कथित वामध्रुवीकरण र क्रान्तिका चुनौतीहरु  

कथित वामध्रुवीकरण र क्रान्तिका चुनौतीहरु  

नेपालीे कम्युनिस्ट आन्दोलनको इतिहासमा यही २०७४ आश्विन १७ गते एउटा उल्लेखनीय राजनीतिक घटना घटेको छ । यसमा सामेल भएका पक्षहरुले यसलाई बृहत वामध्र्ुवीकरणको नाम दिएका छन् । नेकपा (एमाले), नेकपा (माके) र नयाँ शक्ति पार्टी नेपालका बीचमा पार्टी एकताका निमित्त ८ सदस्यीय पार्टी एकता संयोजन समिती निर्माण गर्ने, पुष्पकमल दाहाल र केपी ओली प्रमूख नेताका रुपमा रहने र संयोजन समितीले सहमतिका आधारमा निर्णय लिने कुरा उक्त तीन पार्टीहरुले तयार पारेको ६–बुंदे सहमति पत्रमार्फत संयुक्त पत्रकार सम्मेलनमा सार्बजनिक गरिएको छ । संयोजन समितीमा एमालेका तर्फबाट केपी ओली, माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम, नेकपा माकेको तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा र नयाँ शक्ति पार्टी नेपालबाट बाबुराम भट्टराई रहेको समाचार हिजो आजका पत्रिकाले प्रकासित गरेका छन् ।

यस परिघटनापछि सामान्यतः नेपालको समग्र राजनीति र विशेषतः नेपालको वाम राजनीतिक बृत्तमा एउटा तरङ्ग पैदा भएको छ । यसबाट अनेक प्रश्नहरु पनि उव्जिएका छन् । यो लेख यसैको सेरोफेरोमा केन्द्रित रहने छ । तर, यो छोटो लेखमा ती सबै प्रश्नको विस्तृत जवाफ समेट्न संभव छैन । यो लेख मूख्यतः हिजो दुई विपरित ध्रुवमा उभिएका माके र एमालेका बीचमा आज कसरी पार्टी एकता संभव हुन गयो, यसले नेपालको कम्युनिस्ट आन्दोलनमा के कस्ता चुनौती र संभावना लिएर आएको छ र यो स्थितिमा एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आगामी कार्यभार के हुनु पर्छ भन्ने विषयमा केन्द्रित रहने छ ।


ईतिहास तिर फर्केर हेर्दा नेकपा (माओवादी) र नेकपा (एमाले) विपरित ध्रुवमा उभिएका दुई अलग–अलग कम्युनिस्ट पार्टीहरु थिए । जनयुद्धको थालनी भन्दा केही अगाडि २०५२मा आयोजित नेकपा (माओवादी)को राष्ट्रिय सम्मेलनले नेकपा (एमाले)लाई प्रतिक्रियावादी पार्टी घोषणा गरेको थियो । त्यतिबेला एमाले सामन्तवाद र साम्राज्यवादको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी सत्ताको रक्षकका हैसियतमा र तात्कालिन माओवादी उक्त सत्तालाई ध्वंश गरेर नेपालमा नयाँ जनवादी सत्ता निर्माण गर्र्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने क्रान्तिकारी अभियानमा क्रियाशील थिए । जनयुद्धको प्रक्रियामा नेकपा एमालेले तात्कालिन नेकपा (माओवादी)लाई आतंकवादी समूह मानेको थियो । तर आज नेकपा एमाले र माओवादी केन्द्र एउटै पार्टी निर्माण गर्ने विन्दुमा आईपुगेका छन् । यो एकता आज एकाएक कसरी संभव भयो ? यो एउटा अहं वैचारिक तथा राजनैतिक प्रश्न बनेर खडा भएको छ ।

माके र एमालेका बीचमा पार्टी एकता हुनका लागि, निम्नलिखित तीनवटा मध्ये कुनै एउटा स्थितिको निर्माण हुनु अनिवार्य थियो । एक, एमाले माओवादीको ठाउंमा आईपुगेको हुनु, दुई दुबैले आ—आना पुराना अडानलाई छाडेर अहिले एउटै ठाउंमा आईपुगेको हुनु र तीन माओवादी केन्द्र एमालेको ठाउंमा पुगेको हुनु । यहाँ सबैले स्पष्ट बुझेको कुरा के हो भने, एमाले हिजो पनि संसदवादी प्रतिक्रियावादी पार्टी थियो र आज पनि त्यही छ । उसले हिजोको आनो वैचारिक तथा राजनीतिक अडानमा कुनै परिवर्तन गरेको छैन । तर अहिले यी दुई पार्टीका बीचमा पार्टी एकता तात्कालिक एजेण्डा बन्न गएको छ । यसको अर्थ स्पष्ट छ, यो पार्टी एकता माओवादी केन्द्र एमालेकरण हुनुको परिणाम हो । अर्थात्, अर्को शव्दमा माओवादी केन्द्र एमालेको ठाउंमा आईपुगेर यो एकता संभव भएको हो । अरु केही पनि होईन ।

एउटा प्रश्न उठ्छ, के माओवादी केन्द्रको एमालेकरण अहिले मात्र भएको हो त ? होईन, यो प्रक्रिया पहिल्यैदेखि सुरु भैसकेको थियो, अहिले आएर त्यो प्रकट भएको मात्र हो । जुन दिनदेखि तात्कालिन माओवादीले एक्काईसौ शताव्दीको जनवाद भन्ने राजनीतिक प्रस्ताव पारित गरेको थियो त्यही प्रस्तावमा माओवादीको एमालेकरण हुने विचारको भ्रूण लुकेको थियो । चुनवाङ्ग बैठकको निर्णयले त्यसलाई स्पष्ट राजनीतिक रुप प्रदान ग¥यो । पछि संविधान सभाको चुनाव, लोकतान्त्रिक गणतन्त्र र १२–बुंदे समझदारीले माओवादीको एमालेकरण हुने प्रक्रियामा एक–एकवटा ईट्टा थप्दै जाने काम गरे । बृहत शान्ति–संझौता, जनयुद्ध समाप्त भएको घोषणा, जनसत्ताको विघटन, जनसेनाको निरस्त्रीकरण, जनमुक्ति सेनाको नेपाली सेनामा विलय र अन्तमा दोस्रो संविधान सभाबाट प्रतिक्रियावादी संविधान निर्माण हुने विन्दुसम्म आईपुग्दा वैचारिक र राजनीतिक हिसाबले माओवादीको एमालेकरण हुने प्रक्रिया सारतः पुुरा भैसकेको थियो । केबल नाममा मात्र माके र एमाले नामका दुई भिन्न पार्टी अस्तित्वमा रहेका थिए ।

यही आश्विन १७ गते माके र एमालेका बीचमा पार्टी एकता संयोजन समितीको निर्माण भएको छ । प्रेस सम्मेलनका बेलामा बाबुरामले भने जस्तै यो एकता आवश्यकता र आकस्मिकताको अनिवार्य परिणाम हो र प्रचण्डले भने जस्तै निरन्तरतामा क्रमभंग पनि हो । माक्र्सवादी दर्शनको भाषामा यो पार्टी एकता एक्काईसौं शताव्दीको जनवाददेखि तात्कालिन (माओवादी)ले एमालेकरण हुन सुरगरेको मात्रात्मक परिवर्तनको प्रक्रियाले गुणमा हानेको छलाङ्गको अभिव्यक्ति हो । यहाँसम्म आईपुग्दा माओवादीको एमालेकरण हुने प्रक्रियाको अन्त भएको छ र माके तथा एमालेका बीचमा पार्टी एकताका लागि होईन माकेको एमालेमा हुने विलयका लागि बाटो खुलेको छ । साथै यसले संशोधनवाद भनेको अन्ततः प्रतिक्रियावाद हो भन्ने अध्यक्ष माओको भनाईलाई पनि पुनः पुष्टि गरेको छ ।

एउटा क्रान्तिकारी ईतिहास बोकेको पार्टी प्रतिक्रियावादी पार्टीमा विलय हुनु भनेको पक्कै पनि राम्रो कुरा होईन । तर, यो निर्णयले माओवादी केन्द्रले हिजो गरेको त्याग र वलिदानको व्याज स्वरुप ईमान्दार कार्यकर्ता र जनतालाई भ्रम दिने स्थितिकोे भने अन्त गरेर तिनलाई क्रान्तिको प्रक्रियामा लाग्ने बाटो खोलिदिएको छ । यस अर्थमा भने यो एकता प्रक्रियाले सकारात्मक अर्थ राख्दछ ।

पार्टी एकता संयोजन समितीको निर्माणपछि देशमा दुई थरी तरङ्गहरु देखा परेका छन् । प्रतिक्रियावादी सत्ताको स्वाद चाख्न पल्केका दक्षिणपंथी र अवसरवादी तत्वहरु चुनावी तालमेल र पार्टी एकता हुने कुराले निकै उत्साहित देखिएका छन् । अन्य पार्टीमा रहेका दक्षिणपंथी तत्वहरुलाई पनि यो एकताले आकर्षित गर्ने संभावना बढेको छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालीे कम्युनिस्ट आन्दोलनमा पनि दक्षिणपंथी अवसरवाद प्रमूख खतरा रहेको बेलामा अगाडि आएको कथित वामध्रुवीकरण अभियान अवसरवादीका निमित अनुकुल र क्रान्तिकारीका निम्ति प्रतिकुल स्थिति हो । यसरी आउने दिनमा नेपालमा दक्षिणपंथी हावाको खतरा अरु बढ्ने संभावना छ । यो क्रान्तिकारीहरुका लागि एउटा गंभीर चुनौती हो ।

अर्कोतिर, माक्र्सवादको सान्दर्भिकता सकियो भन्ने उत्तर–माक्र्सवादी डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा गैर कम्युनिस्ट नोकरशाहहरुलाई समेटेर निर्माण गरिएको नयाँ शक्ति जस्तो ठिमाहा पार्टी पनि यो एकता प्रक्रियामा समाबेश भएको छ । यो स्थितिमा नाम जे सुकै राखे पनि भोली एकता प्रक्रियाबाट जन्मिने पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सक्दैन भन्ने कुरामा कुनै शंका छैन । त्यसमाथि प्रेस सम्मेलनमा बोल्दा प्रचण्डले सो एकता कम्युनिस्टहरुको बीचमा मात्र सिमित नभएर लोकतान्त्रिक शक्तिहरुसम्म पनि पुग्न सक्ने कुरा गरिसकेका छन् । नेपाल कम्युनिस्टहरुका लागि एउटा उर्वर भूमी हो र नेपाली जनताले सधै क्रान्ति र परिवर्तनको पक्षमा साथ दिंदै आएका छन् । एकता प्रक्रियाबाट बन्ने पार्टीको नाम कम्युनिस्ट पार्टी नरहने पनि त्यत्ति कै संभावना रहेको छ । यो स्थितिमा नेपाली जनताले यो एकता प्रक्रियालाई पुरै साथ दिन्छन भन्न सकिंदैन । त्यसमाथि माकेमा रहेर पनि आजसम्म निश्चित आदर्श र विचार बोकेका कतिपय ईमान्दार क्रान्तिकारीहरु आनो नेतृत्वले एमालेमा विलय हुन गरेको निर्णय प्रति आक्रोसित छन् र आलोचक देखिएका छन् । यसले क्रान्तिकारीहरुका बीचमा हुने ध्ुवीकरणको नयाँ संभावना तर्फ र्इंगित गर्दछ । यो क्रान्तिका लागि निकै सकारात्मक कुरा हो । यसलाई पार्टीले गंभीरतापूर्वक आत्मसात गर्नु पर्दछ ।

यसरी नेकपा (एमाले), नेकपा (माके) र नयाँ शक्ति पार्टी, नेपालका बीचमा हुने भनिएको एकताले दक्षिणपंथी खतराको थप चुनौती र क्रान्तिकारीहरुका बीचमा नयाँ ध्रुवीकरणका दुवै संभावना बोकेर आएको छ । प्रेस सम्मेलनका क्रममा पुष्पकमलले अब हुने निर्वाचन पछिको दुई–तिहाईको बामपंथी सरकारले नेपालमा समाजवादी क्रान्तिका लागि आधार निर्माण गर्ने छ र त्यसले विश्व समाजवादी क्रान्तिको नयाँ मोडेल विकास गर्ने छ भनी औषधी बेच्ने चटकेले चौबाटोमा गर्ने जस्तो भाषण पनि गरिसकेका छन् । साम्राज्यवादीे स्वार्थ र ईसारामा हुन गैरहेको यो अवसरवादी एकता र दक्षिणपंथी हावाका बिरुद्ध यतिबेला क्रान्तिकारीहरुले जति दरो वैचारिक संघर्ष चलाउन सक्छन् र चटके भाषणको भण्डाफोर गर्न सक्छन् त्यति नै छिटो नेपालमा नयाँ क्रान्तिकारी ध्रुवीकरणको संभावना बढने परिस्थिति बनेको देखिन्छ । दक्षिणपंथी हावाका विरुद्धको भीषण वैचारिक सघर्ष नै क्रान्तिकारी ध्र्ुवीकरणको आधार हो भन्ने कुरालाई एउटा ईमान्दार कम्युनिस्टले कहिल्यै विर्सन हुदैन ।

कथित वामध्रुवीकरणको यो अभियान संगै नेपाली कांग्रेसले पनि ‘वाम’ ईतरको प्रजातान्त्रिक मोर्चा निर्माण गर्ने प्रक्रिया अगाडि बढाई सकेको छ । अबका दिनमा नेपालमा संसदवादी पार्टीहरु दुई ध्रुवमा केन्द्रीत हुने छन्, उक्त ध्ुवहरुका बीचको आपसी अन्तरविरोध अरु चर्केर जाने छ, विभिन्न खाले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु यी नै दुई ध्रुवमार्फत नेपाली संसदमा टक्कराउने छन् र नेपालमा वाह्य हस्तक्षेप अरु बढने छ । क्रान्तिकारीहरु संसदीय संघर्षमा निस्प्रभावी हुने छन् तर उनीहरुका निम्ति सडक भने पुरै खाली रहने छ । यी कुराहरु नेपालमा घरेलु प्रतिक्रियावाद र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सडक आन्दोलनको विकासका लागि अनुकुल हुने छन् ।

तर, के कुरा स्पष्ट छ भने आउने दिनमा हिजो कै तरीकाले मात्र नेपालमा क्रान्तिकारी आन्दोलनको विकास गर्न संभव छैन । पार्टीले विचार, राजनीति, संगठन र संघर्षका सबै मोर्चाहरुमा कामलाई व्यवस्थित गर्न विशेष जोड दिनु पर्दछ । त्यसका लागि तत्काल पार्टीले क्रान्तिकारी ध्रुवीकरण र नयाँ ढङ्गको पार्टी निर्माण, कार्यदिशाको समृद्धिकरण, संयुक्त मोर्चाको निर्माण र योजनावद्ध रुपमा वर्गसंघर्षको उठानको प्रश्नलाई तात्कालिक योजनामा समेटनु जरुरी छ ।

यति बेला हाम्रो पार्टी राष्ट्रिय सम्मेलनको संघारमा छ । यो सम्मेलनको कार्यसूचीमा सामान्यतः उपरोक्त विषयहरु नै रहेका छन् । तर, यहि आश्वीन १७ गते एमाले, माके र नयाँ शक्तिका बीचमा जुन पार्टी एकता संयोजन समितीको निर्माण भयो त्यसले कथित वामध्रुवीकरणको विरुद्धमा क्रान्तिकारी ध्र्ुवीकरणका लागि एउटा अनुकुल वातावरण पनि सिर्जना गरेको छ । यो सम्मेलनले अवसरवादी ध्ुवीकरणको सशक्त भण्डाफोर गर्दै नेपालमा धेरै समूहमा छरिएर बसेका क्रान्तिकारीहरुलाई माक्र्सवाद–लेनिनवाद–माओवादका आधारमा एउटै क्रान्तिकारी केन्द्रमा ध्र्ुवीकृत हुन, नयाँ जनवादी क्रान्तिका लागि राजनीतिक तथा सामरिक कार्यदिशालाई थप समृद्ध गर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन जोरदार आह्वान गर्नु पर्दछ र पार्टीले त्यसका लागि आवश्यक पहल पनि लिनु पर्दछ । यसरी नै कथित बामध्रुवीकरणले तत्काल पैदा गरेको चुनौतीलाई परास्त गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपंथी खतराबाट जोगाउन र नेपाली क्रान्तिको कार्यभारलाई अगाडि बढाउन सक्दछौं ।

आश्विन १९, २०७४