माओविचारधारा र माओवादका सन्दर्भमा

माओविचारधारा र माओवादका सन्दर्भमा

माओ विचारधारा र माओवाद नामक पदावली विचारसित अन्तर्सबन्धित छन्, सिद्धान्तसित अन्तसम्बन्धित छन् । माओविचारधारा र माओवाद नामक पदावली चिनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष तथा विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङ माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा विकास भएको एउटा अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक विषय हो । किन कि माओविचारधारा वैज्ञानिक समाजवादी क्रान्तिका लागि आवश्यक पर्ने पुँजीवादको विकास नभइरहेको अवस्था र पुँजीवादी क्रान्तिको नेतृत्व गर्नुपर्ने पुँजीपतिवर्गले सामन्तवर्ग र साम्राज्यवादसित घाँटी जोड्न पुगेर दलाल पुँजीपतिवर्गको रुपमा पतन हुन पुग्यो । त्यसपछि जुन देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ र त्यहाँ पुँजीवादी गर्नुपर्ने छ तर पुँजीवादी क्रान्तिको नेतृत्व गर्नुपर्ने पुँजीपति वर्ग विद्यमान नभए कम्युनिष्ट पार्टीको नेतृत्वमा र मजदुर किसानवर्गको एकताका आधारमा गरिने क्रान्तिलाई नयाँ पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति भनिन्छ ।

पुँजीवादी क्रान्ति दुई प्रकारका छन्– नयाँ र पुरानो । सन् १७८९ को फ्रान्सीसी राज्य क्रान्ति पुरानो खाले पुँजीवादी क्रान्ति थियो । अर्थात् पुरानो जनवादी क्रान्ति थियो । त्यसले सामन्तलाई उद्देश्य गरेर गरेर मानव समाजमा पहिलो पटक पुँजीवादी व्यवस्थाको स्थापना गरेको थियो । स्वतन्त्रता, समानता र भातृत्वको नारा दिएर त्यसबेला पुजीपतिवर्गले फ्रान्स, इंगल्याण्ड लगायत युरोपका केही देशहरुबाट पुँजीवादी क्रान्तिलाई अगाडि बढाएको थियो । त्यस बखत पुजीपति वर्ग सामन्तवर्ग भन्दा प्रगतिशील थियो । सामन्तवादी राज्यव्यवस्था भन्दा पुँजीवादी राज्यव्यवस्था एक कदम अगाडिको प्रगतिशील राज्य व्यवस्था हो । तर पुँजीपति वर्ग प्रतिक्रियावादी वर्गमा परिणत भएर पुनः सामन्तवाद र साम्राज्यवादसँग साँठगाँठ गर्न पुगेपछि जुन देशमा समाजवादी क्रान्तिका लागि पुँजीवाद क्रान्ति भएको छैन र पुँजीवादी क्रान्तिको गर्ने पुँजीपति वर्ग पनि नभएको अवस्थामा पुँजीवादी क्रान्ति आवश्यक छ र यस खाले सामन्तवाद र साम्राज्यवादको उत्पीडनमा रहेको एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा गरिने क्रान्ति नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्ति हुन्छ ।

यसको नेतृत्व माक्र्सवाद–लेनिनवादको पथप्रदर्शकमा निर्देशित र निर्मित कम्युनिष्ट पार्टीको नेतृत्व र मजदूर किसान एकताका आधारमा सम्पन्न गरिने छ र यसले मात्रै वैज्ञानिक समाजवादी क्रान्तिको ढोका खोलिदिने छ र यसले मात्र साम्यवादमा पुग्ने बाटो तय गर्ने छ भन्ने सिद्धान्त (विचार) कमरेड माओले विकास गर्नु भयो । यस खाले क्रान्तिलाई नै नयाँ पुजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्ति भनियो । यसमा सामन्तवाद र साम्राज्यवादका सबै प्रकारका उत्पीडन, शोषण र अन्याय अत्याचारबाट देश र जनतालाई मुक्त तुल्याएर जनताको संयुक्त जनवादी अघिनायकत्व स्थापना गरिने छ र यो पुँजीवादी क्रान्ति र समाजवादी क्रान्तिको बीचको संक्रमणकालीन व्यवस्था हुनेछ अर्थात् नयाँ जनवादी राज्यव्यवस्थाले निश्चित समयभित्र आफ्नो चरणको विकास गरेर शान्तिपूर्ण रुपमा वैज्ञानिक समाजवादमा प्रवेश गरिने छ, भनियो । र यसलाई नयाँ जनवाद भनियो । 

माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक, दार्शनिक, राजनीतिक, आर्थिक तथा फौजी मान्यता र सिमाभित्र रहेर कमरेड माओले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि अति आवश्यक पर्ने प्राविधिक विषय (टेक्निकल विषय) तथा नयाँ जनवादी क्रान्तिका रणनीतिक तथा कार्यनीतिक विषय पनि निक्र्योल गर्नु भयो । जस्तो कि माओले सर्वप्रथम (सन् १९२६ मा) तत्कालिन चिनियाँ समाजको वर्ग विश्लेषण गर्नुभयो । नयाँ जनवादी क्रान्तिका मुख्य शत्रु कुन हुन् ? गौण दुश्मन कुन हो ? क्रान्तिका भित्र शक्ति कुन हुन् ? आदि विषयको पनि वैज्ञानिक ढंगले टुंगो लगाउनु भयो । सर्वप्रथम त माओले क्रान्तिका रणनीति र कार्यनीति निक्र्योल गर्दै लक्ष्य र उद्देश्यहरु ठोस गर्नुभयो र न्यूनतम लक्ष्य जनवाद हुने कुरा र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कुराको निक्र्योल गर्नुपर्ने सिद्धान्त प्रतिपादन गर्नुभयो । 

नयाँ जनवादी क्रान्ति पुरा गर्नका लागि माओले रणनीतिक तथा कार्यनीतिक कार्ययोजना ठोस गर्दै अन्य विषयहरुमा पार्टीको नेतृत्वमा छापामार दस्ता हुँदै जनमिलिसियाको निर्माण गरेर सेनाविनाको जनताको केही पनि हुन्न भन्नु हुने माओले सेना (लालसेना) निर्माण गर्ने, गुरिल्ला वारको नीति अवलम्बन गर्ने, ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्मण गर्ने, छापामार युद्धलाई तीव्रता दिदै गाउँदेखि शहर गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गरेर जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने रणनैतिक कार्यदिशा र रणकौशलको विकास गर्नुभयो । र, यही विचार र नीति तथा योजनाका आधारमा कमरेड माओको नेतृत्वमा सन् १९४९ अगस्ट १ तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टीले महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको घोषणा ग¥यो र माओले राजधानी बेइजिङ स्थित विशाल तथा प्रख्यात तेयनमेन्च स्क्वायरमा महान जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभयो र चिनियाँ समाजलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने ढोका खुला गर्न सफल भएको घोषणा समेत गरियो । महान चिनियाँ नयाँ जनवादी क्रान्ति २८ वर्षको भीषण वर्गसंघर्ष (दीर्घकालीन जनयुद्ध)को बीचबाट निर्माण गरिएको थियो । यो क्रान्ति पुरा गर्नुभन्दा पहिले कमरेड माओले विचार निर्माण र विकास गर्ने सवालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने सवालमा सैन्य कार्यदिशा (फौजी कार्यदिशा) निर्माण गर्ने सवालमा, पार्टी भित्रै पैदा भएका दक्षिणपन्थी अवसरवाद, उग्रपन्थी विचलन र मध्यपन्थी वामपन्थी भड्काउलाई समाप्त गर्ने, पार्टीभित्र दुईलाइन संघर्ष र अन्तःसंघर्षलाई विधिवत रुपले संचालन गर्ने र त्यसको हल गरेर क्रान्तिकारी पार्टी निर्माण र क्रान्तिकारी कार्यदिशा निक्र्योल गर्ने सवालमा र मुख्यतः फौजी कार्यदिशालाई सफलतापूर्वक कार्यान्वयन गर्न फौजी कार्य तथा एउटा महानतम लडाकूको भूमिका निर्वाह गर्दै शत्रुमाथि विजय प्राप्त गर्ने कार्यमा सफलता प्राप्त गर्नु भएको थियो । 

जस्तो कि सन् १९२१ जुलाई १ तारिखका दिन शंघाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको जन्मले चिनियाँ इतिहासको विकासमा एउटा नयाँ युगको आरम्भ गर्‍यो । सन् १८४० को अफिम युद्धदेखि १९१९ को ४ मे आन्दोलनसम्म ठूला दुःखहरुले गर्दा चिनियाँ जनताले साम्राज्यवाद र सामन्तवादको उत्पीडनको प्रतिरोध गर्नका लागि ७० वर्षभन्दा बढिसम्म बहादुरीपूर्ण संघर्षहरु चलाएका थिए तर ती तमाम संघर्षहरु असफल भएका थिए । 

