अहिले विश्वको ध्यान कोरियाली प्रायद्वीपमा केन्द्रीत छ । कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको तनावले कुनै एक पक्षको सानो सनकले पनि कतिबेला खतरनाक युद्धको बिजारोपण हुन्छ भन्ने कुरा कसैले अनुमान समेत गर्न नसक्ने अवस्था छ । खासगरी उत्तर कोरिया र अमेरिका, जापान, दक्षिण कोरियालगायतका साम्राज्यवादी मुलुकहरुबीचको अन्तर्विरोधका कारण फेरि पनि कोरियाली क्षेत्रमा युद्ध हुने त होइन भन्ने चिन्ता छाएको छ । यो चिन्ता हुनु स्वाभाविक यस अर्थमा छ कि यही कोरियाली युद्ध तेस्रो विश्व युद्धमा परिणत हुने सम्भावना बढेर गएको छ ।

यो डरलाग्दो स्थिति सिर्जना हुनुका पछाडि दुईवटा कारण छन् :– एउटा, एकपछि अर्को गरी उत्तर कोरियाले गरेको शक्तिशाली परमाणुको सफल परीक्षण र अर्को, साम्राज्यवादी शक्तिहरुको नवऔपनिवेशिक नीति, सामरिक दम्भ र युद्ध उन्माद ।

हार्दिक शुभकामना !

अमेरिका लगायतका केही साम्राज्यवादी मुलुकहरुको विरोध र राष्ट्रसंघको परमाणु परीक्षण रोक्न थोपरिएका केही कठोर आर्थिक र कुटनीतिक प्रतिबन्धका बाबजुद उत्तर कोरियाले छैठौं आणविक बमको सफलतापूर्वक परीक्षण ग¥यो । सो हाइड्रोजन बमको परीक्षण उत्तर कोरियाले गरेको हालसम्मकै शक्तिशाली बम हो । परमाणु परीक्षण नरोके सैन्य आक्रमण गर्न वाध्य हुने अमेरिकी चेतावनीको अवज्ञा गर्दै उत्तर कोरियाले अमेरिकी सैन्य शक्तिसँगको बराबरीमा आाफ्नो सैन्य क्षमता वृद्धि गर्न जस्तोसुकै तरिका अपनाउन परे पनि पछि नहट्ने घोषणा गरेको छ । यो भनाइबाट जुनसुकै स्थितिमा पनि कोरिया परमाणु परीक्षणबाट पछि नहट्ने प्रष्ट हुन्छ । आखिर उत्तर कोरिया किन चाहन्छ यत्तिका शक्तिशाली परमाणु हतियार ? यसका लागि निम्नानुसारका तथ्यहरु बारे जानकारी लिनु आवश्यक छ ।

उत्तर कोरियाको उदयः
दोस्रो विश्वयुद्धअघि कोरिय जापानी साम्राज्यवादको प्रत्यक्ष उपनिवेश थियो । विश्वयुद्धमा जापानको पराजय पश्चात १९४८ मा ३८० अक्षांशदेखि उत्तर तर्फको भूभागमा सोभियत संघका समर्थकहरुको र दक्षिणतर्फको क्षेत्रमा अमेरिकी साम्राज्यवादका समर्थकहरुको सत्ता स्थापित हुन गए । पछि ती सरकारका बिचको द्वन्द्व रुस र अमेरिकाका बिचको अन्तरविरोधमा परिणत भयो र कोरियामा युद्ध सुरु भयो । किम ईल–सुङ्गको नेतृत्वमा उत्तर कोरियाका देशभक्तहरुले अमेरिकी साम्राज्यवादका विरुद्ध भीषण संघर्ष गरे । चीन र रुस कोरियन कम्युनिस्टहरुको पक्षमा उभियो । युद्धको अन्त्यपछि उत्तर कोरियामा जनगणतन्त्र स्थापना भयो र दक्षिण कोरियामा अमेरिकी कठपूतलीहरुले आफ्नो शासन सत्ता स्थापना गरे । त्यहाँ देखि आजसम्म अमेरिकाले दक्षिण कोरियामा आफ्नो सैन्य अखडा निर्माण गरेर उत्तर कोरियालाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्दै आएको छ ।

