भरखरै मात्र सत्ताधारी सिण्डिकेटे तीन दलहरूले संसद अर्थात् ‘कुकुरको मासु बेच्ने पसल’मा केही कानुन बनाउने निर्णय गरे । उनीहरूको त्यो निर्णयले नेपाल मण्डलमा सनसनी मच्चायो । यतिखेर नेपाल मण्डलमा तीन दलको सिण्डिकेट चलिरहेको कुरा त सबै मनुखेलाई थाहै छ । डेउडापतिको चारतारे दल, उखानप्रसादको सुर्यछाप दल र मिस्टर सुप्रिमोको गोलघेरे दल नै यो मण्डलका लाउके दलहरू हुन् । यिनीहरूको सिण्डिकेटमा नेपाल मण्डलको सत्ता फनफनी घुमिरहेको छ । जसरी पृथ्वी माताले सूर्य पिताको परिक्रमा गर्छिन्, त्यसैगरी नेपाल मण्डलको सत्ताले यिनै तीनदले लाउकेहरूको परिक्रमा गर्छ । उनीहरूले यो सत्ता कसरी चलाउन खोजेको हो, अरू सानातिना भुरेटाकुरे दलहरूलाई के गर्न खोजेका हुन्, लोकतन्त्रको असली चरित्र के हुनु पर्छ भन्ने विषयमा आफ्नो असली मनसाय व्यक्त गर्न भन्दै बक्तव्य जारी गर्ने निर्णय गरेछन् । उक्त बक्तव्य बाहिर ल्याउने तयारी गर्नै लागेको बेला झर्रोटर्रोको कार्यालयमा विशेष सुलसुले मार्फत् सुटुक्क प्राप्त भएकाले यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ ।
‘प्यारा विदेशी प्रभुहरू तथा अप्ठ्यारा यस मण्डलका मनुखेहरू !
यतिखेर हामी निकै सङ्कट र अप्ठ्यारो अवस्था पार गरेर सजिलो परिबेसमा पाइला चाल्दै गरेका छौँ । पञ्च प्रेतहरूले तीस वर्षसम्म खाएर थोत्रिन थालेपछि हाम्रा हातमा सत्ता आएको थियो । त्यही पनि केही वर्ष चलाउन पाउँदा नपाउँदै जनयुद्ध सुरु भएपछि हामी सबैले भोग्नु नभोग्नु दुःख पायौँ । हाम्रो चाहना हुँदा नहुँदै पनि केही गरिब गुरुवा मनुखेहरूले परमधाम हुने अवसर प्राप्त गरे । हुन त ती गरिब गुरुवा बाँचेका भए पनि खानु लाउने समस्या झेलिरहनु पथ्र्यो होला तैतै कमसे कम दुःख लुकाए भन्नु उपयुक्त होला । हामी चारतारे र सूर्यछाप दल मिलेर अहिलेको गोलघेरे दललाई त्यतिबेला आतङ्ककारी भन्यौँ, टाउकाको मोल तोक्यौँ, सङ्कटकाल लायौँ र जङ्गलीहरूलाई जहाँ भेट्यो त्यहिँ ठाउँका ठाउँ ठहरै पार्न हाम्रो सत्ताका सुरक्षाकर्मीहर्लाई अह«ायौँ । हामी गोलघेरे दलले पनि त्यतिवेला चारतारे र सूर्यछापलाई प्रतिकृयावादी भनेर यो सत्ताको जरो बुटो उखेल्न कम्मर कसेर लाग्यौँ । परन्तु खुसीको कुरो के भयो भने हामी दुबैतर्फका लाउकेहरू सकुशल बाँच्यौँ, हाम्रा सन्तानलाई समेत कुनै घुनपुत्लो लाग्न पाएन । अहिले हामी सबै एउटै सत्तामा बसेर राम्रैसँग डकार्ने अवसर प्राप्त भएको छ । यसका लागि पश्चिमा प्रभुहरू र छिमेकी प्रभुहरूलाई कोटीकोटी प्रणाम छ ।
