात्तिकदेखि ऋणको व्याज पनि घटाइने नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
कोषको लागत नघटेका कारण पहिलो त्रैमाससम्म ऋणको व्याजदर घटाउन नसकिने एसोसिएसनले जनाएको छ । वित्तीय संस्थाहरुले गत वर्ष कर्जा प्रवाहयोग्य पूँजीको अभाव भएका बेला महँगो व्याजमा निक्षेप लिएर उच्च व्याजमा कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ४४ अर्ब रुपैयाँ तरलता छ । केही समयसम्म ७० अर्ब रुपैयाँ तरलता थुप्रिएपनि अहिले घटेको छ । विभिन्न औजारमार्फत पटक–पटक बजारबाट पैसा खिच्नुले पनि वित्तीय प्रणालीमा अधिक तरलता देखिएको हो ।