सन् १९८५ मा उत्तर कोरियाले परमाणु हतियार वृद्धि नगर्ने सन्धी (Nuclear Non-Proliferation Treaty) मा हस्ताक्षर गरेको थियो । तर, अमेरिकाले दक्षिण कोरियाको आफ्नो सैन्य अखडा मार्फत उत्तर कोरियाको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाउंदै लगेको सन्दर्भमा सन् २००२ मा उत्तर कोरियाले उक्त सन्धीबाट औपचारिक रुपमा नै बाहिरिने निर्णय लिएर परमाणु हतियार बनाउने प्रक्रियामा प्रवेश ग¥यो । फेब्रुअरी २००५ मा पहिलोपल्ट उत्तर कोरियाले परमाणु हतियार बनाएको घोषणा गरेको थियो । त्यसपछि अमेरिका, राष्ट्रसंघ र साम्राज्यवादी मुलुकहरुका विरोध र नाकाबन्दीका वावजुद पनि उत्तर कोरियाले आफ्नो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

दक्षिण कोरियामा अमेरिकाले आफ्नो सैन्य अखडालाई बलियो बनाउंदै लगेको छ । यो स्थितिमा उत्तर कोरियाले आफूमाथि जतिबेला पनि आक्रमण हुन सक्छ भन्ने ठान्दछ । अमेरिकाको सहायतामा दक्षिण कोरियाले गर्ने प्रत्यक्ष सैन्य आक्रमणबाट बच्नको निम्ति अथवा आत्मरक्षाका लागि परमाणु हतियार उत्पादन गर्दै आएको कुरा उत्तर कोरियाली नेताहरुले भन्दै आएका छन् । यसलाई उत्तर कोरियाको मात्रै गल्ती भनेर औल्याउनै मिल्दैन ।

आर्थिक सहायताको प्रलोभनमा पारेर कुनै देशको शासकसँग परमाणु कार्यक्रम रोक्न सम्झौता गर्ने र कालान्तरमा सोही देशका शासकलाई सत्ताच्युत गराएर आफ्ना दलाललाई सत्ताशिन बनाउने साम्राज्यवादीहरुले धेरै पहिल्यै देखि प्रयोग गर्दै आएको नीति हो । उत्तर कोरियाली नेताहरुले यसलाई राम्ररी बुझेका छन् ।

उत्तर कोरियाको परमाणु हतियारप्रतिको लगाव वाह्य शक्तिको आक्रमणबाट बच्न नभएर विरोधी देशमाथि आक्रमण गर्नका लागि हो भन्ने राजनीतिक विश्लेषकहरुको ठम्याई रहेको छ । विजिनेश इन्साइडर पत्रिकाका सैन्य एवम् अन्तर्राष्ट्रिय नीतिसम्बन्धी कोलमनिष्ट एलेक्स लक्की लेख्छन्, ‘उत्तर कोरियाले आत्मरक्षाका लागि मात्र नभई आक्रमणको लागि परमाणु हतियार चाहेको छ, ता कि भविष्यमा कोरियाली प्रायदीपलाई किम शासनको मातहतमा पुनः एकीकरण गर्न सकियोस् ।’

वाह्य आक्रमणका लागि होस् या आक्रमणको प्रतिरोधका लागि, यतिबेला उत्तर कोरियाली शासक परमाणु हतियारको सफल परीक्षणबाट ढुक्क भएका देखिन्छन् । तर यसको विपरित, साम्राज्यवादी नाइके अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प यसबाट निकै आक्रोसित भएका छन् । परमाणु हतियारमा केही मुट्ठीभर साम्राज्यवादीको एकाधिकारलाई तोड्ने उत्तर कोरियाको यो साहस मुख्यतः अमेरिकी साम्रज्यवादका लागि एउटा ठूलो चुनौती हो । अमेरिकाले उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्धलाई अझ फराकिलो पारेर किम शासनमाथि परमाणु हतियारको परीक्षण स्थगन गर्न चर्को दबाब दिइरहेको छ । तर, उत्तर केरिया भने आफ्नो मिसनबाट दायावाया गर्ने देखिंदैन । यही अन्तरविरोधका कारण कोरियाली प्रायदीपमा यतिबेला युद्धको कालो बादल मडारिइरहेको छ ।