कुरो अन्तै बटारियो क्यारे । हामीले आज यो वक्तव्य जारी गर्नुको तात्पर्य मनुखे जगतलाई सत्ताको नियम कानुनका बारेमा जानकारी गराउनु हो । हामी तीन दल ‘संसदाँ’ केही कानुनका लागि नीति पास गर्ने कुरामा सहमत भएका छौँ । हामी उच्च पदमा विराजमान भएकाहर्ले पदबाट हटेपछि आजिवन सत्ताको भत्ता सुविधा र अबसरहरू सबै डकारेर बस्न कोइ माइका लालले पनि छेकथुन गर्न नपाउने कानुन बनाउँदै छौँ । त्यसैगरी अब उप्रान्त राष्ट्रका पति र उपपतिमा उमेद्बार बनाउन पचास जना माननीयहर्काे समर्थन र प्रस्ताव चाहिने भएको छ । त्यति जुटाउन नसक्ने हुतिहारा लुतेलाम्रे दलहर्लाई राष्ट्रको उच्च ओहोदाका महामहिम पदमा उठ्न पाउने हकदाबी गर्न पाउने छैनन् ।
आर्को कुरा अहिले जसरी च्याउ उम्रेझैँ पार्टी खोलेर समानुपातिकका तर्फबाट भएपनि ‘संसदाँ’ छिरेर फुर्तिफार्ति लाउन पाएका छन् अब उप्रान्त भुरेभारे दलहर्लाई त्यो अधिकार पनि हुने छैन । प्रत्यक्षमा एउटा पनि सिट जित्न नसक्ने गरिब गुरुवा दलले समानुपातिक अधिकार पाउने छैनन् । हाम्ले थ्रेस होल्डको कानून ल्याएर भुरेभारे दलहर्लालई प्रतिवन्ध लाइद्या छम् । समानुपातिको अधिकार त हामी ठूला दलहर्को लागि मात्रै हो । हाम्रा स्वस्नी, छोराछोरी, भाइभतिजा, नातागोता र हाम्रा पार्टीहर्लाई मोटो मोटो चन्दा दिने दातामाताहर्लाई ‘संसदाँ’ छिराउनका लागि समानुपातिकको सुविधा संविधानाँ राखेका हम् । यो राज्यसत्ता हामी जस्ता ठूला दलका पितापुर्खादेखिको विर्ता भएकाले गरिबगुरुवा, लुतेलाम्रे, र भुरेटाकुरे दलहर्को लागि यहाँ केही गर्ने अधिकार र छुट छैन । लोकतन्त्र भनेकै ठूलाले सानालाई ठोकतन्त्र हो । सक्ने भए चुनाउमा ठूलो दल बनेर अरूले पनि लुटे हुन्च । हाम्ले छेक्या छैनम् । यो राज्य पैला राणासाबले चलाए, त्यसपछि राजाले पञ्चप्रेतहरू बनाएर चालाए, त्यसपछि राजा, चारतारे, सूर्यछाप र पञ्चप्रेत मिलेर चलाए, ऐले हामी तीनदले लाउकेहर्ले चलाउने पालो आ’छ । यो हाम्रो सनातनी चलन हो । राज्यसत्ता भनेको सक्नेले नसक्ने माथि शाषन गर्ने हो भन्ने त सबैलाई चेतना भएकै कुरा हो । त्यसैले अरू कसैले अब उप्रान्त ¥याल नचुहाए हुन्च ।
आर्को कुरा संविधानाँ नो भोटको कुरा उठाथिम् । त्यसलाई पनि हाम्ले खारेज गर्ने कानून ल्या छम् । यस्ले हाम्लाई नै घाँडो हुने सम्भावना देखा परो । कसैलाई पनि भोट नदिनेको सङ्ख्या धेरै भो भने त्यो चुनाउलाई के गर्ने भन्ने समस्या उत्पन्न हुने भएकाले हाम्ले त्यस्तो नियम नराख्ने सल्लाह गरिम् । यो त हाम्रै बिरुद्धमा आउला भन्ने लागो । आफैले आफैँलाई हातखुट्टा बाँधेर लडाउने कानुन किन ल्याउने ? त्यै भ’र हटाइदिइम् । खबरदार यो सत्ता हाम्रो बिर्ता हो ।’
वक्तव्य त यस्तो पो आयो गाँठे । यी सिण्डिकेटे दलहरूले त यस्तो पो सोच्या रैचन् । अब त साना दल संसदमा छिर्न पनि नपाउने । कथम् छिरिहाले पनि महामहिम पदमा उठ्न पनि नपाउने । लोकतन्त्रे गणतन्त्र भन्या त यस्तो प्रकारको ठोकतन्त्रे गनतन्त्र पो रैच गाँठे । हैट ।
३१ भदौ २०७४