एजेन्सी । संसारकै सबैभन्दा बढी तौल भएकी महिला एमान अहमदको अबुधाबीमा मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ ।
इजिप्टकी नागरिक एमानको उपचारका लागि २० जना चिकित्सकहरूको टोली खटिएको थियो । ५ सय किलोग्रामकी उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन यसैवर्षको जनवरीमा भारत आएकी थिइन् ।
एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए ।
डाक्टरहरूले उनको शल्यक्रियापछि तौल घटाएर ५ सय किलोग्रामबाट २ सय ५० किलोग्राम बनाएको बताएका थिए ।
यद्यपि एमानकी बहिनीले भारतीय चिकित्सकहरूले पुरै झुठो बोलेको आरोप लगाएकी छन् । अस्पतालले एमानकी बहिनीको भनाइको खण्डन गरेको छ ।
मुम्बईमा शल्यक्रियापछि एमानलाई युएईको राजधानी अबुधावी लगिएको थियो । शल्यक्रियाअघि उनी २५ वर्ष घरबाट बाहिर ननिस्किएको बताइएको छ ।
एमानभन्दा अघि सबैभन्दा बढी तौल भएकी महिला अमेरिकाकी पोलिन पाटरलाई मानिन्थ्यो । उनको तौल २ सय ९२ किलोग्राम थियो । यो रेकर्ड सन् २०१० मा गिनिज बुकमा दर्ता भएको थियो ।