माओकै शब्दमा ‘तीन जादुगरी हतियार’ अर्थात् पार्टी, सेना र संयुक्त मोर्चाको निर्माण गरेर, चिनियाँ  कम्युनिष्ट पार्टीको नेतृत्वमा चलाइएको नयाँ जनवादी क्रान्तिले चार ऐतिहासिक चरणहरुबाट अर्थात्, प्रथम क्रान्तिकारी गृहयुद्ध, भूमिक्रान्ति (युद्ध), जापानी आक्रमणका विरोधी युद्ध र जनमुक्ति युद्धबाट अघि बढेर शसस्त्रबलद्वारा राजनीतिक सत्ता खोस्ने प्रश्नलाई समाधान गर्न सन् १९२१ देखि १९४९ सम्म जम्मा २८ वर्ष लागेको थियो । यी सबै कामको सैद्धान्तिक, वैचारिक र फौजी नेतृत्व समेत क. माओले गर्नुभएको थियो । 

यसको अतिरिक्त वैचारिक, राजनीतिक तथा विचारधारात्मक कार्य गर्ने अभियानमा क्वोमिन्ताङसँग चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्ध–विच्छेद र छन् तू स्यूको दक्षिणपन्थी अवसरवादी कार्यदिशालाई सच्चाएपछि त्यसको लगत्तै सन् १९२७ को अन्त्यदेखि १९२८ को शुरु सम्मको छ्वी छ्यू– पाएको “वामपन्थी” कार्यदिशा, सन् १९३० को जुनदेखि सेप्टेम्बरसम्मको लीलीसानको “वामपन्थी” अवसरवादी कार्यदिशा र सन् १९३१ देखि १९३४ सम्मको वाङमिङको “वामपन्थी” अवसरवादी कार्यदिशालाई परास्त गर्दै १९३४–१९३५ लम्बे अभियानको नेतृत्व समेत गर्दै १९३५ मा यनानको चुनईमा पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको विस्तारित बैठक बस्यो र वाङमिङको “वामपन्थी” अवसरवादी कार्यदिशालाई सच्चायो र पार्टी र सेनामा अध्यक्ष माओलाई नेतृत्वकारी स्थानमा कायम गर्‍यो र पार्टीलाई ठिक लाइनमा ल्याइयो । अर्थात् पार्टीको कार्यदिशा सही माक्र्सवादी लेनिनवादी मार्गमा ल्याइयो । यसको प्राप्तिको लागि चिनियाँ जनता र पार्टीले कति धेरै रगत बग्यो र कति ठूलो मूल्य चुकाउनु परेको थियो । चीनमा त्यसपछि हरक्षेत्रमा कमरेड माओको नेतृत्व स्थापित हुन पुग्यो । 

सन् १९३७ देखि १९४५ सम्म चिनियाँ कम्युनिष्ट पार्टीले भीषण गृहयुद्धको नेतृत्व गरेर जापानी साम्राज्यवादी आक्रमणकारीलाई समस्त चिनियाँ भूमिबाट लखेट्न सफल भयो । सन् १९४० मा चिनियाँ कम्युनिष्ट पार्टीले माओले अगाडि सार्नुभएको नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गर्‍यो । १९४५ मा संयुक्त सरकारको नीति पनि अगाडि सारिएको थियो तर च्याङकाइसेकले कार्यान्वयन गर्न अस्वीकार गरेपछि कमरेड माओको नेतृत्वमा भीषण गृहयुद्ध अगाडि बढ्यो र सन् १९४९ अगस्त १ तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टीले महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको यात्रा पुरा गर्‍यो । 

सन् १९४५ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशनमा पथप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा पारित गरियो । चीनजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा गरिएको कठिन तथा महान नयाँ जनवादी क्रान्तिको समग्र रणनीति तथा कार्यनीति तय गर्ने चिनियाँ समाजको वर्ग विश्लेषण गरेर शत्रु शक्ति र मित्र शक्तिको निक्र्योल गर्ने, पार्टीभित्र सही ढंगले दुइलाइन संघर्ष सञ्चालनद्वारा गलत विचार र लाइनलाई परास्त गरेर सही माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी विचार र नीतिलाई पार्टीभित्र स्थापित गर्ने, पार्टी, सेना, संयुक्त मोर्चा र समग्र युद्धको कुशल नेतृत्व गरेर महान नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यमा जुन माओले अतुलनीय योगदान गर्नुभयो, रणकौशल र क्षमताको प्रदर्शन गर्नुभयो । यसलाई नै चिनियाँ कम्युनिष्ट पार्टीले माओविचारधारा भन्न पुग्यो । र, पार्टीको पथप्रदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओविचारलाई समेत जोड्न पुग्यो । अहिलेसम्म पनि चिनीयाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवाद माओविचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ । 

नेपाल, भारत लगायतका कम्युनिष्ट पार्टीहरुमा माओ विचारधाराको ठूलो प्रभाव पा¥यो र यी देशहरु पनि अर्थसामन्ती र अर्थऔपनि अवस्थामा रहेकाले नयाँ जनवादी क्रान्ति नै गर्नु भएकाले पनि माओविचारधारालाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्न पुगे र माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथप्रदर्शक सिद्धान्तको रुपमा अगाडि सार्दै आए । सन् ८० दशकसम्म अर्थात १९८४ पछि Revolutionary Internationalist Movement (RIM) निर्माण भयो । त्यसपछि माओवादको प्रसंग अगाडि आउनुभन्दा पहिले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीले समेत माओविचारधारालाई पथप्रदर्शक सिद्धान्तसँग जोड्ने काम गर्‍यो । पछि माओवादलाई मान्न पुगेपछि विचारधारालाई छोड्ने कुरा भयो । तर अहिलेसम्म पनि क्रान्तिकारी माओवादी बाहेक र एमाले बाहेक कतिपय कम्युनिष्ट पार्टीहरुले माओविचारधारालाई पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दै आएका छन् र माओवादको जमेर विरोध गर्दछन् । 

यहाँनेर माओवादको सन्दर्भलाई जोड्ने प्रयत्न गरिदैछ । सन् १९५६ मा चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादमा प्रवेश गर्ने निर्णय ग¥यो । १९५६ को सेप्टेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीले आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्‍यो । त्यस महाधिवेशनमा खु्रश्चोभका चेला ल्यू शाओचि + देङ गुटले ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी कार्यदिशा पेश गर्‍यो । त्यो पारित भयो । चीनमा एकातिर माओले खु्रश्चोवी आधुनिक संशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय जगतमै महान् बहस संचालन गर्नु भयो भने अर्कोतिर पार्टीको उच्च निकायमा पुग्न सफल भएका संशोधनवादीहरुका विरुद्ध “हेडक्वाटरमा बम बाड” गर भन्ने आदेश जारी गर्नुभयो । 

सन् १९६६ देखि १९७६ सम्म कमरेड माओले आफ्नै नेतृत्वमा महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गर्नुभयो । समाजवादी मुलुकभित्र पनि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुका आचारण, बानी व्यहोराहरुमा समेत रुपान्तरण हुनुपर्ने विषयलाई तीव्र गतिमा अगाडि बढाउनु भयो र समाजवादी व्यवस्था भएका देशहरुमा पनि सर्वहारावर्ग र पुँजीपतिवर्ग मुख्य वर्गका रुपमा रहने भएकाले तिनका बीचमा संघर्ष चलिरहने कुरा बताउनु भयो । र, छापामार युद्धलाई कहिल्यै पनि भुल्नुहुन्न भन्नु हुँदै सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत वर्ग संघर्ष सञ्चालन गरिरहनु पर्ने सिद्धान्तलाई स्थापित गर्नुभयो । जसलाई निरन्तर क्रान्तिको सिद्धान्त भनिन्छ । सन् १९७६ सेप्टेम्बर ९ का दिन माओको मृत्यु भयो । त्यसको ठीक एक महिनापछि चीनमा प्रतिक्रान्ति भयो ।

कार्लमाक्र्स र लेनिनले पुँजीवादी राज्यव्यवस्थालाई नष्ट गरेर समाजवादी राज्यव्यवस्था निर्माण गरिसकेपछि त्यो सर्वहारा वर्गीय राज्यव्यवस्था हुने र सर्वहारावर्गको अधिनायकत्व कायम भइरहने कुरा औल्याउनु भयो र त्यसभित्र वर्गउत्थान हुन सक्ने कुरा देख्न सक्नुभएको थिएन । तर स्टालिनको मृत्यु पश्चात रुसी समाजवादभित्र र त्यसको लगत्तै चिनियाँ समाजवादभित्र पनि वर्गउत्थान भयो । त्यहाँ पुँजीवादलाई पुनजार्गृत गराइयो र प्रतिक्रान्तिका श्रृंखलाहरु अगाडि बढाइयो । यो समस्या रुस र चिनको मात्रै नभएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्र र विश्वसमाजवादी शिविरभित्रकै समस्या हुन पुग्यो । 

त्यसो भएर “स्टालिनको मृत्युपश्चात् रुस एवम् पूर्वी युरोपका कैयौं देशहरुमा पुँजीवादको पुनःस्थापनाका कारणहरुको खोज अनुसन्धान गरी त्यसबाट शिक्षा लिनुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाईं लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो । माक्र्सवाद– लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई पेरुको कम्युनिष्ट पार्टी साइनिङपाथसहित अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन (RIM) र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरुले सही मूल्याङ्कन गरेका छन् र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका छन् ।” माक्र्सवादी दर्शन, मोहन वैद्य ‘किरण’ पेज–५९ । 

कमरेड मोहन वैद्य किरणको उल्लेखित भनाइहरु सान्दर्भिक छन् र अब माओवाद एउटा मात्रै मुलुकको कम्युनिष्ट पार्टी र क्रान्तिका लागि मात्र नभएर विश्वक्रान्तिकै अर्थात् विश्वसर्वहारावर्गको क्रान्तिकै पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो । आज नेपाल, भारत लगायत पुँजीवादी क्रान्ति नभई रहेका र मुलुक नयाँ जनवादी क्रान्तिकै चरणमा रहेका मुलुक मात्र नभएर पुँजीवाद तथा साम्राज्यवादको विकास भइरहेका अमेरिका, बेलायत, फ्रान्स जस्ता मुलुकमा गरिने समाजवादी क्रान्तिका निम्ति पनि माओवाद पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । किनभने आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो । त्यसो भएर विश्वसर्वहारावर्गको क्रान्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुगेको छ । त्यसैले माओवाद आजको माक्र्सवादको रुपमा विश्व सर्वहारावर्गको हातमा पुगेको छ । अर्थात् आज माओवाद विश्वसर्वहारा क्रान्तिको अभेद्य सैद्धान्तिक हतियार बन्न पुगेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण गर्न नसक्नेहरु सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैनन् भन्ने कुरा माओवादले प्रमाणित गरिदिएको छ । अर्थात् माओले दर्शन, राजनीतिक, अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन थप योगदान गर्नुभयो, यसलाई नै माओवाद भन्न सकिन्छ । माओविचारधारा र माओवादमा यही नै अन्तर रहेको छ । 
नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा विश्वकम्युनिष्ट आन्दोलनको एक अभिन्न अंग भएकाले यो धारा नेपाली क्रान्तिका साथै विश्व क्रान्तिकै एक नेतृत्वदायी शक्ति भएकाले यसले पनि माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्न अनिवार्य सर्त बन्न पुगेको छ । त्यसो भएर महान् नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेको नाताले समेत नेकपा (क्रान्तिकारी माओवादी)ले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त बनाउदै आएको छ । अतः माओविचारधारा जुन देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ, त्यहाँ गरिने पुँजीवादी जनवादी क्रान्तिलाई मार्गनिर्देश गर्ने सवालमा माओविचारधारा रहेको छ भने समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकमा सर्वहारा अधिनायकत्वअन्तर्गत  सर्वहारा साँस्कृतिक क्रान्तिको माध्यमबाट क्रान्तिलाई जारी राख्ने सिद्धान्तलाई माओवाद भनिन्छ । यसर्थ माओवादी विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र अर्थात् पथप्रदर्शन सिद्धान्त बन्न पुगेको छ । माओविचारधारा र माओवादमा यही नै फरक हो । 

यसरी माओवाद विश्वसर्वहारा क्रान्तिको पथप्रदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवादको तेस्रो तथा उच्च चरणमा विकास गरेका कारण आज नेपाल लगायत विश्वभरका सबैखाले संशोधनवादीहरुले माओवाद माथि भीषण हमला गरिरहेका छन् । यस परिस्थितिमा माओवादको रक्षा, प्रयोग र विकास गर्ने जिम्मा आज विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरुको काँधमा आएको छ । किनभने माओवाद आजको युगको माक्र्सवाद बन्न पुगेको छ । माओवाद नै विश्वसर्वहारा वर्गको मुक्तिको अभेद्य सैद्धान्तिक हतियार बन्न पुगेको कुरामा कुनै विकल्प छैन ।