अमेरिकाले होस वा उत्तर कोरियाले अथवा अन्य कुनै देशले गरेको होस्, आणविक हतियारको निर्माण र त्यसको परीक्षण मानवता विरोधी कार्य हो । यसलाई कुनै पनि अर्थमा स्वीकार गर्न सकिन्न । अर्को कुरा, अमेरिका तथा रुस जस्ता शक्ति सम्पन्न देशहरुले सञ्चय गरेको आणविक अस्त्र भण्डार प्रति अनदेखा गर्ने तर उत्तर कोरियाले गरेको परीक्षणको खोईरो खन्ने प्रवृत्ति जुन केही स्वघोषित बुद्धिजीविहरुमा देखिने गरेको छ त्यो साम्राज्यवादको दलाली बाहेक अरु केहि होईन । यसले समस्यालाई समाधान नगर्ने मात्र होईन अरु चर्काउने कुरा स्पष्ट छ ।

विकसित वा अल्पविकसित जुनसुकै देशले होस् नरसंहारकारी आणविक हतियारको निर्माण, परीक्षण र भण्डारण गर्नु हुदैन । यो जनविरोधी कुरा हो । यसको विरोध गर्नु पर्छ । आणविक हतियार निर्माण गर्ने र त्यसको प्रयोग गर्ने कुरा अमेरिकाका लागि कुरा क्षम्य हुने, उत्तर कोरियाले त्यही काम गरे अक्षम्य हुने यस्तो अन्याय कसैले गर्नु हुंदैन । अमेरिकाले भण्डारण गरेको आणविक अश्त्र र उसले स्थापना गरेको सैन्य अखडाबाट उत्तर कोरियाको राष्ट्रिय स्वाधिनतामा खतरा हुन्छ भने त्यसको प्रतिरक्षा गर्ने अधिकार उत्तर कोरियासंग छ र त्यो हुनु पर्दछ । यो उत्तर कोरिया बाहेक अन्य राष्ट्रका लागि पनि त्यत्तिकै सत्य हो ।

अहिले कोरियाली प्रायद्वीपको संकटलाई लिएर विश्व ध्रुवीकृत बन्दै गएको छ । चीन, रुस जस्ता शक्तिशाली मुलुकहरुले कोरियाली तनावलाई छलफल र शान्तिपूर्वक तरिकाबाट समाधान गर्नु पर्छ भनेका छन् । यो मूलतः सही छ । उता अमेरिकाले नेतृत्व गरेको साम्राज्यवादी मुलुकहरुले भने सैन्य आक्रमण गरेरै भएपनि उत्तर कोरियालाई परमाणु हतियारबाट अलग गर्नुपर्दछ भन्ने ठान्दछन् । अहिलेको स्थितिमा उत्तर कोरियामाथि सैन्य आक्रमण गर्नु भनेको तेस्रो विश्वयुद्धको ट्रिगर दबाउनु बराबर हो । यो स्थितिमा उत्तर कोरियाको राष्ट्रिय स्वाधिनताको सम्मान गरिंदैन, समस्याको शान्तिपूर्ण समाधान खोजिंदैन र अमेरिका तथा उसको गठबन्धनले उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने बहानामा सैन्य हस्तक्षेप गर्दछ भने त्यसले निम्त्याउने तेस्रो विश्वयुद्धको एकमात्र जिम्मेवार अमेरिकी साम्राज्यवाद हुनेछ, उत्तर कोरिया होइन । अमेरिकालाई मात्र होईन उत्तर कोरियालाई पनि आनो देशको राष्ट्रिय स्वाधिनताको रक्षागर्ने अधिकार सुरक्षित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर